राजपा र समाजवादीबीच एकीकरणको अपरिहार्यता किन ?

—संगीता रेग्मी
नेपालको राजनीतिमा प्रदेश २ ले विशेष महत्व राख्ने गरेको छ । अहिले पनि ७ प्रदेश मध्ये ६ प्रदेशमा नेकपाको सरकार छ भने प्रदेश २ मा मात्र गैर कम्युनिष्ट सरकार छ । त्यहाँ राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीले संयुक्त सरकार चलाइरहेको छ । संविधानसभाबाट संघीय गणतन्त्रतात्मक संविधान जारी हुँदासम्म यहाँ विभिन्न घटना परिघटनाहरू भइरहे । राजनीतिक मुद्दाका हिसाबले होस् वा विभिन्न भ्रष्टाचार, अनियमितता, सामाजिक कुरिति जस्ता कारणबाट होस् प्रदेश २ अहिले पनि सधैंजसो चर्चामा रहन्छ ।
संविधान दिवसको विरोध
संविधान निर्माण प्रक्रियामा आफूहरूलाई सहभागी नबनाएको र आफ्ना मुद्दाहरू नसमेटेको भन्दै संविधान दिवसको विरोध गर्दै आएका मधेश केन्द्रित दलहरूले यो वर्ष पनि संविधान दिवसलाई कालो दिवसको रूपमा मनाए ।
संविधान संशोधनको मुद्दा लिएर सरकारमा सहभागी भएको सामाजवादी पार्टी मौन बसेको अवस्थामा राजपा नेपालले भन्ने प्रदेश २ का विभिन्न ठाउँमा विरोध जुलुस गर्दै संविधानको विरोधमा कालोपट्टी बाँधेर कालो दिवस मनायो । संघीय सरकारमा प्रतिनिधित्व गरेको र प्रदेश २ मा सरकार संचालनमा रहेको समाजवादी पार्टी मौन बस्नु र संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रदेश २ मा समाजवादी पार्टीसँग मिलेर सरकार संचालनमा रहेको राजपाले संविधान दिवसलाई विरोध दिवसको रूपमा मनाउनु आफैंमा दुई राजनीतिक दलहरूको आन्तरिक रूपमा रहेको कमजोर सहकार्य हो ।
आफ्ना स्वार्थपूर्तिका लागि सरकारमा सहभागी भएका दलहरूको उर्दीमा प्रदेश २ का जनताले पहिले जस्तै यो वर्ष पनि संविधान दिवस मनाउन पाएनन् वा मनाएनन् ? संविधान स्वीकार्दै सांसद बन्ने र संविधान दिवसको विरोध गर्ने एक हिसाबले राजनीतिक बेइमानी हो । संविधानको सपथ खाएर त्यसको विरोध गरेर सबै मधेशीको मानमर्दन हुने काम त कतै यी दलहरूले गरेका छैनन् भन्ने प्रश्न उठ्न थालिसकेको छ । संविधान संशोधन गराउँछु भन्दै सरकारमा सहभागी भएका तत्कालीन उपेन्द्र यादव नेतृत्वको पार्टीले अहिलेसम्म संशोधनको कुनै पनि विषय अगाडि बढाउन सकेको छैन । यो फगत उनको सत्तामा जाने बहाना मात्रै थियो कि ? अहिलेको अवस्थालाई हेर्दा संविधानको विरोध गर्ने नैतिक वा राजनीतिक आधार राजपा र समाजवादी दलसँग छैन ।
राजपा भित्रको आन्तरिक किचलो
राष्ट्रिय जनता पार्टी, नेपाल गठन भएको साढे २ वर्ष भयो । यो अवधिमा अध्यक्षमण्डलमा रहेका ६ जना सदस्यको अध्यक्ष बन्ने चक्र पनि पूरा भएको छ । पार्टी गठन भएदेखि २० महिनासम्म महन्थ ठाकुर अध्यक्ष मण्डलको संयोजक भएर काम गरे । उनीमाथि पार्टीमा अनियमितता गरेको, पार्टीमा पदाधिकारी नियुक्ति जथाभावी गरेको लगायतका आरोप लगाएर चक्रीय प्रणाली अनुरूप नेतृत्व गर्ने भन्दै २÷२ महिनाका लागि सदस्यहरू अध्यक्षमण्डलका अध्यक्ष भएर पार्टीको नेतृत्व गरे । असोज ६ गतेदेखि पुनः ठाकुरलाई संयोजकको जिम्मेवारी दिइएको छ ।
६ पार्टी मिलेर बनेको राजपा नेपाल अहिलेसम्म पनि भित्रि रूपमा संगठित र एकीकृत हुन सकेको छैन । ६ पार्टी मिलेको छ तर ६ पार्टीकै शीर्ष नेतृत्वको मन अहिलेसम्म मिल्न सकेको छैन । पार्टीमा लागू गरिएको चक्रीय प्रणालीले पार्टीलाई कुनै फाइदा पु¥याउन सकेको छैन । ६ जनै अध्यगमण्डलका सदस्यहरू पालै पालो अध्यक्ष भए पनि पार्टीको मुख्य कार्यभर ‘एकताको पहिलो महाधिवेनश’ गराउन सकेका छैन । अहिले पनि राजपा नेपालमा ६ वटै पार्टी रहेको महसुस हुन्छ । आ–आफ्नो स्वार्थअनुसार काम गर्नु, आ–आफ्नो गुट चलाउनु आदि कारणले राजपा भित्रको विवाद उत्कर्षमा पुगेको छ । पार्टी एक भएपनि कार्यकर्ताको व्यवस्थापन, संगठन निर्माण जस्ता विषयलाई पूर्णता दिन सकेको छैन ।
चुनावमा सहकार्य गरेका राजपा नेपाल र समाजवादी पार्टीबीच एकीकरण गर्ने चर्चा चलेको पनि लामो समय भयो तर अहिलेसम्म कुनै निष्कर्षमा पुग्न सकेको छैन । राजपा नेपालले कार्तिक २७, २८ र २९ गतेलाई महाधिवशेनको मिति तोकेको भएपनि अहिलेसम्म त्यसको कुनै तयारी भएको छैन । पहिले समाजवादी पार्टीसँग एकीकरण गर्ने कि महाधिवशेनमा जाने भन्ने विषयमा पार्टाीभित्रै विवाद सिर्जना भइरहेको छ । यसरी आफ्नै पार्टीलाई व्यवस्थित रूपमा अगाडि बढाउन नसकेको दलले प्रदेशको विकासका लागि कसरी काम गर्न सक्छ सोचनीय विषय हो ।
राजपा र समाजवादीको आगामी बाटो
मुद्दा समान भएका राजपा र समाजवादीबीच एकीकरण गर्नुको कुनै विकल्प छैन । आफू सत्ताको स्वार्थ चाखिराख्ने र जनतालाई भ्रममा राखिराख्ने हो भने यी दलहरूको पतन हुने स्थिति धेरै टाढा छैन । मधेशको नाममा भ्रम फैलाएर राजनीतिक सिँढी चढ्ने बाटो तयार बनाउनु र त्यहाँका अशिक्षित र गरिब जनतालाई बर्षौसम्म यो संविधानले मधेशीलाई विभेद गरेको छ भन्ने भ्रममा राखिराख्नु राजनीतिक अधर्म हो । यही अवस्थामा दोधारे नीति लिएर बसिरहने हो भने प्रदेश २ अन्य प्रदेशको तुलनामा झन् झन् पछाडि पर्दै जाने निश्चित छ । विभिन्न सूचकांकहरूमा अत्यन्त दयनीय अवस्थामा रहेको प्रदेश २ लाई माथि उठाउने जिम्मेवारी यही राजपा र फोरमको काँधमा छ । त्यसैले यी दलहरूले एकीकरण गरी प्रदेशको विकासमा आफ्नो ध्यान केन्द्रित गर्न जरूरी छ । अहिले प्रदेश २ आन्तरिक रूपमा कमजोर र बाह्यरूपले असफल भइसकेको छ । यो अवस्थाबाट प्रदेशलाई मुक्ति दिने भएपनि राजपा र समाजवादीको एकीकरण अपरिहार्य छ । (मधेश दर्पण फिचर सेवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here