काठमाडौं : ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटलविरुद्ध १० करोड रुपैयाँ बराबर क्षतिपूर्तिको मागसहित पूर्वसांसद गायत्री साहले ललितपुर जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन्। उपभोक्ता संरक्षण ऐन, २०७५ को परिच्छेद १० बमोजिम अस्पताल र सम्बद्ध चिकित्सकबाट क्षतिपूर्ति भराउन माग गरिएको छ।
अस्पताल र सम्बन्धित चिकित्सकको लापरबाहीका कारण ‘डाउन सिण्ड्रोम’ भएको विकलाङ्ग बच्चा जन्माउनुपरेको दाबी मुद्दामा गरिएको छ। गर्भवती भएका बेला आफूलाई बच्चाको अवस्था सामान्य रहेको भन्दै आश्वस्त पारेका कारण असक्त बच्चा जन्माउनुपरेको दाबीसमेत साहले फिरादमा उल्लेख गरेकी छन्।
‘मेरो बच्चाको स्वास्थ्य अवस्था अब जीवनभर सुधार नहुने, जीवनभर औषधि उपचार गरिरहनुपर्ने र राम्रो उपचार नपाएमा कुनै पनि समयमा मृत्यु हुनसक्ने अवस्था छ,’ साहले भनेकी छन्।