सहकारीले शुरु गऱ्यो अर्गानिक तरकारी खेती

बजारमा विषादीयुक्त तरकारी छ्यापछ्याप्ती हुन थालेपछि सप्तरीको एक स्थानीय सहकारीले विषादीरहित अर्गानिक तरकारी खेती सुरु गरेको छ ।

सप्तरीको कञ्चनरूप नगरपालिका वडा नं. १२ रुपनगरमा रहेको सगरमाथा बहुमुखी सहकारी संस्था लिमिटेडले स्थानीय बद्री मण्डलको १५ कठ्ठा जग्गामा तरकारी खेती सुरु गरेको हो ।

जग्गावापत वार्षिक ३० मन धान तिर्ने गरी २०७६ साल जेठ १५ गते बाट जमिन लिजमा लिएर अर्गानिक तरकारी खेती सुरु गरिएको सहकारीका अध्यक्ष राजन अधिकारीले बताए ।

अहिलेको समयमा स्वस्थ रही स्वस्थ खाद्यान्न र तरकारी बिक्री वितरण गर्नुको साटो धेरै आर्थिक लाभका लागि विषादी युक्त तरकारीलगायत खाद्यान्न बिक्री हुने र त्यसबाट मानिसमा विभिन्न किसिमका रोग लाग्ने भएकाले समाजलाई र उपभोक्ताहरुलाई स्वस्थ राख्नका लागि सहकारीले विषादीरहित अर्गानिक तरकारी खेती सुरु गरेको अध्यक्ष अधिकारीले बताए ।

५५ हजारको लागतमा ७ कठ्ठामा भिन्डी, ४ कठ्ठामा बोडी र ४ कठ्ठामा करेला परिक्षणका रुपमा अर्गानिक खेतीको सुरुवात गरी तुरुन्तै १ बिघा जमिन थप लिजमा लिएर शुरु गरिने र प्रत्येक सेयर सदस्यलाई १ कठ्ठा जमिन उपलब्ध गराई अर्गानिक तरकारी खेती गर्न दिइने साथै विषादीरहित तरकारी प्रत्येक घर घरमा उत्पादन गर्न लगाउने लक्ष्य रहेको अधिकारीले बताए ।

किरा मार्नका लागि औषधीको रुपमा गाईको गहुँत, निमको तेल, बकाइनोको झोल, तितेपाति, सुर्तीको रस, दुल्फी, भाटिको प्रयोग गर्ने गरेको सहकारीका सचिव नवराज पोखरेलले बताए ।

मलको रुपमा जि.एम.टी. आर्गेनीक मल, किसान आर्गेनीक मल, कम्पोस्ट मल, कुखुराको सुली, कुहिएको झारपात, सेउला प्रयोग गरिएको पोखरेलले बताए ।

रु. ३० का दरले ४० केजी भिन्डी र रु. ६० का दरले ३ केजी करेला बिक्री वितरण समेत गरिएको पोखरेलले जानकारी दिए ।

आर्गेनिक तरकारी खेती राम्रो भएको देखेर प्रोत्साहनका लागि कञ्चनरूप नगरपालिका कृषि शाखा कञ्चनपुरले पानी पटाउनका लागि एउटा ६५ हजार मुल्य बराबरको समरसियल पम्प जडान गरिदिएको कृषि शाखाका संयोजक वेचन सढोक यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here