Krantidwar - भ्रष्ट शासकका बिन्दास जनता
विचार/विश्लेषण

भ्रष्ट शासकका बिन्दास जनता


विचार/विश्लेषण 194 पटक पढिएको प्रा.डा.विकाशराज सत्याल


भ्रष्ट शासकका बिन्दास जनता

राष्ट्रिय तहको तथ्यांक नियाल्दा देशको स्थिति काहालीलाग्दो देखिन्छ ।


 निम्न उल्लिखित खराबीका सबै सूचकांक देशमा हरेक बर्ष बढ्दो क्रममा देखिंदैछन् स् व्यापारघाटा, मूल्यवृद्धि, बजेटघाटा, परनिर्भरताको विप्रेषण आय, देशमा काम नपाएर विदेश पलायन गर्ने युवाको संख्या, बिदेसिनेको आत्महत्या या मृत्युदर, बिदेसि“दा छुट्टिने जोईपोइको पारपाचुके, प्रशासनिक खर्च, खर्च गर्न नसकिएको विकास बजेट, आर्थिक भ्रष्टाचार, नैतिक पतन आदि ।

देशमा थोरै भएका सत्प्रयासहरू पनि यी ठूला कर्तुतहरूको खाडलमा अर्थहीन बनेर भास्सिएका छन् र जनता उपलब्धिविहीन भएका छन् । नेपालको बजेटमा तलब, भत्ताजस्ता चालू खर्च भन्दा ‘विकास खर्च’ कम नै राखिने गरिन्छ र त्यसको पनि आधाजति मात्र खर्च हुने प्रवृत्ति बढेको बढ्यै छ ।

यस वर्षको बजेटमा चालू खर्च ४ खर्ब ३ अर्ब राखिँदा पुँजीगत खर्च भने जम्मा ३ खर्ब ३५ अर्ब राखिएको छ अर्थात् २० प्रतिशत कम । यस्तो पुँजीगत खर्च पनि गत वर्ष केवल ६५ प्रतिशत मात्र भएको थियो । आउँदा वर्षहरूमा अझै चालू खर्च ह्वातै बढ्ने देखिन्छ, किनकि थपिएका स्थानीय निकायहरूको तलब, संवैधानिक अंग र सांसदका सुविधाहरूमा ठूलो राशि थपिन लागेको छ । यसले विकास खर्च अझै घटाउन दबाब पर्ने देखिन्छ ।

उता, आन्तरिक उत्पादनशीलतामा कमी आउँदा निर्यातभन्दा आयात १३ गुना बढेर व्यापारघाटा ९ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ, जो गत वर्षको तुलनामा २९ प्रतिशत बढी हो र वार्षिक बजेटको हाराहारी हो । एकातिर उत्पादनशीलता घट्दै जानु, अर्कातिर विकास बजेट खर्च नगरिनुले देश खोक्रो हुँदै गएको देखिन्छ ।

देशभित्र हरेक वर्ष बजेटकै आकारका भ्रष्टाचारहरू देखा पर्नुले सरकारको ढुकुटीमा जानुपर्ने रकमको आधा मात्र वास्तवमा ढुकुटीमा गएको र त्यसैले गर्दा बजेट घाटालाई तानतुन पार्न हरेक वर्ष वैदेशिक सहयोगका लागि विदेशीसामु कचौरा थाप्नुपरेको देखिन्छ । त्यसैले विदेशीकै खटनमा या नियन्त्रणमा देश गएको, अर्को यथार्थसमेत देखाउँछ ।

देशमा बढ्दो भ्रष्टाचारको नालीबेली, शल्यक्रिया, रजगज, आन्द्राभुँडी कति केलाइसकिएको छ । तर, देशको यो असाध्यरोग थाहा पाउन कुनै विद्वान्का पुस्तक, अनुसन्धान पढ्नु नै पर्दैन । सामान्य सेवाग्राहीले हरेक दिन हरेक काममा यसको अनुभव गर्ने गर्छन् । प्रशासनिक तल्लो एकाइदेखि सिंहदरबारसम्म, अदालत, शिक्षण संस्थादेखि स्वास्थ्य संस्थासम्म, दस पुस्तासम्मका लागि कमाइसकेका व्यापारिक घरानादेखि जिरामरिच बेच्ने झुपडेसम्म, काउली उमार्ने किसानदेखि धर्मका पुजारीसम्म– सबैतिर भ्रष्ट आचरण या आर्थिक भ्रष्टाचार नगर्ने व्यक्ति भेट्टाउनै गाह्रो भइसकेको छ ।

यस्तो लाग्छ, देशको हावापानीमै यो विजातीय तŒव यसरी घुलेको छ कि हाम्रा बच्चा हुर्कंदै यही तŒवबाट पोषण लिएर हुर्कन्छन् । नैतिक पतन नभएका एउटा सानो जमात जो प्रशासन, अदालत, विश्वविद्यालयलगायत हरेक क्षेत्रमा छन्, तर त्यो अल्पमत यस्ता दानवी जमातको बाहुल्यमा आफू कुनामा पारिएको, महŒवहीन बनेको, अभावग्रस्त भएको अनुभव गर्दै तनावको जीवन भोग्न बाध्य छन् । 

औसत नेपालीको वार्षिक आय २८ हजार ७ सयको हाराहारीमा छ । ओरियन्टल विल्डर्सका सुधीर बस्नेतले साढे ९ अर्बको ठगी गरेको ठहर गरियो । उनी केही महिना जेल पनि बसे, तर अहिले आरामको जिन्दगी बिताउँदै छन् । राष्ट्रिय आयमा ४–५ प्रतिशत मात्र वार्षिक वृद्धि हुने देशमा भ्रष्टाचारको रकमले भने कीर्तिमानी छलाङ लगाउँदै छ । अचेल लाख÷१० लाखको भ्रष्टाचारको खबर त अनाकर्षक बनिसकेको छ ।

करोड नाघ्दै भ्रष्टाचारको अंक अर्बमा टेक्न थालेको छ । चूडामणि शर्माविरुद्ध अख्तियारले १० अर्ब रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको थियो । आयल निगमका खड्कालाई १ अर्ब ६७ करोडको अनियमितता गरेको ठहर संसदीय समितिले लगाएको थियो । नेपाल वायुसेवा निगमसँग सम्बन्धित धमिजा, लाउडा, चाइना साउथ, चेज एयरजस्ता प्रकरणमा गरी झन्डै २ अर्ब ७० करोडको घोटाला भएको थियो ।

यस्ता राष्ट्रिय ढुकुटी उडाउने काण्डहरूको सूची लामो छ । अझै दुखद कुरा, यस्ता अर्बौंका भ्रष्टाचार गर्नेहरू आफ्नो बाँकी जिन्दगी सुखसयलसँग बिताउन पाउँदै छन्, प्रायः यही देशमा र कोही विदेशमा । अपुग प्रमाण भन्दै प्रायःले सफाइ पाएका छन्, या करोडको घोटाला गर्नेले दुई महिना जेल बसेर घोटाला चोख्याएका छन्, या सार्वजनिक समारोहमा पुग्ने तर सरकारले नदेख्ने अदृश्य बनेका छन् ।

सार्वजनिक पद धारण गरेकाले भ्रष्टाचारको आरोप लाग्दा या मुद्दा चलिरहँदा राजीनामा दिने चलन छ, तर हामीकहाँ त्यस्ता भ्रष्टहरू गर्वका साथ आफ्नो कुर्सीमा बसेका हुन्छन् र हँसिलो मुख देखाएर हिँडेका हुन्छन् । भ्रष्टाचारका सजाय भोगेका नेताहरू पनि चुनाव लड्न पाउनुपर्छ भन्ने विधेयक संसद्मा पेस हुनु नै नेपाली राजनीतिक चरित्रको चिरहरण हो ।

अभियोग लाग्दा भ्रष्टाचारीहरू डराउँदैनन्, आत्तिँदैनन्, किनकि उनीहरूलाई विश्वास हुन्छ आफ्नो बलियो सेटिङमा । लोकमान कार्की र गोपाल खड्का यसका उदाहरण हुन् । त्यस्तालाई हाम्रो मिडिया, समाजले पनि हाईहाई नै गरेको देखिन्छ, जसबाट यिनको मनोबल झनै बलियो भएको छ ।


विश्वविद्यालय स् भ्रष्टाचारको उद्गमस्थल 

आर्थिक भ्रष्टाचार मात्र हाम्रो समस्या होइन, नैतिक पतन हाम्रो झनै ठूलो कमजोरी हो । नपढेका सबै राम्रा हुने होइनन् तर पढेका इन्जिनियर, डाक्टर, प्राध्यापक, बोर्डफस्ट, लोकसेवा टप्नेहरूले जति नियमको अपव्याख्या गरी अनैतिकता गर्न सक्छन् त्यति अरूले सक्दैनन् भन्ने उदाहरण देशमा देखिएको छ । भ्रष्टाचार नियन्त्रण हामी केवल नियमबाट होस् भन्ने खोज्दै छांै । नियामकको नियतमै खोट छ भने उसले नियमको अनेक कमजोरी खोज्छ र अनेक अपव्याख्या गर्छ । विश्वविद्यालय ज्ञान मात्र होइन, मूल्य पनि सिकाउने थलो हो । यहाँका प्राज्ञहरूमा नैतिक मूल्यको कसी हुनुपर्ने हो तर उनीहरू नै पद र सुविधाको लोभमा राजनीतिक दलका पिछलग्गु हुँदै अनैतिक भएपछि बाँकी जनता कसको पदचिह्नमा हिँड्नु १ देश विकासको बहसमा कुनै पनि एकल सशक्त एजेन्डा हाम्रा प्राज्ञहरूसँग छैन । किनकि उनीहरूका मोडल कांग्रेस, एमाले, माओवादी, मधेसवादीका एजेन्डा मात्र हुन्छन् देशको हुँदैन । शिक्षित जमातले नै भोलिको समाजको नेतृत्व गर्ने हो ।

आज विश्वविद्यालयमा पढिरहेको वर्गलाई मूल्य सिकाउने प्राज्ञ वर्ग स्वयम् मूल्यहीन, ज्ञानहीन, आचरणहीन छन् भने भोलिको समाज राम्रो होला भन्ने आस गर्ने ठाउँ नै छैन । हाम्रो समाजको पतनको सुरुवात नै यही नैतिकताविहीन प्राज्ञका मूल्यहीन शिक्षाबाट हुन्छ । त्यसैले जबसम्म विश्वविद्यालयहरू अहिलेको जस्तो राजनीतिक अखडा हुनुको साटो मूल्य र मान्यताका सिद्धान्त सिकाइने स्थल हुँदैनन्, जबसम्म त्यहाँका प्राचार्यहरू अहिलेको जस्तो पार्टीका हनुमान बन्नमा नै आफ्नो गर्व ठान्ने हुँदैनन्, तबसम्म भ्रष्टाचार देशमा मौलाउँदै जानेछ । 

राजनीतिक दलले विश्वविद्यालयलाई आफ्नो अखडा बनाउनु भएन । विश्वविद्यालयका पदहरूमा दलको अंशबन्डा गर्नु भएन । प्राध्यापक, कर्मचारी र विद्यार्थीका राजनीतिक संगठनहरू अब औचित्यहीन छन्, तसर्थ यसलाई खारिज गर्नुपर्छ । विश्वविद्यालयभित्र न्याय र सुधारका लागि यस्ता संगठनको जरुरत अब छैन, यसका लागि अन्य स्वतन्त्र पद्धति छन् । भनिन्छ फट्याइँ गर्नेजत्तिकै त्यो सहने र स्वीकार गर्ने व्यक्ति दोषी हुन्छ । भ्रष्टाचार र नैतिक पतन थाहा पाउने सर्वसाधारण जनताले त्यस्ता नेता, कर्मचारी, आफन्त, छिमेकीलाई बिन्दास भएर पचाउने, स्विकार्ने भएकाले नै यस्ता अनैतिकता बढ्दै गएको हो ।

दसैँको पूर्वसन्ध्यामा यो दुखान्त र कहालीलाग्दो देशको स्थितिको चित्रण प्रस्तुत गर्नुपर्दा नराम्रो लाग्दै छ, तर जीउभित्र विषालु  जम्मा भएको छ भने त्यो विषबारे बुझ पचाउँदा या लापरवाही गर्दा झन् बढ्छ, ज्यान लिन्छ । त्यसैले यो विजयादशमीले हामी सबैमा हामीभित्रको यो विकार मिल्काउने शक्ति र आफ्नो विवेकशीलता बढाउने बुद्धि देओस भन्ने शुभकामना  ।

लेखक त्रिभुवन विश्वविद्यालय, तथ्यांकशास्त्रका प्राध्यापक हुन् ।

 




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485552 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top