राजपा र समाजवादी मिल्नुबाहेक विकल्प छैन

— प्रदीप यादव
समाजवादी पार्टीलाई सरकारबाट बाहिरिनुपर्ने विषयमा कार्यकर्ताहरूको दबाबभन्दा पनि नेतृत्वपंक्ति नै बढी गम्भीर छन् । सरकारबाट बाहिरिने वा बस्ने विषयमा नेताहरूबीच छलफल चलिरहेको छ । यस विषयमा नेतृत्वपंक्तिले चाँडै नै औपचारिक निर्णय गर्नेछन् । एउटा निष्कर्षमा पुग्ने विषयमा निर्णय गर्न ढिलाई गर्नु पार्टी, देश र जनताको हितमा हुँदैन । त्यसैले, यो विषयमा हाम्रा नेताहरू गम्भीर छन् । जुन उद्देश्यका लागि पार्टी सरकारमा गएको हो, त्यो उद्देश्य पूरा हुँदैन भने सरकारमा बसिरहनुको औचित्य छैन भन्ने मनोस्थितिमा हाम्रा नेताहरू पुगिसकेका छन् । सरकारका प्रमुखलाई भेटेर नेतृत्वले चाँडै नै अल्टिमेटम दिनेछन् ।
एता, नयाँ शक्ति र तातकालीन संघीय समाजवादी फोरमबीच एकता भइसकेपछि त्यसको समायोजन प्रक्रियामा पार्टी गयो । हाम्रो पहिलो प्राथमिकता समायोजन प्रक्रिया पूरा गर्ने नै थियो । समाजवादीको समायोजन प्रक्रिया पाँचवटा प्रदेशमा सम्पन्न भइसकेको छ र अब दुईवटा प्रदेशमा मात्र बाँकी छ । बाँकी ठाउँमा पनि समायोजन प्रक्रिया अन्तिम चरणमा पुगेको छ । समायोजन प्रक्रिया सम्पन्न भइसकेपछि सरकारमा रहने वा नरहने विषयमा पार्टीले औपचारिक निर्णय लिनेछ ।
संविधान संशोधन गर्छु भनेर यो सरकारले वाचा पनि गरेको थियो । त्यो वाचा पूरा गर्ने वा नगर्ने विषयमा सरकारलाई अन्तिम पटक हाम्रो पार्टीले सोध्नेछ । त्यसपछि समाजवादीले आफ्नो औपचारिक निर्णय गर्नेछ । पहिला त प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान संशोधन ‘स’ पनि सुन्न चाहनुहुन्थेन । तर, संशोधन गर्छु भनेर हामीसँग लिखितरूपमै सहमति गर्नुभएको छ । उहाँले बारम्बार भन्नुहुन्छ कि यो संविधान कुनै धार्मिक ग्रन्थ होइन, संशोधन हुन्छ । तर, प्रधानमन्त्रीको कथनी र करणीमा फरक छ । त्यसैले हामी सशंकित छौं कि उहाँले संशोधन गर्नुहुन्न ।
हामीलाई सरकारमा जान हतारो थिएन । संशोधनका लागि यो सरकारलाई बाहिरभन्दा पनि भित्र बसेर बढी दबाब दिन सकिन्थ्यो । हामी सरकारभित्र बसेर दबाब दिँदा पनि यो सरकारले सुनिरहेको अवस्था छैन । त्यसैले अब समाजवादीले एउटा निष्कर्षमा पुग्नैपर्छ । अब धैर्यताको बाँध टुट्दैछ ।
समयसीमासहितको अल्टिमेटम दिनुपर्छ भन्ने हामीले नेतृत्वपंक्तिलाई भनिरहेका छौं । नेतृत्वपंक्तिले पनि यहीअनुसार निर्णय गर्नेछ । अहिलेको संसदमा बहुमत नेपाल कम्युनिष्ट पार्टीसँग नै रहेकोले उसले चाह्यो भने हाम्रो माग पूरा हुनसक्छ । हामीले संशोधनका लागि दबाब दिन कुनै कसर बाँकी राखेका छैनौं । हामीले प्रधानमन्त्रीबाट आश्वासन मात्रै पाइरहेका छौं । तर, अब धेरै दिनसम्म आश्वासनको भरमा चल्दैन ।
हामी सरकारमा हुनु वा नहुनुले कुनै असर गर्दैन । किनकि यो सरकारसँग पूर्ण बहुमत छ । तर, जुन जनताले हामीलाई मत दिएर संसदमा पठायो, जुन जनतालाई हामीले संशोधन गराउने वाचा गरेका छौं । त्यो वाचा यदि हामीले पूरा गराउन सक्दैनौं भने सरकारमा बसिरहनुको कुनै औचित्य छैन । बरू हामीले यो सरकारबाट बाहिरिएर जनताको बीचमा गएर संघर्ष त गर्छौं । अहिले हामी सरकारमा भएर पनि सदनमा आवाज उठाएकै हौं । सरकारबाट बाहिर आएपछि सडकमा संघर्ष गर्ने बाटो खुल्छ ।
समाजवादी र राजपाबीच एकीकरणका लागि दुवै पार्टीका नेतृत्वपंक्ति अनौपचारिकरूपमा पटक–पटक छलफल गरिरहेका छन् । दुवै पार्टीका नेतृत्वपंक्तिले मिल्नैपर्छ भन्ने निष्कर्षमा पुगेका पनि छन् । अब राजपा र समाजवादी मिल्नुबाहेक कुनै विकल्प छैन । दुवै पार्टी मिल्यो भने यो देशका आदिवासी, जनजाति, मधेशी, मुस्लिम, दलितलगायत सम्पूर्ण पिछडावर्गमा खुशी माहौल आउँछ । यो देशको परिवर्तनका निम्ति दुवै पार्टी मिल्नुको विकल्प छैन । दुवै पार्टीका नेतृत्वपंक्ति मिल्नैपर्छ भन्ने निष्कर्षमा पुगेका छन् । एकताका केही बाधा र अड्चनहरू छन्, त्यसलाई समाधान गरेर एकैचोटि निष्कर्षमा पुगिन्छ । राजपा र समाजवादीले एउटा सरप्राइज दिन्छ । अहिले अनौपचारिकरूपमा गहन छलफल भइरहेको छ र एक्कासी हामीले एकताको घोषणा गर्छौं । एकताको सन्दर्भमा मिडियामा आएको कुराभन्दा पनि बढी गम्भीररूपमा हामीबीच अनौपचारिक छलफल भइरहेको छ । नयाँ शक्तिसँग पनि पहिला एकताका लागि औपचारिक वार्ताहरू हुँदा टुंगोमा पुगेन तर अनौपचारिक वार्ताबाट सबै कुरा मिलिसकेपछि हामीले एकताको मिति घोषणा ग¥यौं । त्यस्तै नै राजपासँग पनि सबै कुरा मिलिसकेपछि सरप्राइज तरिकाले एकताको मिति घोषणा हुन्छ ।
दुवै पार्टीको अस्तित्व समाप्त गरेर एउटा नयाँ पार्टी निर्माण हुँदा नेताहरूको व्यवस्थापनमा विभिन्न कठिनाई र चुनौतीहरू आउँछन् । तलदेखि माथिल्लो तहसम्म नेता कार्यकर्तालाई व्यवस्थापनको खाका तयार गर्नुपर्छ । यसमा ठूलै चुनौती देखिन्छ । माओवादी र एमालेको एकता त भयो तर, अहिलेसम्म समायोजन टुंगो लागेको छैन । त्यो समस्या हाम्रो एकतामा नआओस्, त्यसका लागि पहिलेदेखि नै हामी तयारीमा लागेका छौं । नेतृत्व व्यवस्थापन समस्या होइन, यसलाई समाधान कसरी गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । दुईटा पार्टी एकीकरण गर्दा कसलाई कहाँ राख्ने चुनौती हुनु स्वाभाविक हो । त्यसका लागि पहिले नै गृहकार्य गरेर औपचारिकरूपमा घोषणा हुन्छ ।
एकीकरण पछि सबैको अस्तित्व कसरी स्वीकार गर्ने, सबैलाई सम्मान कसरी दिने र जनतामा सकारात्मक सन्देश कसरी दिनेमा नै घनिभूत छलफल भइरहेको छ । दुवै पार्टीबीच स्वार्थरहित एकता हुन्छ । त्यसैले आठ जना अध्यक्ष किन राख्ने ? एउटालाई मात्र अध्यक्ष किन नमान्ने भन्ने कुरा पनि छलफल भइरहेको छ । देशलाई निकास दिनका लागि यो एउटा वैकल्पिक शक्ति निर्माण गर्नुछ भने व्यक्ति स्वार्थभन्दा माथि उठ्नुपर्छ ।
लोकसेवा आयोगको असमावेशी विज्ञापनको विरूद्धमा हामीले संसदमा पटक–पटक आवाज उठाएकै हौं । संसदमा आवाज उठाउँदा देश मात्र होइन, संसारले नै हेर्छ । लोकसेवा आयोगले संविधानविपरीत विज्ञापन निकालेको छ । यसमा लोकसेवा आयोगका अध्यक्ष मात्र दोषी छैन, यसमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित पनि दोषी हुन् । डुप्लिकेट मधेशी लालबाबु पण्डितका कारणले गर्दा सम्पूर्ण मधेशी, उत्पीडित समुदायको हत्या भइरहेको छ । यसको मुख्य जड लालबाबु पण्डित नै हुन् । यो विज्ञापनले मधेशी मात्र होइन, पहाड र हिमालका उत्पीडित समुदायको पनि हत्या गरेको छ । यो विज्ञापन रोक्नैपर्छ, रोकिएन भने अब आन्दोलनको विकल्प छैन ।
पार्टीले मलाई ६ महिनाका लागि निलम्बन गरेको छ । पार्टीको निर्णयलाई मैले सम्मान गरेको छु । पार्टीलाई लागेको होला कि प्रदीप यादवले केही गल्ती गरेको छ । तर, मलाई विश्वास छ कि पार्टीले ६ महिनासम्म मलाई निलम्बन गर्दैन । पार्टीले चाँडै निलम्बन फुकुवा गर्छ । किनभने पार्टीपंक्तिलाई राम्ररी थाहा छ कि पार्टीमा मेरो योगदान कति छ । किनकि पार्टीमा निरन्तर खट्ने निःस्वार्थ सिपाही हुँ म । जुन बेला पार्टी संकटमा थियो, त्यो बेलादेखि पार्टी निर्माणमा मैले एक–एक इँट जोडेको हुँ ।
म फ्रि तिब्बतको कार्यक्रममा जानाजान सहभागिता भएको थिइन । मेरो एउटा कुनै मित्रले निमन्त्रण गर्नुभएको थियो तर, मलाई कार्यक्रमको विषयवस्तुबारे मलाई थाहा थिएन । म झुक्किएर त्यो कार्यक्रममा गएँ । तर, जब मलाई त्यसको विषयवस्तु थाहा भयो र म त्यो कार्यक्रमबाट फर्किहालें । म त्यस कार्यक्रममा कुनै अभिव्यक्ति पनि दिएको छैन, हस्ताक्षर पनि गरेको छैन । जब मलाई लाग्यो कि यो कार्यक्रममा उपस्थिति हुनु पार्टी र देशको हित गर्दैन अनि म तुरून्त निस्के । त्यसमा कुनै समर्थन नै थिएन । यसबारे पार्टीले पनि बुझिसकेको छ कि यसमा मेरो दोष छैन ।
(यादव, समाजवादी पार्टीका प्रतिनिधिसभा सदस्य हुन् ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here