म कुनै अपराधमा संलग्न छैन -मोहम्मद अफताब आलम

काठमाडौं । १२ वर्ष पुरानो मुद्धामा पुनः अनुसन्धान गर्ने भन्दै प्रहरीले नियन्त्रणमा लिएका कांग्रेस नेता मोहम्मद अफताब आलमले आफू निर्दोष भएको बताएका छन् । रौतहट जिल्ला प्रहरी कार्यालयमा रहेका आलमले अर्थपूर्ण डटकमका प्रतिनिधिसंगको भेटमा आफू निर्दोष भएकोले हतास नरहेको बताए ।

‘खाएको विष पो लाग्छ , नखाएको विष के लाग्छ ? केहीदिन मलाई यहाँ राख्नुहोला तर मैले अपराध गरेको छैन । छिट्टै सफाई पाउँछु ।’, आलमले भने ।

२०६४ साल चैत २७ गते भएको भनिएको बम विस्फोटका घाइतेहरुको हत्यामा संलग्न रहेको आरोप आलममाथि लगाइएको छ । उनले संविधानसभा निर्वाचनको उम्मेदवार भएकोले आफू सो दिन चुनावकै तयारीमा व्यस्त रहेको र घटनाबारे केही थाहा नभएको बताए । ‘अहिले ममाथि लागेका आरोप हेर्दा कथा पढेजस्तो लाग्छ । नभएको कुरा बताएर जनतालाई भ्रममा राख्न खोजिएको छ ।’, आलमले भनेका छन् ।

उनले आफूले अनुसन्धानमा सहयोग गरेको भन्दै निष्पक्ष छानबिनका लागि जनदवाव भने रहनुपर्ने बताए । आफूविरुद्ध लामो समयदेखि राजनीतिक प्रतिशोध साँध्ने काम भइरहेको भन्दै आलमले समर्थक र कार्यकर्ताहरुलाई धैर्य गर्न आग्रह गरेका छन् । ‘रौतहटका जनतालाई मेरो रिहाईको कामना गर्नुभएकोमा धन्यवाद दिन चाहन्छु । केही समय धैर्य गर्नुहो, म कुनै अपराधमा संलग्न छैन । छिट्टै जनतामाझ आउँछु ।’, उनले भने ।

अफताबको रिहाई र निष्पक्ष छानबिनको माग गर्दै रौतहटमा दिनहुँजस्तो प्रदर्शन भइरहेका छन् । आलमले आरोप लाग्दैमा कुनै कुरा सत्य नहुने भन्दै अदालतबाट निष्पक्ष फैसला हुनेमा आफू आशावादी रहेको बताए । अर्थपूर्ण डटकमवाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here