नुनथर प्रदेश २ कै मुख्य पर्यटकिय गन्तब्य

उदय सपकाेटा

नुनथर कसरि रहन गयो
परापूर्वकालमा काठमाडौं उपत्यका पुग्ने छोटो बाटोको रूपमा प्रयोग हुन्थ्यो बागमती नदि किनारै किनारको बाटो । त्यही बाटो हुंदै तराई मधेस देखि काठमाडौं गाई बस्तु लैजाने क्रममा जहीले पनि ति चौपाया पशुहरूले नदि किनारको चट्टान हाल नुनथर मन्दिर बनेको चट्टान चाट्ने गर्दा रहेछन । चट्टान चाटेर मात्र नदिको पानी खाने गरेको देखे पछी गोठाला हरूले किन यसरी चट्टान चाट्दारहेछन भनेर अनुसन्धान गर्दा त्यो चट्टाननैं नुनिलो पाईयो । हाल संम्म पनि यहाँको चट्टान नुनिलो छ । त्यही कारणले यस ठाउंको नाम नुनथला राखियो । पछी नुनथला अपभ्रंश भई नुनथर नाम रहन गयो भन्ने किंवदन्ती पाईन्छ ।
नुनथरको बिशेष कथा
यस सम्बन्धि एउटा रोचक कथा छ । त्यस ताका गोपाल बंशका एकजनालाई कुष्ठरोग लागेछ । त्यस बेला अरूलाइ रोग नसरोस भनेर कुष्ठरोगी लाइ गांउ बस्ति भन्दा केही टाढा जंगलमा कुटी बनाएर राखिदिने प्रचलन रहेछ । त्यही चलन अनुसार ति गोपाल बंशिय कुष्ठरोगी लाई नुनथर जंगलमा रहेको एउटा सानो नुनिलो पानी आउने जरूवाको केही पर कुटी बनाएर राखिदिएछन, ति कुष्ठरोगीले हरेक दिन त्यही पानीमा नुहाउने र त्यही पानी पिउने गर्दा रहेछन । एवं रितले उनले केही बर्ष बिताएपछि उनको कुष्ठरोग निको भएको किंवदन्ती छ । हाल त्यो कुटी रहेको स्थानलाई गोपालकुटी भनिन्छ । हाल त्यो जरूवा लाई इनार बनाई संरक्षण गरिएको छ । अहिले पनि त्यस ईनारको पानीले स्नान गर्दा चर्म रोग निको हुन्छ भन्ने बिश्वास छ ।
पर्यटकीय सम्भावना  
प्रथमतः आराध्यदेव पशुपतिनाथको चरण स्पर्स गरि आएकी पवित्र गंगा बागमती नदि छिन । परापूर्वकाल देखिको बिश्वासको धरोहर बागमती नदीले पाउ पखालिदिने ठुलो चट्टानमा अबस्थित नुनथर मन्दिर छ । त्यसै चट्टानमा ठुलो शिवको मुर्ति पनि स्थापित छ । बागमती नदि वारपार गरेर बनाईएको कलात्मक सुन्दर बागमती ब्यारेज छ । त्यस ब्यारेजको सुन्दरताले परै बाट यस तर्फ पर्यटकलाई आकर्षित गर्दछ । नुनथर मन्दिरको ठिक पारी सर्लाही हरिहर क्षेत्रमा सुन्दर कलात्मक पंहेलो रंगमा धातुले निर्माण गरिएको बुद्धको प्रतिमा छ । नुनथर मन्दिर बाट पारी हरिहर क्षेत्र पुगेर बुद्ध प्रतिमा दर्शन गर्न सजिलो होस भनी बागमती नदिमाथि सुन्दर झोलुङ्गे पुल निर्माण गरिएको छ । त्यस झोलुङ्गे पुल बाट चारै तिर अति मनमोहक रमणिय दृष्य देख्न पाईन्छ । त्यस पुल बाट एकै पटक चार जिल्ला रौतहट, सिन्धुली, मकवानपुर र सर्लाही देख्न सकिन्छ । यो ठांउ चार जिल्लाको संगम रहेकोले केही समयको पैदल यात्रा बाटै चार जिल्लाको भुमि टेक्न सकिने हुंनाले पनि नुनथर प्रख्यात छ । नुनथर बाटै चुरे पर्वत सुरू हुने भएकोले बिशेष गरी बयस्क युवा युवती हरू र अन्य पर्यटक हरू बिभिन्न जातका चरा चुरूङ्गी हरूको चिरबिर चिरबिर मिठो आवाज संगै रमणिय हरियो जंगलको यात्रामा रमाई रमाई चुरे हाईकीङ गर्दै मकवानपुर सिमाना संम्म पुगि राई गांउ होम स्टेमा पुगेर लोकल कुखुरा, बागमतीको माछा र तामा गुन्द्रुक संग फापर, कोदो र मकैको ढिंडो खान रुचाउँछन । एक बर्षमा करिव नौ महिना गर्मि हुने यस क्षेत्रमा बागमतीको ढोल हुंदै बहने चीसो सिरेटोले चिस्याएको बागमती नदिको चिसो पानीमा रमाउनको लागी नदिमा संञ्चालन गरिएको मोटर बोटमा चढेर चिसो जल क्रिडा गर्न कै लागी भारत देखि हजारौं हजार पर्यटक यहाँ आउने गर्दछन । साउन महीना भरी महादेवका भक्त हरू बोलबंम आउने गर्दा यहाँ पुरै साउन मेला लाग्ने गर्दछ । तिर्थालु हरूले यहाँ पुजा आजा गरेर बागमतीको जल लिएर अर्को तीर्थस्थलमा चढाउन लैजाने चलन छ । अंग्रेजी नयाँ बर्ष, नेपाली नयाँ बर्ष र भ्यालेन्टाइन डे को दिन यहाँ दसौं हजार भन्दा बढीको भिड हुने गर्दछ । मंसिर देखि फागुन संम्म त यहाँ दैनीक हजारौं को संख्यामा पिकनिक खानकै लागी आउने गर्दछन । भारतको बिहार र झारखण्डका पर्यटकहरूको रोजाईमा परेको यस ठांउमा दैनिक जसो हजारौं भारतिय हरूको आवत जावत हुने गरेको छ । पिकनिक स्टल हरू आबश्यकता अनुसार निर्माण भएका छैनन र पनि नदि किनार र जंगलै भरी पिकनिक खाने हरूको भिड लाग्ने गरेको छ । यहाँ बिबाह, ब्रतबन्ध तिथि श्राद्ध जस्ता धार्मिक पुण्यका कर्म गर्ने हरूका पनि मनग्य उपस्थिति हुने गर्छ । बाला चतुर्दशीको दिन रात भरी जाग्रम बसी सदबिज छर्ने र पितृ खुशि पार्ने शद्धालुहरूको मेला लाग्ने गर्दछ । हरेक धार्मिक दिन हरूमा बागमती स्नान गर्ने व्रतालु तिर्थालु हरूको भिड हुने बागमतीमा हरेक बर्ष कार्तिक शुक्ल एकादशी देखि पुर्णिमा संम्म ठुलो मेला लाग्ने गर्दछ । यो मेला भर्न नेपाल र भारत बिहार झारखण्ड बाट ठुलो संख्यामा मानिस हरू आउने गर्दछन ।
समस्या र समाधान
यती धेरै पर्यटक हरूको आवत जावत हुंदा समेत यस क्षेत्रमा ठुला लगानीका एउटै पनि होटल रिसोर्ट रेष्टुरेन्ट छैनन । सबै भन्दा पहिला यहाँ ठुला लगानीका होटल र रिसोर्ट हरू निर्माण हुनु आबश्यक छ । यहाँ होटल निर्माण भैसके पछी पर्यटक हरू राती बसेर बागमतीको चिसो हावामा रमाउदै माछाका परिकारमा रमाउन सक्नेछन । स्थानिय परिकार, भेषभुषा, कला र लोक संस्कृति झल्किने गरी कला मन्दिर स्थापना गरी यहाँ रात बस्ने पर्यटकहरूलाई स्वच्छ मनोरञ्जन दिन सकिनेछ । यहाँ आएर केही रात बिताउने पर्यटक हरूको लागि दिन बिताउनको लागि गल्फ कोर्टमा लगानी आबश्यक देखिएको छ । ब्यबस्थित चुरे हाइकिङ र रक क्लाईम्बिङमा लगानी गर्नु पर्ने देखिएको छ । बागमती नदि किनारमा बिच एक्टिभेट हरू गराउन सकिने छ । रोपवे बाट बागमती नदि वारि पारी रौतहट र सिन्धुली अनी सर्लाही र मकवानपुरको रमाईलो यात्रा गराई साहसिक पर्यटक हरूलाई आकर्षित गर्न सकिने छ । चुरे बाट समथर संम्म ट्रि जंम्पिङ जिप लाईन जस्ता खेलमा लगानी गर्न सकिने छ । बागमती नदि लाई करिब बिस पच्चिस फिट उचाई संम्म बांध बांधेर नदिलाई झोलुङ्गे पुलको उत्तर तर्फ जलासय बनाउन सकिन्छ । त्यसको लागी दिर्घकालिन योजना बनाई प्रदेश दुईमैं बिजुली उत्पादन समेत गर्न सकिने छ । बांध बाट हुने जलाशयमा संख्यात्मक रूपमा मोटरबोट सञ्चालन गर्न सकिने छ । बांध माथि बाट झर्ने पानी लाई नदिको वारि देखि पारी संम्म बराबर झर्ने गरि सुन्दर झरना निर्माण गरि ब्यबस्थित स्नान स्थल बनाउन सकिन्छ । स्नान स्थलको केही तल करिब चार पांच फिट गहिरो हुने गरी ब्यबस्थित पौडी स्थल निर्माण गर्न सकिन्छ । त्यस्को केही तल तिर लाईभ फिसिङ स्पोट हरू निर्माण गर्न सकिने छ । ब्यारेजको पश्चिम दक्षिण भागमा सुन्दर फन पार्क निर्माण गर्न सक्ने हो भने हाईवेमा यात्रा गर्ने जो सुकै पनि एक पटक अबश्य रोकिने छ । ब्यबस्थित पिकनिक किचन र ब्यबस्थित पिकनिक स्टल हरू निर्माण गर्ने सके यहाँ राम्रो पर्यटन ब्यापार हुने कुरामा ढुक्क भएर लगानी गर्न सकिन्छ । त्यसको लागी प्रदेश सरकारको समन्वयमा देशको तिनै तहको सरकारले पर्यटन लगानी मैत्रि निति निर्माण गर्नै पर्ने अपरिहार्य देखिएको छ ।  प्रदेश सरकारको सक्रियता र समन्वयमा तिनै तहको सरकारले पर्यटन लगानी मैत्री निति निर्माण गरेर लगानी सुरक्षित हुने वातावरण बनाईदिने हो भने नुनथर प्रदेश २ कै मुख्य पर्यटकिय गन्तब्य बन्ने छ र पर्यटक हरूकै माउथ पब्लिसिटी बाट देश बिदेशमा प्रदेश २ लाई चिनाउन सकिने छ । ( लेखक हाेटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ) । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here