अन्जु झा,महिला अधिकारकर्मी तथा अध्यक्ष, माण्डवी
० माण्डवी संस्था के हो ?
— माण्डवी मात्र एउटा नाम हो । यो महिलाहरूले नेतृत्व गरेको संस्था हो । मिथिलाका राजा जनकका तीनजना महिला विद्धान हुनुहुन्थ्यो, माण्डवी, मैत्री र गार्गी । उहाँहरूले राजा जनकलाई विभिन्न परिस्थितिमा सल्लाह दिनुहुन्थ्यो । माण्डवीले त्यतिबेला शिक्षा र कलाको क्षेत्रमा काम गरेको देखिन्छ । साथै कुनै विषयमा जरूरी निर्णय लिनुप¥यो भने राजा जनकले उहाँहरूसँग छलफल गरेको हामीले रामायणमा पढेका छौं । त्यतिबेला महिलाको स्थान त्यति राम्रो थियो तर अहिलेसम्म आइपुग्दा हामी कसरी पछाडि कसरी प¥यौं त ? त्यसबाटै प्रभावित भएर हामीले हाम्रो संस्थाको नाम माण्डवी राखेका हौं ।
० अहिलेसम्म माण्डवीले कस्ता कामहरू गर्दै आएको छ ?
— हामीले मुख्य रूपमा तराईलाई आधार मानेर काम गर्दछौं । माण्डवीले द्वन्द्व व्यवस्थापन, मानवीय सहयोगमा काम गर्दै आएको छ । बाढी र भूकम्प मात्र प्राकृतिक प्रकोप होइन अन्य विभिन्न प्राकृतिक प्रकोपका रूपहरू पनि हुन्छन् त्यससँग सम्बन्धित भएर काम गर्दैछौं । शिक्षाको सवालमा, आर्थिक विकासको सवालमा, जनावरहरूको सुरक्षाको विषयमा पनि काम गछौं । सबै कामहरू हेर्दा हामी विशेष गरेर महिला र सीमान्तकृत समुदायलाई लिएर काम गर्दै आएका छौं । सन् २००९ मा संस्था दर्ता भएको हो । २०११ देखि हामी निरन्तर ७÷८ वटा जिल्लामा काम गर्दै आएका छौं ।
० अहिलेको अवस्थामा महिला र सीमान्तकृत समुदायको अवस्था कस्तो पाउनुहुन्छ ?
— तथ्यांकलाई नै हेर्दा पनि नेपालमा महिलाको संख्या ५०% भन्दा बढी छ । तर, राज्यका निकायहरूमा, राजनीतिक दलहरूको निर्णयक तहमा, घरपरिवारमा जहाँपनि महिला पछाडि नै छन् । महिला मात्र होइन दलित, जनजाति, मधेशी सबै पछाडि परिरहेका छन् । त्यही निश्चित समुदाय पछाडि परेको हुनाले नै समाजमा द्वन्द्व उत्पन्न भएको छ । देशमा द्वन्द्व छ । फलस्वरूप विभिन्न परिवर्तन हुँदा हुँदै पनि हामी यहाँसम्म मात्र आइपुगेका छौं । महिला तथा सीमान्तकृत समुदाय पछाडि छौं नि नभए राज्यले किन आरक्षण दिनुपर्दथ्यो । राज्यले महिलाको सवालमा ३३% आरक्षणको व्यवस्था गरेको छ भने सीमान्तकृत समुदायलाई उनीहरूको जनसंख्याको आधारमा वा अन्य विभिन्न आधारहरूलाई हेरेर आरक्षणको व्यवस्था गरिदिएको छ । राज्यले त आरक्षण दियो तर परिवार र समाजले त आरक्षण दिँदैन । डिटोमेटिङ अवस्थाभन्दा अलि माथि हामी छौं तर समानताको अवस्थामा पुगिसकेका छैनौं ।
० तराई–मधेशका महिलाहरू मूलधारमा आउन सकेका छैनन्, उनीहरूलाई नेतृत्वमा वा राज्यका विभिन्न निणार्यक तहमा ल्याउन तपाईहरूले के गर्दै हुनुहुन्छ ?
— हामीले प्रदेश २ को सबै जिल्लामा काम गरिसकेका छौं र अहिलेको अवस्थामा पनि बारा, पर्सा, रौतहट, सर्लाही र महोत्तरीमा काम गरिरहेका छौं । सिन्धुली, विराटनगर र दाङमा पनि हामीले काम गरिरहेका छौं । देशकै महिलाको अवस्था पछाडि पर्दाखेरी तराईवासी नै पछाडि परेको छ । जब तराईवासी नै पछाडि छन् भने त्यहाँका महिलाहरू त अझ पछाडि अवश्यै पर्ने भए । कतैकतै सामाजिक मान्यताहरूले पनि महिलाहरूलाई घरबाहिर जानबाट रोक लगाएको छ, अवस्था थोरै परिवर्तन त हुँदैछ । तैपनि हाम्रो सामाजिक संरचनाले गर्दा हाम्रो गतिशिलतालाई नियन्त्रण गरेको छ जसले गर्दा तराईका महिलाहरू घरभित्र छन् । अहिले बालिकाहरू विद्यालय जाँदै गरेको अवस्था पनि छ । तर त्यहाँ पनि लैगिंक भेदभाव देखिने गरेको छ । जसरी छोरीलाई घरबाट बाहिर निकाल्न खोज्दैछौं त्यसरी नै छोरालाई पनि अलिकति घरभित्र पस्न लगाउने र घरको काममा सहयोग गर्न लगाउने परिपाटी विकास भयो भने सहज हुन्थ्यो । तर त्यो प्रयास भएको छैन । जसले गर्दा चाहेर पनि मधेशका महिलाहरू अगाडि आउन सकेका छैनन् ।
० महिलालाई घरभित्र सीमित राख्ने सोचाईमा परिवर्तन हुनुप¥यो र पुरूषलाई पनि घर भित्रको काम सिकाउनुप¥यो भन्ने तपाईको आशय थियो ?
— महिला पुरूष बन्ने होइन अथवा पुरूष महिला बन्ने होइन । प्रकृतिप्रदत्त हामी जे छौं त्यो त हाम्रो विशेषता हो । तर त्यो विशेषताकै आधारमा कार्यको विभाजन हुनुभएन । आज हामी महिलालाई हरेक क्षेत्रमा सहभागी गराउन चाहिरहेका छौं । आज कृषि, स्वास्थ्य, राजनीति, शिक्षा हरेक क्षेत्रमा महिलालाई अगाडि ल्याउन खोजिरहँदा उसले हिजोका दिनमा घरमा गर्ने काममा अरूको केही सहयोग पाएकै छैन कि एउटा महिलालाई हामीले लोडमाथि लोड पो थपिरहेका छौं कि । त्यतातिर पनि ध्यान दिनुप¥यो । महिला सबैतिर हुनुप¥यो, हामी भनिरहेका छौं तर पुरूष सबैतिर हुनुप¥यो भन्ने विषयमा हामीले ध्यान दिएकै छैनौं । पुरूषलाई भित्र ल्याउन र महिलालाई बाहिर निकाल्न हामीले काम गर्नुपर्छ ।
० तपाईहरूले विभिन्न जिल्लामा काम गरिरहनु भएको छ, त्यहाँ तपाईहरूले के नयाँ कुरा सिकाउनुहुन्छ ?
— हामीले जुन विषयमा काम गरेपनि त्यो ३३% को कुरा गर्दनौं । हामी जहिले पनि समानताको कुरा गछौं । हाम्रो उद्देश्य महिलाको मुद्दा पुरूषले पनि बुझ्नपर्छ, एउटा दलितले नै दलितको आवाज उठाउँछ भने त्यो अगाडि आउँदैन । दलितको मुद्दा बाहुनले उठाइदिनुप¥यो, महिलाको मुद्दा पुरूषले पनि बुझिदिनुप¥यो । यदि मैले कुनै मुस्लिम महिलासँग काम गर्नु छ भने मुस्लिम समुदायको पुरूषलाई महिलाको विषयमा बुझाउनुप¥यो । जसलाई अगाडि बढाउनु छ त्योसँग मात्र हामी काम गदैनौं, त्यसका सहायकलाई पनि लिएर हामी अगाडि बढ्छौं यो विषयमा हामी अरूभन्दा आफूलाई फरक महसुस गछौं ।
० माण्डवी कस्तो संस्था हो ?
— माण्डवी विशुद्ध गैरसरकारी संस्था हो । नाफा आर्जन गर्ने उद्देश्य नभएको संस्था हो । यो रौतहटमा दर्ता भएको छ । हामी विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग मिलेर पनि काम गर्छौं ।
० अहिले प्रदेश २ सरकारले बेटी बचाऊ, बेटी पढाऊ अभियान, छोरी बिमा कार्यक्रम संचालन गरेको छ यो कार्यक्रम कत्तिको प्रभावकारी देख्नुहुन्छ ?
— कुनैपनि नारा होस् वा कुनैपनि योजनाको विषयमा हामी रिजल्ट चाँडै निकाल्छौं । आज लागू गरेको योजनाले त्यसको एक महिनामा परिणाम दिने त होइन । त्यो योजना भित्र सरकारले कसरी काम गरिरहेको छ म त्यो भित्र जान चाहन्न तर बेटी बचाऊ, बेटी पढाउ कार्यक्रम अन्तर्गत सरकारले साइकल मात्र वितरण गरेको छ भने त्यो पनि र महिलाको लागि लगानी गरेको हो नि । गाउँमा पढ्न विद्यालय नभएर पढ्न नपाइरहेका छोरीले साईकल भएपछि अर्को गाउँमा विद्यालयमा गएर भएपनि त पढ्न सक्छ नि । साईकल वितरण गर्नुलाई नराम्रो भन्न मिल्दैन ।
० तपाईहरूले जनावरको सुरक्षाको सवालमा पनि काम गर्नुभएको छ । नेपालमा पशु बली प्रथालाई कसरी रोक्न सकिएला ?
— पशुमाथि हुने निर्दयतामाथि मलाई पहिलेदेखि नै दया लाएर आउँथ्यो । यो पृथ्वी हामी मानवका लागि मात्र होइन । जतिपनि जीवजन्तुहरू छन् सबैको लागि हो । त्यो अनुरूप हामी पशु कल्याणमा काम पनि गरिरहेका छौं । धर्मको नाममा पशुलाई मारिनुहुँदैन भन्ने हाम्रो सिद्धान्त हो । हामी विभिन्न विद्यालयमा गएर बालबालिकासँग कुरा गछौं र भेज खानाबाट शरीरलाई कसरी फाइदा हुन्छ त्यो विषयमा जानकारी गराउँछौं । प्रयासमा छौं एकैचोटि सबै कुरा निर्मूल हुँदैन । पशु अधिकारकै विषयमा कुरा गर्ने समय भइसकेको छैन । अहिले पशु कल्याण सवालहरू उठाउँदै आएका छौं ।
० तपाईहरूले धार्मिक आधारमा हुने बलि प्रथालाई रोक्नुपर्छ भन्नुहुन्छ यसले गर्दा धार्मिक आस्थामा प्रभाव पर्छ नि ?
— हिन्दू धर्मको चारवटा वेदमा हेर्दा त्यहाँ कतैपनि बलीको विषय उठाइएको छैन । भोलि कसैले वेदमा आफ्नो केही विचार राखेर अर्को पुस्तक निकालन सक्छ त्यसमा हामीले सरोकार राख्न भएन । वास्तविकता के छ त भनेर बुझ्न जरूरी छ । कुनै धर्मले बली दिनुपर्छ भनेको छैन ।
(मधेशवाणीका लागि रामसुकुल मण्डलले गरेको कुराकानीको सम्पादित अंश)