प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल भर्ना

काठमाडौं । भाइटीकाको दिन (हिजो) देखि असजिलो महसुस भएपछि प्रधानमन्त्री केपी शर्मा ओली ग्राण्डी अस्पताल भर्ना भएका छन् ।

आज बिहानै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीलाई सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार गरिरहेको प्रधानमन्त्रीनिकट स्रोतले जानकारी दियो ।

प्रधानमन्त्रीको शरीरमा पानीको मात्रा कम अर्थात् जलवियोजन (डिहाड्रेसन) प्रारम्भिक रिपोर्टमा देखिएको बालुवाटार स्रोतको भनाइ छ । “उहाँको शरीरमा पानीको मात्रामा कमी देखियो । औषधिको साइड इफेक्ट हुनसक्छ,” प्रधानमन्त्रीनिकट स्रोतले बाह्रखरीसँग भन्यो, “टीकाको दिनदेखि नै असजिलो महसुस गरिरहनुभएको थियो । टीकाको दिन अलिक धपेडी पनि भयो । शरीरको तापक्रम पनि बढेपछि बुधबार बिहानै भर्ना गरिएको हो । अहिले अवस्था सामान्य हुँदै गएको छ । आजै डिस्चार्ज गर्ने तयारी छ ।” प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने प्रधानमन्त्रीको अवस्था सामान्य रहेको र नियमित फलोअपमात्रै भएको बताएका छन् । “नियमित स्वास्थ्य जाँच हो । त्यस्तो ठूलो समस्या छैन । स्वास्थ्य परीक्षण सकिएपछि उहाँ आजै अपराह्न फर्कनुहुनेछ,” प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको १३ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो । त्यसयता प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य जाँच गराउँदै आएका छन् ।

दुई महिनाअघि सिङ्गापुरमा प्लाज्मा फेरेसिसमार्फत शरीरमा जम्मा भएको एण्टीबडी नष्ट गरिएको थियो । प्रधानमन्त्री ओली यहीवर्षमात्रै उपचारका लागि दुईपटक सिङ्गापुर गइसकेका छन् । सिङ्गापुरबाट फर्किएपछि पनि ओली पछिल्लो उपचार प्रक्रियाले लाभ पुर्याएको छ कि छैन भनेर नियमित परीक्षण गराउँदै आएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here