मध्य नेपालमा हावाहुरी आउने र चट्याङ पर्ने,मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह

बीबीसी। बङ्गालको खाडीमा बनेको शक्तिशाली समुद्री आँधी फानीले भारतको ओडिशामा शुक्रवार बिहान प्रहार गर्दैछ। झन्डै २०० किलोमिटर प्रतिघण्टाको वेगले अघि बढिरहेको समुद्री आँधीले प्रभावित पार्ने ठाँउका झण्डै ८ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सारिन लागेको अधिकारीहरुले जनाएका छन् ।

आँधीको प्रभावले ओडिशा क्षेत्रमा वर्षा हुन थालेको छ । भारतीय मौसम विभागका अनुसार स्थानीय समयानुसार बिहान आठ बजेदेखि १२ बजेभित्र फानीले ओडिशा हान्नेछ।

त्यहाँ बिहीवार रातिदेखि विमान उडान र रेलसेवा एवं दुईवटा ठूला बन्दरगाह पनि बन्द गरिएको छ। भारतको आन्ध्र प्रदेश र तामिलनाडूमा उच्च सतर्कता अपनाइएको छ।

सन् २०१७ मा त्यस क्षेत्रमा आएको समुद्री आँधीका कारण २०० जनाको ज्यान गएको थियो। भारतीय जलसेनाले उद्धार र राहतकार्यका लागि सो क्षेत्रमा युद्धमा प्रयोग हुने सातवटा पानीजहाज, छवटा विमान र सातवटा हेलिकप्टर तयारी अवस्थामा राखेको छ।

सो आँधी नेपालनजिकै पूर्वोत्तर भारतबाट बाङ्ग्लादेशतिर जाँदै गर्दा नेपालमा समेत प्रभाव पर्ने हुँदा नेपालको मौसम पूर्वानुमान महाशाखाले सचेत रहन आग्रह गरेको छ । आँधीका कारण शुक्रवार दिउँसोदेखि पूर्वी र मध्य नेपालमा हावाहुरी आउने, चट्याङ पर्ने र वर्षा हुन सक्ने महाशाखाले जनाएको छ भने हिमाली भेगमा हिमपात पनि हुन सक्ने सम्भावना रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here