सभामुखमा सकस : केपी, प्रचण्ड र नेपालका आआफ्नै उम्मेदवार

काठमाडौं । ‘साडी आक्रमण’ मा परेर कृष्णवहादुर महराले सभामुख पद गुमाएपछि रिक्त पदमा कसको चयन हुन सक्ला भन्ने जिज्ञासा सर्वत्र  पैदा भएको छ । सभामुख पदमा नेकपाभित्रको माओवादीले आफ्नो दावी प्रस्तुत गर्न सक्ने सम्भावना जति देखिएको छ नेकपाभित्रकै एमालेले कुनै हालतमा सभामुख पद नछोड्ने सम्भावना पनि त्यत्ति नै देखिएको छ । हालसम्म पार्टीभित्र र बाहिर करीब पौने एक दर्जन नेताहरु नाम सम्भावित सभामुखका रुपमा चर्चामा छन् । सुवास नेम्वाङ्ग  सोमप्रसाद पाण्डे, विरोध खतिवडा, हृदयेशत्रिपाठी, पम्फा भुषाल, देव गुरुङ्ग, देवेन्द्र पौडेल, ओनसरी घर्ती र अग्नि सापकोटाको नाम विभिन्न कुनाबाट विभिन्न स्तरमा चर्चामा रहेको छ । झिनो स्वरमा भए पनि शेरवहादुर देउवाको नेतृत्वको कांग्रेस पार्टीले समेत सभामुखमा दाबी गरिरहेको छ । सभामुख र उपसभामुख दुई भिन्न दलहरुबाट हुने संवैधानिक ब्यवस्था भएकोले राजपाका नेता लक्ष्मणलाल कर्णको नाम पनि सम्भावित उपसभामुखका रुपमा अगाडि आएको छ ।

सत्तारुढ पार्टीले सभामुख पद नछोड्ने निश्चित भएको र उपसभामुख शिवमाया तुम्बाहाम्फेसमेत नेकपाकै पक्षको भएकोले तुम्बाहाम्फलाई उपसभामुख पदबाट राजीनामा गराएर मन्त्रिमण्डलमा समावेश गरिने या अन्य कुनै महत्वपूर्ण जिम्मेवारी दिइने सम्भावना छ । उल्लिखित  नामहरुमध्ये प्रचण्डले चाहेको पहिलो ब्यक्ति अग्नि सापकोटा र केपी ओलीको रोजाइमा सुवास नेम्वाङ्ग  परेको बुझिएको छ ।

गृहमन्त्री रामवहादुर थापा बादल देव गुरुङ्गलाई सभामुख बनाउने पक्षमा देखिएका छन् । माधवकुमार नेपाल ‘ठीक ठाउँमा आए’ सोमप्रसाद पाण्डे(माधव नेपालका सम्धी)लाई सभामुख बनाउन केपी ओली सकारात्मक हुने विश्वास गरिएको छ । प्रचण्डको प्रथम प्राथमिकतामा अग्नि सापकोटा दोस्रोमा पम्फा भुषाल र तेस्रो प्राथमिकतामा मात्र देव गुरुङ्ग  भएको सम्बद्ध सुत्रबाट जानकारी मिलेको छ । 


केपी ओलीको चाहिं पहिलो प्राथमिकता सुवास नेम्वाङ्ग  भए पनि हृदयेश त्रिपाठी र सोमप्रसाद पाण्डेप्रति समेत सकारात्मक भएको बुझिन्छ । ओली प्रचण्ड दुबैको समान अडानमा केमा देखिएको छ भने केपी कुनै पनि हालतमा ‘माओवादी’लाई सभामुख दिन तयार हुनुहुन्न  र प्रचण्डचाहि“ ‘एमाले’लाई सभामुख सुम्पन्न कदापि चाहनुहुन्न ।

दुबैनेताबीच सभामुख चयनको रस्साकस्सी सम्भावना देखिएको छ । प्रमुख नेताहरुबीच उत्पन्न कडा टक्करले उत्पन्न गर्ने परिस्थितिले सुवास नेम्वाङ्ग  र अग्नि–पम्फा–देवबाहेकका ब्यक्तिलाई ‘सभामुख’ बनाइदिने सम्भावना पनि बलियो छ ।

यही विषयलाई लिएर केपी र प्रचण्ड आआफ्नै बाटो लाग्ने सम्भावना पनि त्यत्तिकै रहेको छ । सभामुख चयन तत्काल हुने स्थिति छैन, कास्कीको उपनिर्वाचनपछि मात्र सभामुख चयनको प्रक्रिया शुरु हुने बुझिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here