नेपाली सेनाले ७७ वटै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने

काठमाडौं – नेपाली सेनाले आफ्ना सैनिक जवानको सन्ततिहरुलाई बसोबास गरेकै क्षेत्रमा अध्ययन सुविधा उपलब्ध गराउने उद्देश्यका साथ ७७ वटै जिल्लामा सैनिक विद्यालय सञ्चालन गर्ने भएको छ ।

नेपाली सेनाको कल्याणकारी योजना निर्देशनालयले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै निर्देशनालयका निर्देशक सागर केसीले सबै जिल्लामा सेनाले सैनिक विद्यालय सञ्चालन गर्ने तयारी गरेको जानकारी दिए ।

पत्रकार सम्मेलनमा निर्देशक केसीले सबै प्रदेशहरुमा सैनिक स्कुल स्थापना गर्ने नीति अनुरुप प्रदेश नम्बर २ अन्तर्गत महोत्तरीको बर्दिवासमा स्कुल निर्माण कार्य सम्पन्न भइसकेको र प्रदेश ५ मा पनि विद्यालय स्थापनाको प्रक्रिया अघि बढेको जानकारी दिए ।

त्यस्तै सैनिक कल्याणकारी कोषको नगद मौज्दात ३८ अर्ब ५७ करोड ६० लाख पुगेको छ । कोषमा विसं २०७५ असार मसान्तमा नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख रहेकाेमा त्यसपछिको अवधिमा दुई अर्ब ८० करोड ३६ लाख वृद्धि भएको कोषका निर्देशक केसीले जानकारी दिए ।

कोषअन्तर्गत विभिन्न निकायमा असारसम्ममा भएको पाँच अर्ब ६४ करोड ३० लाख ४० हजार लगानीसमेत समावेश गर्दा कोषको यथार्थ सम्पत्ति ४४ अर्ब २१ करोड ९० लाख ४० हजार पुगेको निर्देशक केसीले जानकारी दिए ।

कोषको मुख्य आय स्रोतका रुपमा शान्ति सेनामा भाग लिएबापत प्राप्त हुने रकम, बैंक तथा वित्तिय संस्थामा निक्षेप गरिएको रकमबाट प्राप्त ब्याज र सेनाद्वारा सञ्चालित विद्यालय एवं कलेजबाट प्राप्त हुने शिक्षण शुल्क रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here