लोकान्तर डट कमले एक वर्षअघि २०७५ सालको साउन २ गते जनकपुरमा लाखौंको ‘बल्ब घोटाला’ :एउटैमा झण्डै २ सयको अनियमितता,लेखाजोखा नै अलपत्र ! शीर्षकमा खोज समाचार प्रकाशित गरेको थियो ।
लोकान्तरले प्रकाशित गरेको समाचारमा नगर क्षेत्रमा सडक बत्ती जडानका क्रममा भएको प्रगति र खर्चबारे जानकारी माग गर्दा उपमहानगरले लुकाउने उल्लेख थियो । त्यतिबेलै लोकान्तरले बजारमा २ सय ८० रुपैयाँमा पाइने बल्बलाई नगरपालिकाले ४ सय ७५ रुपैयाँका दरले खरिद गरेको तथ्य बाहिर ल्याएको थियो ।
हेर्नुहोस् पहिलोपटक लोकान्तरमा प्रकाशित जनकपुरमा भएको लाखौँको बल्ब घोटालासम्बन्धी समाचार –
जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले गरेको लाखौंको ‘बल्ब घोटाला’ रहस्यमय बनेको छ ।
नगर क्षेत्रमा सडक बत्ती जडानका क्रममा भएको प्रगति र खर्चबारे जानकारी माग गर्दा उपमहानगरले लुकाउने गरेको छ । पटक–पटक सडक बत्ती जडानबारे जानकारी माग्दा समेत महानगर कार्यालयले असार मसान्तसम्म पनि विवरण दिएको छैन । बल्ब जडानमा संलग्नहरूका अनुसार बजारमा २ सय ८० रुपैयाँमा मिल्ने बल्बलाई नगरपालिकाले ४ सय ७५ रुपैयाँका दरले खरिद गरेको पाइएको छ ।
२०७५ जेठसम्म मात्रै उपमहानगरपालिकाको कार्यालयले सडक बत्तीमा करीब ८५ लाख रुपैयाँ खर्च भएको जनाएको छ । उपमहानगरपालिका कार्यालयको जिन्सी शाखाका अधिकृत ललनकुमार कर्णका अनुसार स्थानीय तहमा जननिर्वाचित प्रतिनिधि आएपछि दशैंतिहार जस्तो पर्वमा शहरलाई उज्यालो राख्नका सडक बत्तीको व्यवस्था गरिनुपर्ने भनेर वडा अध्यक्षबाट प्रस्ताव आएपछि उपमहानगरपालिका कार्यालयले आपूर्तिकर्ताबाट बल्ब लगायतका सामग्री खरिद गरेको हो ।
कोटेसनका माध्यमले जनकपुरकै सत्या इन्टरप्राइजेजबाट दरभाउ लिएर सामान किनिएको र विभिन्न वडामा वडाध्यक्ष र वडा सचिवमार्फत् सडकका पोलमा बल्ब जडान गरिएको कर्णले बताए । इन्टरप्राइजेजका सञ्चालक मनिष मिश्रासँग २०७४ असोज ९ गते गरिएको सम्झौता अनुसार १४ वाटको एलईडी बल्ब ४ सय ७५ रुपैयाँ प्रतिथान, १ एमएम (मिलिमिटर) मोटाइको तार १ हजार ६ सय रुपैयाँ प्रतिक्विन्टल, डेढ एमएम मोटाइको तार २ हजार ५ सय रुपैयाँ प्रतिक्विन्टल, बेरिएको तार ९ सय ५० रुपैयाँ प्रतिक्विन्टल, ६ एमएमको तार ४५ रुपैयाँ प्रतिमिटर खरिद गरिने दरभाउमा उल्लेख गरिएको छ ।
बल्बमा लगाइने एल्यूमिनम क्याप १ सय २५ रुपैयाँ प्रतिथान, होल्डर ३६ रुपैयाँ प्रतिथान, बेड स्विच ३० रुपैयाँ प्रतिथान खरिद गरिने सम्झौता गरिएको थियो । ती एलईडी बल्ब १ वर्षको ग्यारेन्टीसहित खरिद गरिने सम्झौता अनुसार उपमहानगरले खरिद गरेको थियो । तर, केही बल्बहरू १ वर्ष पूरा नहुँदा ‘फ्यूज’ भएका छन् ।
उपमहानगरले खरिद गरेका बल्ब बजार भाउभन्दा धेरै नै महंगो रहेको पाइएको छ । जनकपुरस्थित जयजनक सप्लायर्सका सञ्चालक सुरेश साहका अनुसार उपमहानगरले १ वर्षको ग्यारेन्टीमा मात्रै ४ सय ७५ रुपैयाँ प्रतिथान किनेको बल्ब बजारमा २ वर्षको ग्यारेन्टीमा अधिकतम २ सय ८० रुपैयाँमा पाउँछ । ‘त्यसमा पनि थोक मात्रामा लिँदा त झन् कम मूल्य पर्छ,’ उनले भने । उपमहानगरले किनेको तारको मूल्य बताउँदा उनी झसङ्ग मात्र भएनन्, मूल्यभन्दा आधा सस्तोमा तार बजारमा पाउन सकिने उनले बताए ।
बल्ब खरिद र प्रयोगबारे जिज्ञासा राख्दा उपमहानगरपालिका कार्यालयको जिन्सी फाँटका अधिकृत ललन कर्णले लोकान्तरसँग भने, ‘त्यो मौज्दातको ‘अप टू डेट’ तथ्यांक हामीसँग अहिले नै छैन । कर्मचारी अभावका कारणले सबै अभिलेख ‘मेन्टेन’ गर्न सकिएको छैन ।’ पटक–पटक अनुरोध गर्दा कर्णले २०७४ पुससम्म जनकपुर उपमहानगरपालिका कार्यालयले वितरण गरेको २५ वटा वडाको विवरण उपलब्ध गराए ।
पुससम्मको विवरण अनुसार जनकपुर उपमहानगरपालिकाका २५ वटै वडामा ५ हजार ८ सय ९० एलईडी बल्ब, १ हजार ९ सय ८० सामान्य बल्ब, ६ हजार ४ सय होल्डर, ८३ क्वाइल तार, ५ हजार ३ सय ३० थान क्याप वितरण गरिएको छ ।
‘पुसयता ठूलो परिमाणमा वितरण पनि भएको छैन,’ उनले भने । हिसाब गर्दा एलईडी बल्बमा २७ लाख ९७ हजार ७ सय ५० रुपैयाँ, ५० रुपैयाँ प्रतिबल्बको हिसाबले ९९ हजार रुपैयाँ, होल्डरको २ लाख ३० हजार ४ सय रुपैयाँ, औसत २ हजार रुपैयाँको प्रतिक्विन्टलका दरले तारको १ लाख ६६ हजार रुपैयाँ र क्यापको ६ लाख ६६ हजार २ सय ५० रुपैयाँ गरी ३९ लाख ५९ हजार ४ सय रुपैयाँ बजेट खर्च गरिएको देखिन्छ ।
पुसपछि धेरै बल्ब जडान नभएकाले जेठसम्म देखाइएको खर्च ८५ लाख रुपैयाँ हुनुले पनि अनियमितता तथा हिनामिना भएको देखिन्छ । श्रमिक खर्च जोड्दा पनि खर्च भएको जति रकम नपुग्ने देखिन्छ । १ वर्षको ग्यारेन्टी भनिएको भएपनि जडान गरिएका अधिकांश बल्ब फ्यूज भइसकेका छन् ।
जिन्सी शाखाका प्रमुख कर्णका अनुसार अहिले वर्षात्को मौसम भएकाले अधिकांश बल्ब फ्युज भएका हुन् । ‘त्यसलाई हटाएर पुनः नयाँ बल्ब जडान गर्नेछौं, कतिपय ठाउँमा फ्युज भएका बल्बहरू झिकाएर नयाँ बल्ब जडान पनि गरिएको छ,’ उनले भने ।