रवीना देशराज समकालीन समाज भन्दा बेग्लै सोच राख्ने ब्यक्तिका रुपमा चिनिन्छिन् । उनी लैंगिकताका विषयमा परम्परागत सोच विपरित धारणा राखेर र आफ्नो विकिनी तस्बिर सार्वजनिक गरेर पनि चर्चामा छिन् । अभिनेत्री प्रियंका कार्कीसँगै विकिनीमा उनको तस्बिर सामाजिक सञ्जालमा पोष्ट भएपछि त्यसले ठूलै चर्चा पायो । उनका छोरा आयुष्मान देशराज पनि अभिनेता हुन् । अभिनेत्री कार्की र आयुष्मान प्रेम सम्बन्धमा रहेका गसिपहरु पनि मिडियामा छाइरहन्छन् । सन्तान जन्माउन बिहे गर्नु नपर्ने बोल्ड धारणा राख्दै आएकी रवीना देशराजसँग प्रचलित सामाजिक ब्यवस्थाका बारेमा चक्रपथ डटकमका लागि बिनु पोखरेलले गरेको कुराकानीको केहि अंश साभार गरेका छौ :- महिला झन बोल्ड हुँदै गएपछि परिवारमा बिखण्डन आइरहेको छ भन्छन्, हो त ?मेरा एकजना आफन्तसँग एकदिन कुरा गर्दैथिएँ । उहाँले एउटा ग्यादरिङमा हजुरवा, हजुरवाका तीनजना श्रीमती र छोराछोरी सबै जम्मा भएको भन्नुभयो । ल त्यहि ठाउँमा हजुरआमाका तीनजना श्रीमान जम्मा भएको भनौं त ?
एउटा पुरुषका तीन श्रीमती एकै ठाउँ भेला हुनुलाई स्वाभाविक रुपमा लिने समाजले एउटी महिलाका तीन श्रीमान एकैठाउँ ग्यादरिङ गरेको पचाउन सक्छ ? पुरुषहरु खुला रक्सी, चुरोट खान्छन् । ल हामी खाउँ त, के भन्छ समाज ? अहिले जे जे भएको छ त्यो सबै महिलाले सहिदिने भएर हो । उसले तीनवटा ल्याउँदा, १०औं जनासँग सेक्सुअल रिलेशनमा रहंदा, चुरोटले डाम्दा पनि सहिदिए मात्र परीवार जमेको देख्ने, त्यसलाई नसहे परीवार विखण्डन भएको देख्ने ? त्यो घर, घर नहुने अनि महिलाले बरु एक्लै बस्छु भन्दा परिवार भड्किएको भन्ने ? अब महिला हरुले पनि आफ्नो शक्ति थाहा पाए । अब त्यसैगरी सहंदैनन् ।
जो आर्थिक रुपमा सक्षम छन् दवावमा रहन्नन् । त्यसो हुनु समाज विग्रिएको होइन । बिग्रिएको समाजको रुप देखिएको मात्र हो । हिंसामा पुरुष छन् भने पनि त्यहि हो । ल न, म दुईटा श्रीमान राख्छु भन्छु । मान्छ त समाज ? तर हामी त्यसो गर्दैनांै । गर पनि भन्दैनौं । महिला र पुरुषमा फरक सामाजिक सोचाई हुनु भएन भनेको मात्रै ।यसो सोचौं न, दुईजना एक हुने भनेको दुईटाको खुशी जोड्दा झन् खुशी हुन सकिन्छ कि भनेर हो नि । स्वतन्त्रता मार्न त होइन । श्रीमान श्रीमती हुनुहुन्छ तर बोलचाल छैन । दुईतिर फर्केर सुत्नुहुन्छ ।
अर्को एक्लै भएको मान्छे गीत लगाएर नाच्दै बस्छ, खुशी हुन्छ ।स्वतन्त्रताले हो नि खुशी ल्याउने । अचेल म सुन्छु–, अहिले त धेरै परीवारमा महिला, पुरुष दुबै कामकाजी छन् । केटाले म आज डिनर बाहिरै गरेर आउँछु भन्यो भने, केटी पार्टनरले पनि हस् मेरो पनि पार्टी छ आउन ढिलो हुन्छु है भन्छे रे । अनि त्यो पुरुष पार्टनर ढक्क हुन्छ रे । उसले गरुन्जेल काम साथीले गर्दा नकाम भन्ने हुन्छ ? भन्नुस् त ।तपाईंको समाजिक संजालमा आएको एउटा फोटोबारे कुरा जोड्न मनलाग्यो । तपाईं र अभिनेत्री प्रियंका कार्कीले विकिनी लगाएको तस्बिर पोष्ट गर्नुभयो ।
त्यसप्रति आएका प्रतिक्रियाले कस्तो महसुस गर्नुभयो ?तपाईंका प्रश्नले मलाई उत्साहित बनाइरहेको छ । सबै घटना हरुले मान्छेलाई सिकाइ नै रहेका हुन्छन् । चाहे दुःखद हुन् चाहे सुखद् । त्यो फोटो खासमा सामाजिक संजालमा मैले राखेको होइन । प्रियंकाले हालेकी हुन् । खासमा म त्यो झन्झट ब्यहोर्न चाहान्नथेँ । किनकी म यो पदमा रहेर कामले दुनियाँ बदल्न चाहन्थेँ । त्यति झिनो कुरामा आफूलाई नअल्झाउँ भन्ने थियो । मलाई थाहा थियो, नेपाली समाज खैरेनीहरुले विकिनी लगाएर फोटो खिच्दा बीचमा बस्न सक्छ ।
त्यहि फोटो सामाजिक सञ्जालमा पस्किन सक्छ । तर, त्यस्तै तस्बिर नेपाली महिलाले पोष्ट गरे भने मुख बाउँछ । यसलाई जसले नकारात्मक रुपमा टिप्पणी गरे उनीहरुको बुझाईको लेभल हो त्यो । यो घटनाले मलाई समाजको अर्को रुप पनि देखाइदियो । समाजमा संस्कार नपाएर हुर्केका मान्छे मात्र छैनन्, बुझेका मान्छे पनि छन् । त्यहाँ यस्ता कमेन्ट पनि आए कि तपाईं यति स्लिम हुनुभएछ, त्यो दौडधुपमा पनि आफूलाई मेन्टेन गर्न सक्नुभएको रहेछ भने । कति पुरुष साथीले यसका लागि कहिले समय मिल्छ भनेर सोध्नुभयो ।
कसैले एक्लै जानु भएछ खबर गरेर जानुभएको भए हुन्थ्यो भन्नुभयो । त्यसले लाग्यो समाजमा संस्कारमा हुर्केका र समाज, दुनियाँ बुझेका मान्छे पनि छन् । अहिले पनि भन्छु– हरेक कुरालाई लैंगिकताको नजरबाट मात्र नहेरौं । मेरो छोरोले मलाई विकिनीमा देखेर केहि भन्दैन । बरु कुनमा हजुरलाई सुहाउँछ भनेर ड्रेस खोज्छ, यो लगाउनुस् भन्छ । कपडा लगाउनु, मेकअप गर्नु, राम्रो हुनु, अरुका लगि होइन । आफ्ना लागि हो । म मेरो कुरामा कम्फर्ट छु भने अरुलाई किन चासो ? कुनै छोरीलाई हाफ पाइन्टमा कम्फर्ट लाग्छहोला ।
उसले त्यस्तो लगाएर केटालाई आउ, छोउ भनेको त होइन नि । अर्को कुरा, पुरुषहरुले झर्नामा छाती थापेर नुहाएको फोटो चाहिँ कुल हुने, त्यस्तो तस्बिर खिच्न कसरी समय निकाल्नु भयो भनेर सोध्ने । महिलाको नुहाएको फोटोमा चाहिँ किन तुच्छ कमेन्ट गर्ने ? पुरुषजस्तै महिला पनि प्रकृतिको क्रिएसन हो भन्ने सत्य कुरा बुझ्नु पर्यो नि । यसको जरो भनेकै हामीले छोरो हुर्काउँदा संस्कार दिन सकेनौं । अब हरेक आमाले बुझ्नु पर्छ– छोरीलाई होइन हरेक छोरालाई संस्कार सिकाएर समाज बदलौं ।