नयाँ मन्त्रिपरिषद् केही दिनमै, रामेश्वर राय यादव पनि मन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा ठूलै हेरफेर गर्ने गरी नयाँ मन्त्रीहरूको सूची तयार गरेका छन्।

सबै मन्त्रीहरूलाई राजिनामा दिन लगाएर राम्रो काम गरेका केही पुराना मन्त्रीसहित अरु नयाँ ल्याउने वा जसलाई हटाउन खोजिएको हो उनीहरूलाई मात्र राजीनामा दिन लगाएर नयाँ ल्याउने भन्ने दुवै विकल्पबारे छलफल भइरहेको छ।

प्रधानमन्त्री ओलीले अफ्ना सहयात्री पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेर सोमबार साँझसम्म ९ जना मन्त्री हटाउने सूचीमा राखेका छन् भने आकांक्षीहरूको संख्या ठूलो भए पनि नयाँ थपिने मन्त्रीहरूको सूची पनि तयार गरिसकेका छन्।

ओलीले नेपाल कम्युनिस्ट पार्टीको झण्डै दुईतिहाइ बहुमतको सरकार बनेको करिब १ वर्ष ९ महिनापछि मन्त्रिपरिषदमा ठूलो हेरफेर गर्न लागेका हुन्।

सोमबार बिहान बसेकाे नेकपाको सचिवालय बैठकबाट निर्णय गराएर तत्कालै मन्त्रिपरिषद हेरफेर गरिने चर्चा व्यापक भए पनि बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आउने भएका कारण ओलीले यसलाई केही दिन पर धकेलेका हुन्।

बंगलादेशका राष्ट्रपति मोहम्मद  ढाकाबाट मंगलबार चारदिने नेपाल भ्रमणका लागि काठमाडौं आउँदै छन्।

समाजवादी पार्टीका उपेन्द्र यादवले सरकार छाड्ने तयारी गरेकाले प्रधानमन्त्रीले उनको निर्णय पनि पर्खेका छन्। कात्तिक ३० गते समाजवादी सरकारबाट बाहिरिने सूचना आएकाले त्यो अवस्था पनि हेरेर मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी छ।

‘केही दिनमा वा यो साताभित्रै मन्त्रिपरिषद् हेरफेर हुँदैछ, हटाउने र ल्याउने मन्त्रीहरूको सूची तयार भैसकेको छ’, एक जना प्रभावशाली मन्त्रीले सोमबार भने, ‘सम्भवतः यसपटक ९ मन्त्री बाहिरिने छन् र करिब त्यति नै संख्यामा नयाँ थपिने छन्।’

प्रधानमन्त्री ओलीले तयार पारेका सूचीअनुसार यी १० मन्त्री बिदा हुँदै छन्–
उद्योगमन्त्री मातृका यादव, कृषिमन्त्री चक्रपाणि खनाल, सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, भूमी व्यवस्थामन्त्री पद्मा अर्याल, श्रममन्त्री गोकर्ण विष्ट, खेलकुदमन्त्री जगत विश्वकर्मा, महिला तथा बालबालिकामन्त्री थममाया थापा, खानेपानीमन्त्री बिना मगर, अर्थमन्त्री युवराज खतिवडा र भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ।

बिदा हुन लागेका १० मध्ये यादव, खनाल र मगर पूर्वमाओवादीबाट हुन् भने बाँकी ७ जना पूर्वएमालेबाट।

वर्तमान मन्त्रिपरिषदका १० मन्त्री बिदा गरेर ८ जनालाई यथावत् राख्ने अन्तिम तयारी प्रधत्रानमन्त्री ओलीले गरेका छन्। यद्यपि तीमध्ये केहीको मन्त्रालय हेरफेर हुन सक्नेछ।

प्रधानमन्त्रीले राम्रो कार्य सम्पादन गरेको भन्दै निरन्तरता दिने तयारी गरेका मन्त्रीहरूमा पूर्वएमालेबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सञ्चारमन्त्री गोकुल बाँस्कोटा, पर्यटनमन्त्री योगेश भट्टराई र कानुनमन्त्री भानुभक्त ढकाल छन् भने पूर्वमाओवादीबाट गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, शिक्षामन्त्री गिरिराजमणि पोखरेल र वनमन्त्री शक्ति बस्नेत छन्।

मत्निपरिषद् हेरफेर गर्न अझै केही दिन लाग्ने हुँदा यो सूचीमा केही फेरबदल हुन सक्नेछ।

प्रधानमन्त्री ओलीले आफ्नो सचिवालयका सदस्यहरूलाई राजीनामा दिन लगाएकै शैलीमा सबै मन्त्रीको राजीनामा मागे भने उनले पुनः ल्याउन चाहे पनि केहीले मन्त्री नबन्ने संकेत दिएका छन्।

निरन्तरता पाउने सूचीमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीले सबै मन्त्रीको राजीनामा माग्नुभन्दा जुन-जुन मन्त्रीको कार्यसम्पादन चित्त नबुझेको हो उनीहरूको मात्र माग्नुपर्ने तर्क गरेका छन्। सबैको राजीनामा गराएर फेरि ल्याउँदा राम्रो काम गरेका मन्त्रीहरूको सम्मान नहुने र उनीहरूले सहज महसुस नगर्ने मत छ।

विष्णु पौडेल बन्दैछन्, अर्थमन्त्री
प्रधानमन्त्री ओलीले अहिलेका अर्थमन्त्री युवराज खतिवडालाई हटाएपछि आफ्ना एक जना विश्वासपात्र पार्टीका महासचिव विष्णु पौडेललाई अर्थमन्त्रालयको जिम्मेवारी दिने तयारी गरेका छन्।

ओलीको पहिलो कार्यकालमा पौडेलले सफल अर्थमन्त्रीका रुपमा चर्चा पाएका थिए। अर्थतन्त्रका विज्ञ भए पनि खतिवडालाई सुरुमा अर्थमन्त्री बनाएकामा पार्टीभित्र ओलीको निकै आलोचना भएको थियो।

एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्न भूमिका खेल्ने केही नेतामध्ये विष्णु पौडेल एक हुन्, जसले एकतापछि बनेको नेकपाको महासचिव र शक्तिशाली ९ सदस्यीय सचिवालय सदस्यको महत्वपूर्ण जिम्मेवारी पाएका थिए। ओलीले विश्वास गर्ने केही नेतामध्येका पौडेलले एकतापछि अध्यक्ष दाहालसँग पनि निकटता कायम गरेका छन्।

त्यस्तै ओलीले नेकपाका अर्का प्रभावशाली नेता घनश्याम भुसाललाई पनि मन्त्रिपरिषदमा आउन प्रस्ताव गरेका छन्। भुसाल सुरुदेखि नै पार्टीभित्रबाट ओली सरकारका एक जना प्रखर आलोचक पनि हुन्, जसले केही महिनाअघि बालुवाटारमा उनीसँग लामो वार्ता गरेका थिए।

भुसाललाई मन्त्री बनाउँदा सार्वजनिक रुपमा सरकारको पक्षमा थप माहोल बन्ने र पार्टीमा आफ्ना प्रखर आलोचक माधव नेपाल पक्ष पनि केही शान्त हुने ओलीको आकलन छ।

नयाँ मन्त्रीको सूचीमा रहेको अर्को नाम हो- सुरेन्द्र पाण्डे, जो यसअघि अर्थमन्त्री रहिसकेका छन्। यसपालि पनि अर्थमन्त्रीका आकांक्षी पाण्डेलाई अर्को कुनै महत्वपूर्ण मन्त्रालय दिने तयारी छ।

त्यस्तै सोमप्रसाद पाण्डे, पार्वत गुरुङ र शिवमाया तुम्बाहाम्फे पूर्वएमालेबाट मन्त्री बन्ने सूचीमा छन्। शिवमायालाई उपसभामुखबाट राजीनामा गर्न लगाएर मन्त्री बनाउने तयारी छ।

पूर्वमाओवादीबाट मन्त्री बन्ने सूचीमा अग्नि सापकोटा, लेखराज भट्ट, पम्फा भुसाल, रामेश्वर राय यादव, देवेन्द्र पौडेल छन्। सापकोटा सभामुखका आकांक्षी भए पनि उनलाई मन्त्री नै बनाउने तयारी भएको बुझिएको छ।

मुख्यमन्त्री पनि हेरफेर
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओली र अर्का अध्यक्ष दाहालले मन्त्रिपरिषदपछि केही मुख्यमन्त्री पनि हेरफेर गर्ने तयारी गरेका छन्। सातमध्ये अहिले ६ वटा प्रदेशमा नेकपाका मुख्यमन्त्री छन्।

खासगरी प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल काठमाडौं फर्कन चाहेका छन्। र, प्रधानमन्त्री ओली उनलाई महत्वपूर्ण जिम्मेवारी दिने तयारीमा छन्।

पोखरेलले पनि अर्थमन्त्री हुने इच्छा देखाएका छन् तर प्रधानमन्त्री ओली भने विष्णु पौडेललाई अर्थमन्त्री बनाएर पोखरेललाई अर्को कुनै महत्वपूर्ण मन्त्रालय वा प्रमुख राजनीतिक सल्लाहकारको जिम्मा दिने तयारीमा छन्।

निवर्तमान सभामुख कृष्णबहादुर महराको सांसद पद नरहेको अवस्थामा उनको निर्वाचन क्षेत्र दाङबाट चुनाव जिताउने गरी पोखरेललाई अहिले नै मन्त्री बनाउने एउटा विकल्प पनि हेरिँदै छ।

पहिलो चरणमा प्रमुख सल्लाहकार रहेका विष्णु रिमाललाई भने ओलीले राजदूत वा मन्त्री बनाउने आश्वासन दिएका छन्।

प्रदेश ५ बाट शंकर पोखरेलले राजीनामा दिएको अवस्थामा पूर्वमाओवादीबाट मुख्यमन्त्री बनाउने तयारी छ। त्यस्तो अवस्थामा कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राजीनामा गर्न लगाएर पूर्वएमालेका यमलाल कँडेललाई मुख्यमन्त्री बनाउने गृहकार्य भइरहेको छ।

राम्रो कार्यसम्पादन नगर्ने मुख्यमन्त्रीहरूको सूचीमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल पनि पर्छन्। तर यी दुवै मुख्यमन्त्रीले राष्ट्रपतिको साथ पाएको चर्चा नेकपाभित्र व्याप्त छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here