अधिकारका लागि अन्तिम लडाई लड्नैपर्छ

– मुकेश झा
राष्ट्रिय जनता पार्टी नेपालको महाधिवेशन गर्नका लागि मिति तोकि सकिएको छ । महाधिवेशन हुनुपर्छ, त्यसपछि कार्यकर्ताबाट नेताहरू छानिन्छन् । आधार भएका नेताहरू कार्यकर्ताबाट चुनिएर आउँछन् । त्यो भएपछि निश्चितरूपमा पार्टी मजबुतीका साथ मधेशमा आफ्नो उपस्थिति दर्ज गराउने छ । त्यसैले, तोकिएकै मितिमा महाधिवेशन गर्नका लागि राजपा नेपाल तयार छ । महाधिवेशनका लागि दुई किसिमको तयारी हुन्छ । एउटा प्रदर्शनका लागि र अर्को दर्शनका लागि । प्रदर्शन सबैले देखिने खालको हुन्छ, जुन भइसकेको छ । दर्शनका लागि भित्रभित्रै सबै नेता कार्यकर्ताहरू तयारी अवस्थामा छन् । राजपाका लागि अधिवेशन अत्यावश्यक कुरा हो ।
महाधिवेशनका लागि भ्रातृ संगठनहरूको समायोजन हुन सकेको छैन । त्यस्तै, निश्चितरूपमा महाधिवेशनको त्यस्तो तयारी अहिले देखिएको छैन । छ वटा पार्टी मिलेर राजपा बनेको हो । जिल्ला–जिल्लामा अहिले पनि ६ वटा पार्टीका छुट्टाछुट्टै संरचना जस्ताको तस्तै छ । निश्चितरूपमा राजपाको एउटा संरचना हुनुपर्छ र पार्टीलाई मजबुत बनाउनका लागि एकल नेतृत्व चाहिन्छ ।
समाजवादीसँग एकताको कुराले निश्चितरूपमा महाधिवेशनलाई प्रभाव पारिरहेको छ । मधेश र देशका लागि एकता जरूरी छ । हामी युवाहरू पनि चाहन्छौं कि दुवै पार्टी एकभएर अगाडि बढोस् । तर, अहिले राजपामा २०–२५ जना महासचिव नै छन् । एकता गर्दा यो जम्बो टोलीलाई त्यहाँ कसरी समायोजन गर्ने ? त्यसैले, महाधिवेशनबाट यस्ता कुराहरू फिल्टर भएपछि मात्रै एकता गर्दा राम्रो हुन्छ । एकता त हुनुपर्छ तर, फिल्टर भएर स्वच्छ नेतृत्वमा पुगोस्, जम्बो टोली नआओस् । त्यसका लागि महाधिवेशन जरूरी छ ।
लोकतान्त्रिक पद्धतिमा सबैको एक मत कहीं पनि हुँदैन । आआफ्नो विचार राख्ने स्वतन्त्रता हुन्छ । तर, अध्यक्षमण्डलका नेताहरूले अन्य नेता कार्यकर्ताहरूको पनि भावना बुझ्नुपर्ने हुन्छ । नेता कार्यकर्ताहरूले महाधिवेशन गरेर एकतामा जानुपर्ने धारणा राख्दै आएका छन् ।
निश्चितरूपमा आम नेता कार्यकर्ताहरूमा महाधिवेशनप्रति फ्रस्ट्रेशन बढ्दै गएको छ । हाम्रै भ्रातृ संगठनहरूले पूर्णता पाएको छैन । आफ्नो शुभेच्छुक संगठनहरू कसरी सक्रिय बनाउने भन्ने कुराको ध्यान नेतृत्व पंक्तिले दिनुपर्ने हुन्छ ।
हाम्रो अन्य मुद्दाहरू भिन्नता देखिए पनि मधेशको सवालमा दुवै पार्टी एकमत छन् । मधेश, पिछडिएका समुदायको हक अधिकारका लागि भविष्यमा पनि संघर्ष गर्ने यी दुई पार्टी मात्र हो । मधेशी, आदिवासी जनजाति लगायत उत्पीडित समुदायको हक अधिकारलाई अहिलेको सत्ताले खोसिरहेको अवस्था छ । त्यो हक अधिकार प्राप्तिका लागि दुवै पार्टी एक हुनुपर्छ । एक भएर फेरि एउटा संघर्षको आवश्यकता छ । बिना संघर्षको यो देशमा केही पनि पाउने छैन ।
समाजवादी पार्टी अहिले सत्तापक्षको एउटा प्रमुख घटकको रूपमा रहेको छ र राजपा प्रतिपक्षमा छ । दुवै पार्टी एक हुने निश्चित भएपछि सरकारको विषयमा निर्णय हुनेछ । समाजवादी पार्टी पनि अहिले सरकारमा संघर्षमै रहेको छ ।
एकीकरण हुने निश्चित भइसकेपछि धेरै कुराबारे प्रष्ट हुन्छन् । निश्चितरूपमा मधेशी, आदिवासी जनजाति, उत्पीडित समुदायको हक अधिकार स्थापना गराउनकै लागि दुवै पार्टी गठन भएको हो । त्यसैले, सत्ता कुनै ठूलो कुरो होइन । सरकारले जनताको हितविपरीत गर्ने निर्णयहरूमा समाजवादीले विरोध जनाउनुपर्ने हो ।
अहिलेको अवस्थामा हामी संघर्षमा छौं र समाजवादी पनि संघर्षमै हुन्छ । अन्तिममा यही निष्कर्ष निस्किन्छ कि बिना संघर्ष केही पनि स्थापित हुँदैन । विगतमा पनि हामी धेरै संघर्ष गरिसकेका छौं । सत्ताधारी पार्टीहरूले हामीसँग धेरै सम्झौता गरेका छन्, तर अहिलेसम्म पूरा गरेको छैन । हाम्रो अधिकार प्राप्तिका लागि हामीले अन्तिम लडाइँ लड्नैपर्छ । त्यसको तयारीमा राजपा जुटेको छ । यो संविधानलाई हामीले कालो दिवसको रूपमा मनायौं । यो कुराले पनि जनतामा एउटा आशा छ कि राजपा जनताका लागि संघर्षरत् छ ।
हामीले अहिले पनि आशावादी छौं कि संविधान संशोधनमार्फत् हाम्रा अधिकारहरू संविधानमा समाविष्ट होस् । अहिले पनि हाम्रा आन्दोलनकारी साथीहरूमाथि झुठा मुद्दा लगाइएको छ, कतिपय थुनामा छन् । झुठा मुद्दा फिर्ता, रिहा लगायतका विषयमा अहिलेसम्म हामी हेर र पर्खको नीतिमा छौं ।
अहिले पनि त सरकारमा बसेर समाजवादी पार्टीले संविधान संशोधनका लागि दबाब दिइरहेको छ, हामी सडकबाट दिइरहेका छौं । तर, सरकारले सुनिरहेको अवस्था छैन । अबको आवश्यकता भनेको समाजवादी पनि सरकार छोडेर सडक संघर्षमा आउनुपर्छ । किनकि नेपालको शासन सत्ताले सडकको दबाबबाट मात्र सुन्ने गरेको छ । निश्चितरूपमा देशका लागि आन्दोलनको आवश्यकता छ ।
हाम्रो आन्दोलन शान्तिपूर्ण तरिकाले नै हुन्छ । हामीले पहिला पनि शान्तिपूर्ण तरिकाले नै आन्दोलन गरेका थियौं । तर, हाम्रो आन्दोलनमा पानीको फोहोरा होइन, गोली बर्साइन्छ । यही देशमा दुई किसिमको व्यवहार हुने गरेको छ । काठमाडौंमा आन्दोलन हुँदा पानीको फोहोरा बर्साइन्छ तर, मधेशमा छाती र टाउकोमा ताकी–ताकी गोली बर्साइन्छ ।
जुन दिन काठमाडौंमा संविधान जारी हुँदै थियो त्यो दिन मधेशमा मधेशी युवाहरूको छाती र टाउकोमा ताकी–ताकी गोली हानिँदै थियो । मधेशीहरू शहीद भइरहेका थिए । त्यसैले, सो दिनलाई हामीले खुशियालीको रूपमा हामी मनाउन सक्दैनौं, त्यसलाई कालो दिनकै रूपमा मनाउँछौं । आफ्नो अधिकार पनि नयाँ संविधानमा सम्बोधन होस् भन्नका लागि मधेशमा आन्दोलन भएको थियो । हामीले जनताको अभिमत लिएर संविधान संशोधन गराउन दबाबस्वरूप पनि हामीले कालो दिवस मनाउने गरेका छौं ।
अहिलेको अवस्थामा नेपालले दुवै छिमेकी भारत र चीनसँग मित्रवत् सम्बन्ध बनाउनुपर्ने हुन्छ । खासगरी, भारतसँग अझ बढी सुमधुर सम्बन्ध बनाउनुपर्ने देखिन्छ ।
नेपालका कम्युनिष्ट पार्टीहरूको सम्बन्ध पहिलादेखि छँदै थियो तर लिखितरूपमा थिएन तर अहिले लिखितरूपमै भयो । अब नेकपा चिनियाँ कम्युनिष्ट पार्टीको एउटा शाखा कार्यालयको रूपमा भयो भन्ने प्रमाणित भइसक्यो । चिनियाँ कम्युनिष्ट पार्टीको शाखा कार्यालय नेपालमा छ जुन नेकपा हो ।
(झा राष्ट्रिय युवा संघका अध्यक्ष हुन ।) (मधेश दर्पण फिचर सेवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here