२ नम्बर प्रदेश सरकारको दीन गन्ति शुरु

काठमाडौं १८ महिनाअघि अर्थात २०७५ जेठ १४ गते प्रधानमन्त्री केपी शर्मा ओलीसँग २ बुँदे सहमति गरेर उपप्रधानसहित दुई मन्त्रालय लिएर सत्तारोहण गरेको समाजवादी पार्टी सरकारबाट बाहिरएपछि नेपाली राजनीतिक वृत्तमा विभिन्न टिप्पणी शुरु भएको छ ।

करिब १८ महिनापछि हिजो ९ मंगलबार समाजवादी पार्टीका अध्यक्ष समेत रहेका उपप्रधानमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री मोहमद ईस्तियाक राईले आफ्नो पदबाट राजीनामा दिएर बाहिरिएका छन् । उनीहरुले संविधान संशोधन गर्ने आफ्नो माग सम्बोधन नभएको भन्दै सरकारबाट बाहिरिएको बताएका छन् ।

संविधान संशोधनको माग उठाउँदै आएको रष्ट्रिय जनता पार्टी राजपानेपाल भने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपासँग लामो समयदेखिको संवादहीनतालाई तोड्दै नेकपा र राजपाबीच राष्ट्रियसभा निर्वाचनको लागि आकस्मिक हिसाबले सहमति हुन पुगेको छ । गत २ गते भएको नेकपा र राजपाबीचको २ बुँदे सहमतिको पहिलो बुँदामा राष्ट्रियसभा निर्वाचनका सम्बन्धमा सहकार्य गर्ने उल्लेख छ भने २ नम्बर बुँदामा ‘दुई पार्टीबीचमा राष्ट्रिय राजनीतिका समसामयिक विषयहरुमा नियमित रुपमा छलफल गर्ने र सहकार्यको प्रकृयालाई अघि बढाउने’ उल्लेख छ ।

यो बुँदाले समाजवादी पार्टी सरकारबाट ‘आउट’ भएसँगै राजपा सरकारमा ‘ईन्ट्री’हुने ढोका खुलेको कतिपयको विश्लेषण छ । जुन बुँदाबाट पार्टी एकीकरणको प्रकृयामा रहेको समाजवादी पनि राजपासँग झस्किन पुगेको छ । र, सँगै २ नम्बर प्रदेश सरकारको समीकरण पनि फेरबदल हुने संकेत देखा परेको छ ।

तर अहिले भने राजपा सरकारमा भन्दा उपसभामुख लिएर अघि बढ्ने योजनामा छ । राजपा महासचिव केशव झाले अहिले नै सरकारमा जाने भन्ने विषयमा छलफल नभएको बताउँदै उपसभामुख पदमा भने राजपाले दाबी गर्ने बताए ।

उता नेकपा स्थायी समिति सदस्य तथा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डलले नेकपा र राजपाबीच भएको पछिल्लो सहमतिले संघदेखि प्रदेशसम्म नेकपा र राजपाबीच सहकार्य हुने आधार निर्माण गरेको बताए । मण्डलले यो सहमतिसँगै प्रदेश नम्बर २ मा राजपा र समाजवादी पार्टीबीचको समिरकण भत्किने बताउँदै त्यसपछि प्रदेश सरकार नेकपा र राजपाको संयुक्त बन्ने दाबी पनि गरेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाले प्रतिनिधिसभाको सभामुख र उपसभामुख एउटै दलको हुन नहुने वैधानिक प्रावधानका कारण उपसभामुखका विषयमा राजपासँग पनि छलफल अघि बढिरहेको बताए । नेकपाले उपसभामुख राजपालाई दिएमा राजपाबाट चन्दा चौधरी र अमृता अग्रहरीको नाम चर्चामा आएको छ । राजपाका एक नेताका अनुसार त्यस्तो स्थिति आएमा राजपाले चौधरीलाई अघि सार्ने निर्णय गर्नेछ ।

उपसभामुखमा यसअघि स्वतन्त्र सांसद रहेकी राष्ट्रिय जनमोर्चा नेपालकी सांसद दुर्गा पौडेलको नाम पनि चर्चामा छ । प्युठानबाट सांसद बनेकी पौडेल नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंहकी श्रीमती हुन् । यादवले अघि सारेको संविधान संशोधन सम्बन्धी प्रस्ताव रोकेर उपयुक्त निर्णय गरेको भन्दै नेकपा मसालका महामन्त्री सिंहले प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएका छन् ।

मसालका महामन्त्री सिंहले विज्ञप्तिमार्फत प्रधानमन्त्री ओलीलाई धन्यवाद दिइरहँदा उपसभामुख पद चाहि नेकपाले राजपालाई दिने तयारी गरेको छ । त्यसो त प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि उपसभामुख पद आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । यो अवस्थामा कांगे्रसले सांसद पुष्पा भुषालको नाम चर्चामा ल्याएको छ । द नेपालटप

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here