प्रदेश २ को स्थायी राजधानी जनकपुरमै रहने

काठमाडौँ । प्रदेश नम्बर २ को स्थायी राजधानी जनकपुर नै हुने भएको छ । प्रदेश सरकार गठन भएको झन्डै डेढ वर्षपछि प्रदेशको राजधानी जनकपुर नै राख्ने विषयमा सबै दलबीच सहमति जुटेको हो ।

हाल अस्थायी राजधानीको रुपमा रहेको जनकपुरलाई नै स्थायी राजधानी बनाउनेमा सबै दलबीच सहमति जुटिसकेको र प्रदेशको नामाकरण पनि चाँडै हुने प्रदेश २ का सामाजीक विकासमन्त्री नवलकिशोर साहले सीआईएनसँग बताउनुभयो ।

उहाँले यो प्रदेशको राजधानीको विषयमा सहमति जुटीसकेको र कानुनी रुप दिन मात्र बाँकी रहेको जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो, ‘प्रदेशको नामाकरणका विषयमा यो अधिवेशनमा नभए पनि अर्को अधिवेशनसम्म प्रदेशको नाम पनि टुङ्गो लगाइने छ।’

नेपाली काँग्रेसका सांसद एवं संसदीय दलका उपनेता रामसरोज यादवले पनि प्रदेशको राजधानीका बारेमा लगभग दुई तिहाई सहमति पुगेको बताउनुभयो ।

उहाँले प्रदेशको राजधानी जनकपुर नै राख्नेमा बहुमत जुटेको तर प्रदेशको नामाकरणमा सहमति जुट्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रदेशको नाम मिथिला भोजपुरा र मिथिला मधेस राख्न प्रस्ताव गरेको तर राजपाले मधेस प्रदेश राखेको प्रस्तावमा सहमति जुट्न सकेको छैन ।’

प्रदेशको नामाकरणमा समय लागे पनि राजधानीको विषयमा असोजभित्र नै सहमति गरेर पारित गरिने उहाँको भनाइ छ ।

प्रदेशसभा कार्य सञ्चालन नियमावली संशोधन भएसँगै प्रदेशको नाम र राजधानी तोक्ने बाटो खुलेपछि प्रदेश सांसदहरु अब प्रदेशको नामाकरण र राजधानीको नामका लागि सक्रिय भएका छन् ।

यसअघि प्रदेश सरकारले गत मंसिरमा राजधानी र प्रदेशको नामाकरणका लागि आयोग नै गठन गरेर सुझाव सङ्कलन गरेको थियो । ८ जिल्लाका नागरिकसँग सुझाव सङ्कलन गर्दा प्रदेशको राजधानी वीरगञ्ज र जनकपुरको नाम आएको थियो ।

प्रदेशको नाम मिथिला, मिथिला मधेस, मधेस प्रदेश, मिथिलो भोजपुरालगायतका नाम राख्न सुझाव दिइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here