कात्तिक ४, २०७६ काठमाडौं : महानगरीय प्रहरी वृत्त बौद्धले नक्कली नोट बनाउने तीनजनालाई नोट बनाउन प्रयोग हुने समानसहित पक्राउ गरेको छ । प्रहरीले सोमबार बिहान साढे ५ बजे गोकर्णेश्वर नगरपालिका-६ नयाँबस्ती बिपुल चोकबाट दोलखाका राजन परियार, त्यही ठाउँका सन्तोष नेपाली र महेन्द्र नेपालीलाई पक्राउ गरेको हो।
नयाँबस्ती बिपुल चोकस्थित एक घरमा कोठा भाडामा लिई नक्कली नोटहरू छापिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहहरुको साथबाट प्रहरीले नक्कली नेपाली नोट १ हजार दरका ३४ थान (३४ हजार), विभिन्न दरका सक्कली नेपाली नगद १६ हजार १ सय ९५, नोट बनाउने कागज ठुलो १ सय ४२ थान र सानो कागज १ सय ४९ थान बरामद गरेको छ । यसै गरी रंगीन फोटोकपी मेसिन एक थान, कम्प्युटरको सिपियु २ थान, त्यसको मनिटर १ थान, हिटर १ थान, क्यामेरा १ थान, कैंची ४ थान, ग्लुस्टिक ७ थान बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।