सेवाग्राहीमाथि राजनीतिक दृष्टि राखे अपराध हुन्छ : नगर प्रमुख दिलीपप्रताप खाँण

वालिङ  : वालिङ नगर प्रमुख दिलीपप्रताप खाँणले सेवाग्राहीमाथि राजनीतिक दृष्टि राखे अपराध हुने बताउनुभएको छ ।

मंगलबार नगरस्थित विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधि, वडा सचिव तथा अन्य कर्मचारीहरुसँगको अन्तरक्रिया तथा छलफल कार्यक्रममा कर्मचारीलाई निर्देशन दिनुहुँदै नगर प्रमुख खाँणले कार्यालयमा आउने जो सुकै सेवाग्राहीलाई राजनीतिक दृष्टिले नहेरी सरल र सहज तरिकाले सेवा प्रवाह गर्न आग्रह गर्नुभयो ।

“तपाई कर्मचारीहरु कुनै राजनीतिक दलको कार्यकर्ता भएर होईन स्वतन्त्र, निष्पक्ष र तटस्थ भई कानूनको परिधिभित्र रहेर काम गर्नुहोस्” नगर प्रमुख खाँणले भन्नुभयो, “कसैको आग्रह पूर्वाग्रहमा परेर समग्रमा नगरको छवि गुम्ने गरी काम नगर्नुहोला ।”

आफ्नो कार्यालयसम्म आउने सेवाग्राहीलाई नम्र भाषाको प्रयोग गरेर सहज र छिटो तरिकाले सेवा प्रवाह गर्न पनि नगर प्रमुख खाँणले कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

“हामी आँफै समस्या होईनौं समाधान हौं” नगर प्रमुख खाँणले भन्नुभयो, “नगरभित्रका समस्या समाधानका लागि नगरपालिकाको परिवार एकजुट भएर लाग्ने छ ।”

नगरपालिकाले असल काम गर्नेलाई प्रोत्साहन खराब गर्नेलाई दण्ड सजायको ब्यवस्था दिने भएकाले सजग भएर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिंदै नगर प्रमुख खाँणले भन्नुभयो, “राम्रो गर्दा गर्दै पनि कहीँ कतैबाट अनावश्यक अठ्यारो सिर्जना गर्ने कार्य भएमा नगरपालिकामा खबर गर्नुहोस् सुरक्षाको पूर्ण प्रत्याभूति नगरले दिने छ ।”

कार्यक्रममा नगर उपप्रमुख कल्पना तिवारीले जनप्रतिनिधिको चाहना र कर्मचारीको भावना मिलेमा मात्रै कामहरु प्रभावकारी हुने बताउनुभयो । उहाँले कार्यालयसम्म आउने सेवाग्राहीलाई यो वा त्यो बहानामा नफर्काईकन सकेसम्म छिटो र सहज तरिकाले सेवा प्रवाह गर्न पनि कर्मचारीहरुलाई सुझाव दिनुभयो ।

“तपाई कर्मचारी मित्रहरु नगरपालिकाको कार्यालय र नागरिकबीचको सहजकर्ता हुनुहुन्छ” नगर उपप्रमुख तिवारीले भन्नुभयो, “जनप्रतिनिधिले बोलेका कुरा र कर्मचारीको गराईमा एकरुपता हुनु आवश्यक भएकाले सोही अनुसार कार्य गर्न आग्रह गर्दछु ।”

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुबेदीले नगरभित्रका कार्यालयहरु, वडा कार्यालय तथा शाखाहरुमा आवश्यक उपकरणहरुलाई थप ब्यवस्थित गरिने र सेवाग्राहीलाई छिटोभन्दा छिटो सेवा प्रवाह गरिने बताउनुभयो ।

“ब्यक्ति विबेकशील हुन्छ तर सिस्टम अविवेकी हुन्छ” प्रमुख प्रशासकीय अधिकृत सुबेदीले भन्नुभयो, “कहिलेकाँही सिस्टममा आएको खराबीका कारण चाहेर पनि सेवा प्रवाहलाई छिटो छरितो गर्न नसकिएकोले आगामी दिनमा यसलाई सुधार गर्दै लगिने छ ।”

अन्तरक्रिया तथा छलफल कार्यक्रममा नगरस्थित विभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरु, वडा सचिवहरुले आ–आफ्नो शाखाबाट भए गरेका कार्य विवरणहरु प्रस्तुत गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here