प्रदेशको नाम ‘मधेश’ नै तोकिने

बीरगंज, १२ भदौं । प्रदेश २ को नामांकरण र स्थायी राजधानी तोक्ने प्रकृया शुरु भएको छ । यो प्रकृया शुरु भएसँगै प्रदेशको नाम र स्थायी राजधानीका लागि बहस पनि प्रारम्भ भएको हो ।

यही बहसकाबीच समाजवादी पार्टीका केन्द्रीय समिति अध्यक्ष उपेन्द्र यादवले प्रदेशको नाम ‘मधेश’ नै तोकिने बताएका छन् । संघीय सरकारका उप–प्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री समेत रहेका यादव भन्छन्, ‘यो प्रदेशको नाम छिट्टै मधेश नै घोषणा हुन्छ ।

समाजवादी पार्टीले बुधबार बीरगंजमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यादवले यो प्रदेशको नाम मधेश हुने दावी गरे । ‘म विश्वस्त छु यो प्रदेशको नाम मधेश नै घोषणा हुन्छ,’ उनले भने ।

कार्यक्रममा सहभागी भएका प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीतर्फ हेर्दै यादवले प्रदेश नम्बर २ को नाम ‘मधेश’ प्रदेश छिटै सुन्न पाउने आशा व्यक्त गरेको बताए ।

प्रदेश २ को नामांकरणका लागि चार वटा नाम प्रस्ताव भएको छ । स्थायी राजधानी तोक्ने चार वटा ठाउँको बारेमा पनि प्रस्ताव प्रदेशसभा सचिवालयमा पेश भएको छ । सत्तासिन समाजवादी–राजपाले संयुक्त रुपमै प्रस्ताव दर्ता गराउँदै प्रदेशको नाम ‘मधेश’ प्रस्ताव गरेको छ ।

प्रमुख प्रतिपक्षी नेकपाले जानकी र कांग्रेसले मिथिला–भोजपुरा राख्नुपर्ने प्रस्ताव पेश गरेको छ । कांग्रेसका केहि सांसदले प्रदेशको नाम मध्य मधेश राख्नुपर्ने भन्दै प्रस्ताव दर्ता गराएका छन् । कांग्रेसका सांसद राजेश्वर प्रसाद साहले प्रदेशको नाम मध्य मधेश राख्नुपर्ने प्रस्ताव पेश गरेका छन् ।

यद्यपी प्रदेश २ को नामांकरण र स्थायी राजधानी तोक्ने बिषय तत्काल लम्बिने भएको छ । प्रदेश सभा सचिवालयले गत शनिबार बैठक आह्वान गरेपनि बैठक बस्दै नबसी अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित भएपछि यो प्रकृया लम्बिने भएको हो ।

पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले प्रदेश २ मा बिद्यमान रहेको गरिबी,बेरोजगारी र समाजिक बिकृतिलाई निर्मुल गरेपछि मात्र संघीयता र गणतन्त्र बलियो हुने समेत बताए । शोषित उपेक्षित र राज्यबाट दबाइएका पिछडा बर्गको उत्थानले मात्र लोकतन्त्र बलियो हुने उनको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here