काम हुन नसक्दा रौतहटमा करिब एक अर्ब रकम फ्रिज
रौतहटमा अर्बौ रकम फ्रिज भएको छ । आर्थिक वर्ष ०७५-०७६ मा एक अर्बभन्दा बढी रकम खर्च हुन नसकेपछि फ्रिज भएको हो । संघ र प्रदेश सरकारबाट जिल्लामा आएको ठुलो बजेट खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालयले रौतहटले जनाएको छ । कार्यालयका अनुसार एक अर्ब १२ करोड ७१ लाख ५६ हजार चार सय २१ रुपैयाँ ५० पैसा फ्रिज भएको हो । जिल्लालाई गत वर्ष संघ र प्रदेश सरकारबाट कुल ११ अर्ब ४३ करोड ७० लाख २२ हजार आठ सय ७७ रुपैयाँ विनियोजन भएको थियो । जसमा १० अर्ब ३० करोड ९८ लाख ६६ हजार चार सय ५५ रुपैयाँ ५४ पैसा मात्र खर्च हुन सकेको कोष नियन्त्रक भिमार्जुन ज्ञवालीले जानकारी दिए । कुल बजेटको १० प्रतिशत बजेट खर्च हुन नसकेको उनको भनाइ छ । सबैभन्दा बढी प्रदेश सरकारबाट आएको बजेट खर्च हुन नसकेको हो । चालु र पुँजीगत शीर्षकमा प्रदेश सरकारबाट जिल्लामा आएको दुई अर्ब ५१ करोड २४ लाख आठ हजार नौ सय ८७ रुपैयाँमध्ये ८४ करोड ५२ लाख ६८ हजार नौ सय २३ रुपैयाँ ७८ पैसा खर्च हुन नसकेको कोष तथा लेखा नियन्त्रण कार्यालय रौतहहटले जनाएको छ । प्रदेश सरकारबाट आएको रकममध्ये पुँजीगततर्फ एक अर्ब ७६ करोड ६ लाख ११ हजार नौ सय ५० रुपैयाँ रहेकोमा एक अर्ब ११ करोड ७६ लाख २२ हजार एक सय एक रुपैयाँ २१ पैसा खर्च भएको छ । त्यस्तै, चालुुतर्फ ७५ करोड १७ लाख ९७ हजार ३७ रुपैयाँ रहेकोमा ५४ करोड ९५ लाख १७ हजार नौ सय ६२ रुपैयाँ एक पैसा खर्च भएको छ । प्रदेशको बजेट चालुतर्फ ७३.०९ प्रतिशत खर्च हुँदा र पुँजीगततर्फ ६३.४८ प्रतिशत मात्र खर्च भएको हुँदा पुँजीगततर्फ ३३.६४ प्रतिशत बजेट फ्रिज भएको छ । योजना छनौटमा कमजोरी, कर्मचारीको अपर्याप्तता र योजना कार्यान्वयनमा चासो नभएकाले रकम फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।