राजनीतिक नेतृत्व तहमा रहेकाहरुको नीयतमा सुधार नभए चुरे जोगाउन मुस्किल

जनकपुर । पूर्व राष्ट्रपति डा. रामवरण यादव चुरे संरक्षणको नाउँमा जतिसुकै बजेट खर्च गरिएपनि राजनीतिक नेतृत्व तहमा रहेकाहरुको नीयतमा सुधार नभए चुरे जोगाउन मुस्किल पर्ने बताउँछन् ।

“आज मदन भण्डारी राजमार्गको नाउँमा सरकारले सिधै चुरेको पेट र छातिमा डोजर चलाइरहेको छ,” नेपाल साहित्य महोत्सवको दोस्रो दिन शनिबार जनकपुरस्थित रामजानकी विवाह मण्डपपरिसरमा आयोजित ‘चुरेको चिन्ता’ विषयक विमर्श कार्यक्रममा पूर्व राष्ट्रपति डा. यादवले भने । राजमार्ग र विकासको नाउँमा डोजर आतंक मचाउने सरकार तथा जनप्रतिनिधिलाई आफ्नै भविष्यमाथि बन्चरो हानिरहेको हेक्का नहुनु चिन्ताको विषय रहेको उनको भनाइ छ ।

“पहाडमा मध्य–पहाडी राजमार्ग, चुरेको फेदमा पूर्व–पश्चिम राजमार्ग तथा तराईमा हुलाकी राजमार्ग र बीचमा पूर्व–पश्चिम रेलवे निर्माण भइरहेकै छ फेरी चुरे क्षेत्रलाई नै ध्वस्त पार्ने मदन भण्डारी राजमार्ग कसको लागि ?,” यादवले प्रश्न गरे, “मेची–महाकाली जोड्न कतिवटा राजमार्ग चाहियो ?” 
ठेकेदार र भू तथा वन पैदावार माफियाहरुलाई टिकट बाँड्ने राजनीतिक दलहरुको संकुचित सोचको कारण चुरेसँगै मुलुकको प्राकृतिक उपहार ध्वस्त भइरहेको उनको टिप्पणी थियो । चुरे विनास भएर मधेसको उर्वरभूमि मरुभूमिकरण भइरहेको उल्लेख गर्दै यादवले नेपाली राजनीतिक नेतृत्व यसप्रति कतिपनि गम्भिर नरहेको आरोप लगाए । “करिब एक दशकदेखि मैले चुरेको कुरा उठाइरहँदा सरकारको नेतृत्व सम्हाल्ने नेतामा यसप्रति रत्तिभर चिन्ता देखिन,” उनले भने । “२०३६ सालमा ५० फिट मुनि पाउने जनकपुरको भूमिगत पानी अहिले ५५० फिट तल गइसक्यो,” उनले थपे, “चन्द्रमामा पानी आपूर्तिको लागि चिन्ता भइरहेको बेला हामीसँग सहजै प्राप्त हुने पानी दुर्लभ हुँदैछ । यसलाई बचाउन कहिले चिन्तन गर्ने ?”

‘सहीकुरा भन्यो कि सरकारले विरोध गरेको भनिहाल्छ’

पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले चुरे संरक्षण तथा राजमार्ग निर्माण प्रक्रियामा सरकार अत्यन्तै लापर्वाह देखिइरहेको आरोप लगाए । “मैले त सही कुरा बोले भने पनि माधव नेपालले सरकारको विरोध गर्यो भन्ने आरोप लगाइदिन्छन्,” नेपालले भने, “माथि मध्य पहाडी राजमार्ग, बीचमा पूर्व–पश्चिम राजमार्ग र तराईमा हुलाकी राजमार्ग भइसकेपछि पूर्व–पश्चिम जोड्न अरु धेरै राजमार्ग किन चाहियो मैले बुझ्नै सकिरहेको छैन ।”

चुरेको संवेदनशिलतावारे नेकपा नेतृत्वको सरकार गम्भीर नरहेको उल्लेख गर्दै पूर्व प्रधानमन्त्री नेपालले निजगढ विमानस्थल निर्माणको नाउँमा पनि अनावश्यक वन विनास गर्ने षडयन्त्र भइरहेको टिप्पणी गरे । उनले वन क्षेत्रको जग्गामा रजाइँ गर्न अग्रसर भू–माफिया तथा जंगल कटान गरी लाभ लुट्नेहरुको प्रभावमा सरकार अघि बढिरहेको उनले आरोप लगाए । 

“निजगढ विमानस्थलको लागि त अर्को विकल्प छैन । त्यहीँ बन्नुपर्छ”,  उनले भने, “तर, मात्र विमानस्थल निर्माणको लागि सरकारले भनेजस्तो धेरै जग्गाको आवश्यक्ता नै छैन । अहिले निर्माण गर्ने योजनामा रहेको विमानस्थल वरिपरी सहर नै सहर हुँदाहुँदै विमानस्थल क्षेत्रमा नयाँ सहर स्थापना गर्ने नाउँमा धेरै रुख कटान गरी माफिया पाल्ने नीति सरकारको हो ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here