Krantidwar - मधेशको राजनीतिसँग जोडिएको पत्रकारिता
विचार/विश्लेषण

मधेशको राजनीतिसँग जोडिएको पत्रकारिता


विचार/विश्लेषण 280 पटक पढिएको अनिलकुमार कर्ण


मधेशको राजनीतिसँग जोडिएको पत्रकारिता

पत्रकारितालाई मूल पेसा बनाउने ध्येयले दुई दशकअघि पहिलोपटक राजधानी खाल्डोमा आएको थिएँ ।

 तर, पेसागत निष्ठाभन्दा पनि रहरको आधिक्य थियो । नौला अनुहारका बीच रिपोर्टिङ गर्ने आँटभन्दा प्रकाशनगृहमा बसेर सम्पादनकै जिम्मेवारी सम्हाल्नुपर्ने काम सजिलो लाग्यो । जसलाई पत्रकारितामा तुलनात्मक रूपमा एउटा खास कालखण्डपछि मात्रै गरिने वृत्ति मानिन्छ । म घटना र विचार साप्ताहिकमा विशेष संवाददाता थिए तर गर्नुपर्ने काम भित्री पृष्ठका लागि समाचार संयोजन र सम्पादन नै । नेपाली पत्रकारितामा अहिलेका स्थापित व्यक्तित्वहरू जिल्लाका संवाददाता थिए । उनीहरूको निकट सम्पर्कमा रहने र काठमाडौंबाहिरको परिवेश बुझेर समाचारका तथ्य तथा सन्दर्भ परीक्षण र भाषागत शुद्धाशुद्धि हेर्ने काममा रमाइरहेको बेला सम्पादक मिश्रसँग कुरा भयो । उहाँले मलाई विश्वदीपमा काम गर्न बोलाउनुभयो । एउटामात्र साप्ताहिक अखबारमा काम गरेर काठमाडौंमा गुजारा गर्नु कष्टसाध्य थियो । विकल्पको खोजीमै थिएँ । मिश्रजीको त्यो आग्रहलाई अस्वीकार गर्नुपर्ने कुनै कारण थिएन । त्यससरी ०५२ सालतिर विश्वदीपमा उपसम्पादकका रूपमा कार्यारम्भ गरेँ । समाचार पुनर्लेखन र सम्पादन मेरो जिम्मामा थियो । पूर्ववत् मैले हेर्नुपर्ने समाचारमा अधिकांश जिल्लाबाट आएका समाचार हुन्थ्यो । कहिलेकाँहीँ राजधानीका समाचार पनि हेर्नुपथ्र्यो । रेवतीरमण सुवेदी स्तम्भकार थिए । नजरमान महर्जन कम्प्युटर अपरेटर । मिश्रसहितको हाम्रो यो सानो टिम थियो । टिमकै सदस्यका रूपमा हुनुहुन्थ्यो श्रीमती मिश्र । काम गर्नेहरूको सन्चोसुविस्तामा विशेष ख्याल राख्ने । तहाचलमा सम्पादक मिश्रकै डेरामा कार्यालय थियो । मेरो बसाइ नयाँ बानेश्वरमा थियो । धर्मेन्द्र झा(नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष) र उहाँका बहिनी पुनम झा (दिदी) कहाँ । म दुई रूपैयाँ टेम्पु भाडा जोगाउने भनेरै कयौं दिन तहाचलबाट नयाँ बानेश्वरसम्म पैदलयात्रा गरेको छु । तर, कतिपय दिन कामको चाप र अल्छीपनाले तहाचलमै विश्वदीपको कार्यालयमा सुतेको छु । खासगरी ढिला हुँदा । त्यतिबेला राजेश दाइ र भाउजुको जुन स्नेह मैले पाएँ, सदैव स्मरणीय छ । काम गरेको केही दिनमै मैले मन्त्रीको एक दिन र रोचक घोचक भन्ने दुईवटा स्तम्भ सुरू गरेँ । मन्त्रीका एक दिन निकै चर्चित भयो । रोचक घोचकले कुनै पनि विषयमा घतलाग्दा टिप्पणी गर्न सक्ने खुबीको विकास मभित्र भयो । अर्थात् एउटा पत्रकारका रूपमा मैले जुन सपना बोकेर राजधानी आएको थिएँ, त्यो साकार हुने एउटा दरो आधारभूमि विश्वदीपका रूपमा पाएको थिएँ । पारिवारिक कारणले राजधानी स्वप्नलाई थाती राखेर म घर फर्कें । तर , विश्वदीपको एक वर्षभन्दा बढी समयको पत्रकारितायात्रा नै हो जसले मलाई यो पेसाबाट कहिल्यै विमुख हुन दिएन । आज विश्वदीप बन्द हुँदैछ भनेर सुन्नुपर्दा स्वाभाविक रूपमा नियास्रो लाग्दैछ । यद्यपि, पत्रकारिता थालेको दुई दशकभन्दा बढी समयमा थुप्रै पत्रिका बन्द भएको घटनाका साक्षी बनेको छु । मेरै सम्पादनका एकाध अखबार असमयमै कालकवलित भएको छ । 

विश्वदीपले मजस्ता अझ मभन्दा अब्बल धेरै सञ्चारकर्मी जन्मायो । समयको कुनै खण्डमा काठमाडौं बस्ने आडभरोसा दियो । विश्वदीपसँग जोडिएका कैयन साथीहरू अहिले विभिन्न क्षेत्रमा उत्कृष्ट काम गरिरहनुभएको छ । कयौंका व्यक्तिगत विवरणमा यो अखबारको नाउँ हेर्न सकिन्छ । तर, विश्वदीप भन्ने अखबारका पाना अब सीतापाइलाबाट विस्मृत हुने दुर्नियति रूँग्नुपर्ने किंकर्तव्यविमूढ अवस्था आइपरेको छ । विश्वदीप एउटा सूचना पस्कने अखबार कहिल्यै भएन । पत्रकार उत्पादन गर्ने कुटीर उद्योग बन्यो । स्वाभिमान र आत्मसम्मानका साथ श्रमशक्ति खर्च गर्ने एउटा माध्यम । आफ्ना स्वरलाई जस्ताको तस्तै अर्थात् दुरूस्त उतार्ने आस्था र विश्वासको पाना । एउटा मिसन । आज त्यो मिसन खतरामा परेको छ । जसले कुनै बेला मधेश आन्दोलनका प्रणेता गजेन्द्रनारायण सिँहको मनमुटुलाई गहिरो स्पर्श गथ्र्यो । धेरैपटकका भेटमा गजेन्द्रबाबुले भन्ने गर्नुहुन्थ्यो, ‘विश्वदीपको के खबर छ । एउटामात्र अखबार यो नै हो जसले मधेशलाई बुझेको छ ।’ आज मधेश बुझ्ने अखबार रहेन भनेर सुन्नपर्दा स्व.गजेन्द्रबाबुको आत्मा कति रूँदो हो भन्ने म महसुस गर्न सक्छु । 

विश्वदीपबाट बिदा भएको झन्डै १२ वर्षपछि फेरि मेरो कर्मथलो काठमाडौं बन्यो करिब एक दशकअघि । एकपटक विश्वदीपको सीतापाइलास्थित कार्यालयमा पुगेको थिएँ । सम्पादक मिश्रसँग एकाधपटक प्रत्यक्ष भेट भयो र मुश्किलले दुईतीनपटक फोन संवाद । सीतापाइला जाँदा औधी खुसी भएको थिएँ । बहालको घरबाट विश्वदीप आफ्नो ‘घर’ मा सरेको थियो । सम्पादक मिश्रको स्कुटीको ठाउँमा मोटरसाइलको आगमन भएको थियो । मलाई लाग्यो, विश्वदीपको दिन फेरिएको छ । तर, होइन रैछ । त्यो मेरो दृष्टिदोष थियो । विश्वदीप त बन्द हुने एउटा पृष्ठभूमि पो तयार गर्दैथियो । इतिहासमा समेटिने एउटा ‘दर्द’ पालेर बसेको थियो । म त्यतिबेला ठम्याउन सकिनँ । समय पाएँ भने फेरि पनि विश्वदीपसँग जोडिने वाचा गर्दै सीतापाइलाबाट फर्केको दिन हिजोअस्तिजस्तो लाग्छ । 

एक दशकयता काठमाडौंको मिसन पत्रकारिताका धेरै रूप र आयाम हेरेँ । अखबारका लगानीकर्ता बनेँ, सम्पादक र संवाददाता पनि । लगानीकर्ताका रूपमा व्यवस्थापक पनि । असजिलो र अप्ठेरो समयमा अधिकार, सम्मान र प्रतिष्ठाको मधेश लडाइलाई भरथेग गर्न रगतपसिना चुहाएर आफूले कमाएको पैसो आँखा चिम्लेर पत्रिका प्रकाशनमा लगाएँ । समयचक्र र मधेश आज बडो ओजपूर्ण ढंगले बजारमा आए । मधेशी आन्दोनकारीको विश्वास र भरोसामा खरो उत्रिए । तर, केही समय नबित्दै बजारबाट गायब पनि भए । बजारमा आउँदा सबैका ‘अखबार’ तर बजारबाट बेपत्ता हुँदा कसैले पनि खोजखबर नलिने प्रवृत्ति देखियो । सत्ता र शक्तिको पूजा हुने यो नगरीमा यो प्रवृत्ति विस्मयकारी होइन । धेरैले भने, ‘जेनतेन अखबार धान्नुपथ्र्यो ।’ तर, कसैले पनि पत्रिका प्रकाशन गर्ने स्रोतका बारेमा सुझाएनन् । न त कसैले घाटादायक प्रकाशन प्रक्रियाको अंशियार हुनेमा रूचि देखाए । आज म सम्पादक मिश्रको सन्ताप बुझ्न सक्छु । 

मधेश आन्दोलनपछि काठमाडौंमा दुई थोक बग्रेल्ती आए । मधेश केन्द्रित राजनीतिक दल र गैरसरकारी संस्था । यी दुवै संगठन वैधानिक रूपमै गैरनाफामूलक हुन् । तर, यी संस्था खोल्ने र यसमा आबद्ध हुनेहरू रातारात करोडपति बने । मानौं, धन उगाउने जिन्न नै फेला परेजस्तो । हजारौं जनतालाई सचेत तुल्याउने र मुद्दाका पक्षमा जनमत बनाउने धेरै अखबार बन्द भए । यसको लेखाजोखा कसले गरिदिने ? यो यक्ष प्रश्न सबैका सामु सदैव रहिरहनेछ । 

पत्रिका प्रकाशनको काम रहरले हुँदैन । सीप, इलम र क्षमता चाहिन्छ भन्ने धेरै छन् । तर मधेशीका लागि काठमाडौंजस्तो ठाउँमा यो काम किन दुरूह छ भन्ने कुरा केलाउन चाहँदैनन् । मधेशीले अखबार प्रकाशन गरे भने स्वाभाविक रूपमा त्यसमा मधेशका विषयवस्तुको प्रचुरता हुन्छ । धेरै अर्थमा मधेश मुद्दाको वकालत पनि । त्यसलाई गैरमधेशी मूलका शक्ति समूह र विज्ञापनदाताले रूचाउने कुरा पनि भएन । उनीहरूबाट सामान्यतया विज्ञापनको आशा गर्नु मुख्र्याइँ नै हुन्छ । बरू यो सुविधा मोफसलका ती अखबारसँग छ, जसको आधारक्षेत्र नै मधेश भूमि हो । काठमाडौंमा मधेश केन्द्रित अखबार किनिदिने गैरमधेशी भेटिँदैनन्, मधेशीको रूचि पनि कथित राष्ट्रिय अखबारमै हुन्छन् । मधेश केन्द्रित अखबार त उनीहरू सितैमा पाउन र पढ्न रूचाउँछन् । यस्तोमा व्यावसायिक विज्ञापनका लागि गैरमधेशीको बहुलता रहेको विज्ञान एजेन्सीको सिन्डीकेटमा पस्ने काम असम्भवजस्तै छ । मधेशी मूलका हाकिमहरूले गैरमधेशी पत्रकारलाई जसरी पुल्पुल्याएर राख्छन्, त्यसरी मधेशी पत्रकारले सोच्नसम्म सक्दैनन् । अर्थात् यहाँ पनि उसको भाग काटिन्छ । कथंकदाचित कुनै दिन कुनै प्रभावले मधेशी पत्रकारलाई मधेशी मूलकै विज्ञापनदाताले विज्ञापन दिए भने त्यो कृपासरह नै हुन्छ । मधेशी राजनीतिकर्मीहरूका निकटका पात्र पनि तिनै गैरमधेशी पत्रकार हुन्छन् । राज्यका पदाधिकारी भएका बेला उनीहरूले साधनस्रोत पनि निकटतम व्यक्तिमै खर्च गर्छन् । अर्थात् प्रस्ट भन्नुपर्दा गैरमधेशीका प्रकाशनगृहसँग उनीहरूमा भय छ । र, भयले प्रीति पनि । राज्यसत्तामा गैरमधेशीको पकड र त्यसले मधेशी राजनीतिकर्मी तथा कर्मचारीको गुलामियत मनोभाव एवं व्यवहारले गर्दा मधेशी पत्रकारले अखबार निकाल्ने दुस्साहस गर्न निकै कठिन हुन्छ । 

यस्तोमा दुईटा बाटा छन् अखबार टिकाउन । एउटा, मिसनबाट हटक हुने, अर्को राजनीतिकर्मी र कर्मचारीझैं राज्यको दास बन्ने । तेस्रो विकल्प पछि छ, तर्साउने र असुल्ने । मलाई लाग्छ, यी काम सम्पादक मिश्रले कहिल्यै गर्न सक्दैन थिए । गरेनन् पनि । बरू अखबारका कटिंग बेचेर अखबार चलाउने हिम्मत गरें । र, जब पेटपालोसम्म गर्ने अवस्था आएन, थकित भए । र, यही मेसोमा अखबार बन्द गर्ने घोषणा भयो । 

मलाई थाहा छ, चुनावको कोलाहलबीच यस्ता तिता कुराप्रति धेरैको ध्यानाकर्षण हुँदैन । तर, बन्द हुने नियति आकलन गरेर पनि आफ्नो तन्नेरीपन बेचेर ‘मिथिलाञ्जली’ निकाल्ने दुस्साहस मधेशका नयाँ पुस्ताका पत्रकारहरूले सधैं गरिरहनेछन् ।       

(लेखक नागरिक दैनिकमा डेस्क एडिटर छन्) (मधेश दर्पण फिचर सेवा)




कमेन्टसहरु



क्रान्तिद्वार दैनिक

मधेश मिहिर


लोकप्रिय


ताजा समाचार

1485532 Times Visited.
क्रान्तिद्वार दैनिक
गौर नगरपालिका, रौतहट
फोन : ९८५५०४०५४०,९८५५०४२४८२
http://www.krantidwar.com
Email: krantidwardaily@gmail.com
संचालक
संचालन तथा प्रायोजनको हक सर्बाधिकार © क्रान्तिद्वार दैनिक २०७४ मा सुरक्षित रहनेछ ।
Powered by :
Top