जानकी मन्दिर सौन्दर्यकरण परियोजनाका निर्माण कार्यहरु गुणस्तरीय रहेको आयोजना प्रमुख भगवान झाको दाबी

प्रदेश नं. २ सरकारको महत्वाकांक्षी योजना अन्तर्गत ऐतिहासिक धरोहर जानकी मन्दिर सौन्दर्यकरण परियोजनाका निर्माण कार्यहरु गुणस्तरीय रहेको दाबी गरिएको छ । हालसम्म भएका परियोजनाका कामहरु गुणस्तरीय भएको दावी आयोजना प्रमुख भगवान झाले गरेका छन । परियोजनाको प्रगति तथा काम बारे जानकारी दिन शुक्रबार मन्दिर परिसर भित्रै आयोजित पत्रकार सम्मेलनमा आयोजना प्रमुख झाले प्रगति विवरण सार्वजनिक गर्दै परियोजनाको गुणस्तरीयतामा कुनै किसिमको लापरवाही नगरिएको दाबी गरेका गरेका हुन् ।
मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत संचालित जानकी मन्दिर सौन्दर्यीकरण परियोजना अन्तर्गत भईरहेको निर्माणको क्रममा गुणस्तरहीन काम भइरहेको भन्दै केही स्थानीयहरुले असन्तुष्टि पोखेका थिए । उनीहरुले मन्दिर परिसरमा जडान गरिँदै गरेको मार्बल गुणस्तरहीन भएको तथा मन्दिर परिसरमा ढलनिकासको व्यवस्थापन गर्दा कमसल सामग्रीहरु प्रयोग गरेको एवं पुराना इँटाहरुको प्रयोग गरेको आरोप लगाएका थिए ।
पत्रकार सम्मेलनमा आयोजना प्रमुख झाले ‘क्वालिटी काउन्सिल अफ इण्डिया’सँग सम्बन्धन प्राप्त राजस्थानको राहुल इन्जिनियर्स ल्याब्रोटरीको रिपोर्ट अनुसार मन्दिर परिसरमा जडान भइरहेको मार्बलको मोटाई, भारवाहन क्षमता, पानी संग्रह गर्ने क्षमता उत्तम रहेको बताए । परियोजनामा मन्दिर परिसरमा तीन स्टीलको प्रवेशद्वार, श्रद्धालु बस्ने बेञ्च तथा बाहिरी पर्खाल वरिपरि १ सय अशोकको बोट पनि लगाउने कार्यक्रम रहेको छ ।
अभियान अन्तर्गत जानकी मन्दिरमा मार्बल र टायल्स जडान, तीन मुख्यद्वार पुनर्निर्माण तथा ढलनिकास आदिका लागी ८ करोडभन्दा बढि बजेट विनियोजन गरिएको छ । तर ठेक्का भने ६ करोड ७५ लाख ४६ हजार १ सय ५ रुपैयाँमा दिइएको छ । ३ डिसेम्बर २०१८मा समझौता भएको उक्त परियोजनाको काम २ डिसेम्बर २०१९ भित्र सम्पन्न गर्नुपर्ने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here