‘कोही नेपालीले भोको पेट सुत्नु नपरोस् भन्ने सपना छ’डिना अर्थात महालक्ष्मी उपाध्याय

नेपाली काँग्रेसभित्र जुझारु, बौद्धिक नेताका रूपमा समेत चिनिँदै आएकी उनी २०६४ को संविधान सभा निर्वाचनमा समानुपातिकबाट सांसद समेत बनेकी थिइन् । सोही समय जलस्रोत राज्य मन्त्रीसमेत बनेकी उनको देश उन्नत र जनता सुखी बनाउने लक्ष्य रहेको छ । राजनीतिमा लागेर देशको सर्वाेच्च पदमा पुग्नुभन्दा पनि जनताको गाँस, बास र कपासको व्यवस्था गर्नतिर आफ्नो कदम रहने बताउँदै आएकी हेटौँडा नगरपालिका २ शान्तिपथ मकवानपुरकी डिना अर्थात महालक्ष्मी उपाध्यायसँग मेरो जीवन स्तम्भका लागि गरिएको कुराकानी ।

मेरो खाना

म पूरै भेजिटेरियन हुँ । मनपर्ने खाना दाल, भात तरकारी र अचार हो । हरेक दिनको बेलुका नियमित रोटी खाने गरेको छु । पहिले मन नपर्ने खाने कुरा धेरै थिए । अहिले आफूलाई एड्जस्ट गर्न सिकिसकेँ ।

पहिले फर्सी, लौका जस्ता खानेकुरा मन पर्दैन थियो । सिजनअनुसारका खानेकुरा खानुपर्दाे रहेछ । मननपरे पनि थोरै खान्छु । रेस्टुरेन्ट धेरै जाँदिनँ । रेस्टुरेन्टको मनपर्ने खानेकुरा मसरुम र पनिरको परिकार हो । मलाई पकाउन रुचि छ । सबै प्रकारको खानेकुरा मीठो पकाउन सक्छु ।

मेरो पोसाक

मनपर्ने पोसाक सारी र कुर्था सुरुवाल नै हो । विशेष कार्यक्रममा सारी प्रयोग गर्छु । अन्य समय कुर्था सुरुवाल नै ठीक लाग्छ । मनपर्ने रङ ग्रिन र पिङ्क हो ।

रेड सिन ठीकै लाग्छ । ब्रान्ड कन्सेस छैन । मनपरेको र राम्रो लागेको किन्छु । कहिलेकाहीँ सिलाएर पनि लगाउनु, कहिले रेडिमेड पनि किन्छु । पहिरनमा वार्षिक १०, १२ हजार भए पुग्छ ।

मेरो फिट्नेस

विगत १ वर्षदेखि नियमित योगा गर्छु । पहिले पनि नगरेको होइन । बीचमा छोडेको थिएँ । अहिले फेरि स्वस्थ्यप्रति सजक  भएकी छु ।

मेरो अध्ययन

अध्ययन गर्न मनपर्छ । दैनिक पत्रपत्रिका पढ्छु । प्रायः नियमित किताब पनि पढिरहेकी हुन्छु । भर्खर जगतजी भन्ने लेखकले बजारमा ल्याएको बीबी कोइराललासम्बन्धी किताब पढेर सकेँ ।

विभिन्न खालका विषयवस्तुले भरिएको किताब पढ्न मनपर्छ । दिउँसो सधैँजसो घर बाहिर हुने भएकाले बेलुका पढ्ने बानी छ । योगी परमहंश, विवेकानन्द, कृष्णमूर्ति लगायत योगीहरुको किताब पढ्ने गरेको छु ।

यस्ता किताबका कलेक्सनमा पनि छन् मसँग । यस्ता किताब दोहोर्याएर पनि पढ्छु । युट्युबबाट डाउनलोड गरेर पनि केही पुस्तक पढेकी छु ।

मेरो घुमफिर

घुमघाममा रमाइलो लाग्छ । तर समय धेरै मिल्दैन । साथीभाइसँग हिँड्दा जुनै स्थानमा पनि रमाइलो मिल्छ । विशेष गरेर नयाँ ठाउँ जहाँ आफू पुगेको छैन । त्यो ठाउँ घुमेर त्यहाँको वस्तुस्थिति अवलोकन गर्न मन लाग्छ । देशका २, ४ वटा जिल्ला पुग्न बाँकी होला । अन्य सबैमा पुगेकी छु । विदेशका पनि ४०, ४५ राष्ट्र पुगेको छु ।

मेरो फुर्सद

फुर्सद हुन्छ भन्ने छैन, निकाल्नुपर्छ । कहिलेकाहीँ कुनै किताब पढ्न मन लाग्यो भने फुर्सद निकाल्छु । पार्टीका कार्यक्रमा पनि धेरै व्यस्त हुने, जिल्लामा कार्यक्रम, प्रशिक्षण लगायत पर्ने भएकाले अलिअलि फुर्सद काठमाडौँ बस्दा हुन्छ ।

हेटौँडा भएको समय फुर्सदै हुँदैन । सामाजिक काम, व्यावसायिक काम र आफ्नो एफएम, सहकारी लगायतमा समय दिनुपर्छ ।

मेरो खेलकुद

पहिले पहिले खेलकुदमा धेरै रुचि थियो । टेबुल टेनिसको त म राम्रो खेलाडी थिए । विभिन्न प्रतियोगितामा भाग लिन्थे । अहिले पनि यो खेला मनपर्छ । खेल्ने हो भने सक्छु ।

तर अहिले खेल्नेभन्दा पनि हेर्ने गरेको छु । यो वर्ष मैले क्रिकेट सबै हरेँ । विश्वकपको समय फुटबल पनि हेर्छु ।

मेरो मोबाइल

अहिले मसँग सामसुमको नोट ८ एउटा मोबाइल छ । फोन गर्न समाचार पढ्न, फेसबुक र ट्विटर चलाउन बढी प्रयोग हुन्छ । मोबाइलबाटै नियमित विभिन्न अनलाइनका समाचार पढ्ने गरेको छु ।

अहिले भएको मोबाइल तीन वर्ष अगाडि किनेको हुँ । मोबाइल छिटोछिटो फेर्न मनपर्दैन ।

मेरो टिभी

टिभी प्रायः बेलुका हेर्छु । टिभीमा समाचार हेर्ने कुरै भएन । त्यो सबै मोबाइलबाट थाहा भइसकेको हुन्छ । विशेष गरेर टिभीमा साउथ इन्डियन फिल्म हेर्छु ।

मेरो चलचित्र

फिल्म हेर्छु । साउथ इन्डियन फिल्म धेरै मनपर्छ । अन्य फिल्म पनि हेर्ने गरेको छु । हलमै गएर पनि फिल्म हेर्छु । केही पहिले पार्टीको कामले सर्लाही पुगेको थिएँ । त्यहाँका साथीभाइको हल पनि रहेछ । सो हलमा सलमान खानको हिन्दुस्थान भन्ने फिल्म हेरेको थिएँ । नेपाली फिल्म पनि हेरेको छु । हलमा साथीभाइसँग कहिलेकाहीँ जाने हो । अन्य समय घरमै हेर्छु ।

मेरो भाषणशैली

लामो भाषण मनपर्दैन । आफू पनि गर्दिनँ । भाषण सबै कुरो पुगेको र छोटो हुनुपर्छ । जतिबेलासम्म पब्लिकले सुन्ने क्षमता राख्छन् वा उनीहरुलेख इन्ट्रेस लिइरहन्छन्, त्यो समयसम्म भाषण गर्नुपर्छ ।

मास जब चलायमान देखिन्छन्, भाषण छोट्याउनु पर्छ । हाम्रा केही नेतामा मास उठेर कार्यक्रम स्थल शून्य हुँदा पनि भाषण ठोकिरहने बाँनी छ । त्यो ठीक होइन । २० देखि २५ मिनेटको भाषण ठोक्नुपर्छ । सटिक होस्, सही कुरा आओस् । त्यस्तो भाषण ठीक लाग्छ । म पनि त्यस्तै रुचाउँछु । कहिलेकाहीँ एग्रेसिप भाषण गर्नुपर्छ । यस्तो भाषण समय र परिस्थितिले गराउँदो रहेछ ।

मेरो मापसे

मापसे गर्दिनँ । कहियै पनि गरेकी छैन । पहिले बानी नलागेर होला । अहिले हेर्नै मन लाग्दैन ।

मेरो गीतसङ्गीत

गीतसङ्गीत सुन्छु, मनपर्छ पनि । पहिले पहिले नारायण गोपालका गीत धेरै मन पथ्र्योे । अहिले ती यहाँका गीतहरु राम्रा लाग्छन् । पछिल्लो समय निस्किएका धेरै गीत सुनेकी छु । के गायक गायिका मतलब छैन । राम्रा गीत सुन्छु । गाडी चलाउँदा नियमित गीत सुन्नुपर्छ ।

मेरो राजनीति

राजनीतिमा म सानैदेखि होमिएकी हुँ । मेरो पूरै परिवार राजनीतिमै थिए । मेरो पारिवारिक पुष्ठभूमि नै राजनीति भएकाले पनि यसमै होमिए । मेरो हजुरबुबा २००४ सालदेखि नै प्रजातान्त्रिक आन्दोलनमा हुनुहुन्थ्यो । उहाँ झन्डै १२ वर्ष जेल  समेत बस्नुभयो । मेरो घर, मामाघर सबैतिरका मानिस राजनीतिमै छन् ।

पारिवारिक माहौल राजनीति भए पनि मैले प्रत्यक्ष राजनीति भने नेविसङ्घबाट सुरु गरेँ । २०३६ सालको आन्दोलनमा म ९ कक्षामा पढ्दै थिएँ । त्यो समयदेखि नै म राजनीतिमा होमिएकी हुँ ।

पछि पद्मकन्या कलेजबाट भने मेरो राजनीतिले फस्टाउने मौका पायो । म त्यहाँको स्ववियु सभापति समेत भए । २०४८, ०५१ मा चुनाव लडे पनि पराजित भएकी म २०६४ मा गिरिजाप्रसाद कोइराला प्रधानमनत्री हुँदा जलस्रोत राज्यमन्त्री हुने अवसर पाएँ ।

करिब ७ महिना मन्त्री हुँदा मैले जलस्रोतमा धेरै विषय र अवसर र सम्भावनाका विषय बुझेँ । म मन्त्री हुँदा हाइड्रोपावरमा जे जति काम थालिएको थियो । अहिले प्रगति भएका तिनै हुन् ।

त्यतिबेला सुरु भएका योजना अहिले प्राप्त हुँदैछ । म अहिले नेपाली काँग्रेसकी केन्द्रीय सदस्य हुँ । २०७४ मा मकवानपुरबाट प्रत्यक्ष निर्वाचनमा सांसदको उमेद्वारी दिएकी थिए । जित्न सकिनँ । केही पहिले संविधानसभा निर्वाचनमा समानुपतिकबाट  सांसद पनि बनेकी थिइन् ।

मेरो सपना

मेरो सपना देश र जनताको विकास होस् भन्ने नै छ । राजनीतिमा लाग्ने सबैले देख्ने सपना पनि सायद यही होला । मैले राजनीतिमा लागेर सानैदेखि सिकेको पनि यही हो । अहिले पनि राजनीतिमा निरन्तर छु । गर्दै जाँदा पार्टी र देशको सर्वाेच्च पदमा पनि पुग्न सकिएला । त्यसलाई कसरी सपना भन्ने ।

अहिलेको एउटै सपना डेमोक्रेसी स्थापित होस् भन्ने छ । अहिले मुलुकका युवा वर्ग विदेश पलायन भइरहेका छन् । मुलुकको विकास भयो भने उनीहरुले रोजगारीका लागि विदेश जानुपर्दैन थियो ।

त्यसैले मुलुकको विकास होस्, युवा जनशक्ति विदेश जानु नपरोस्, कोही नेपालीले भोको पेट सुत्नु नपरोस् । मेरो सपना यही हो । यो मुलुकका लागि यसले केही गरेको थियो भनेर पछिसम्म पनि सम्झने कार्य गरेर देखाउने, नाम राख्ने सपना पनि छ ।

मेरो रोग

भगवानको कृपाले अहिलेसम्म नियमित औषधि खानुपर्ने त्यस्तो रोग केही छैन । कहिलेकाहीँ रुघाखोकीले सताउँछ । यो सामान्य नै हो ।

मेरो भूल

जीवनमा जानी नजानी भूल त धेरै भए होलान् । केही काम बिग्रिएपछि मात्र भूल भएको थाहा हुन्छ । जीवनमा पछुताउनुपर्ने भूल केही छ भन्ने लागेको छैन । राजनीतिमा धेरैलाई विश्वास गर्दा धोका पाएको घटना प्रशस्तै छन् । त्यो पनि मेरो एक किसिमको भूल थियो ।

मेरो राशि

राशि मेरो मेष हो । ग्रहदशामा विश्वास लाग्छ । म आफै हेराउन जान्न । तर यो विषयमा जानकारसँग भेटमा छलफल गर्ने गरेको छु । पूजापाठमा पनि विश्वास लाग्छ । मन्दिर धेरै जाँदिनँ । घरमा नियमित पूजापाठ गर्छु । पहिले पहिले व्रतसमेत बस्थेँ । अहिले बस्न छोडेकी छु ।

मेरो मृत्यु

जन्मिएपछि मर्नुपर्छ । मलाई मृत्युदेखि डर लाग्दैन । कहिलेकाहीँ म कतै हिँड्दा मानिसले भन्छन्, ‘त्यस्तो ठाउँमा नजानू, त्यहाँ यस्तो खतरा छ ।’

केही पहिले मेरो जिल्लामा बाढी पहिरो आएको थियो । सो समय जाँदा पनि त्यस्तै भन्थे । तर म अरूले भोगेको दुःख मैले पनि भोग्दा के फरक पर्छ भनेर जाने गर्छु । सजक त रहनुपर्छ ।

मृत्यु सत्य हो । एक दिन अवश्य आउँछ । जहिले आए पनि आओस् । मृत्यु सहज होस् । बिरामी भएर, रोग लागेर थलिएर, मानिसले हेरचार गर्नुपर्ने अवस्था आएर मर्न नपरोस् । यही छ मृत्युसँग चाहना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here