जयप्रकाश प्रसाद गुप्ता
हामी एक दुई उपवाद वाहेक कोइराला परिवार कै सदस्यहरूबाट कोठा भरिएको थियो । यो त्यही कोठा हो, जहाँ केशवप्रसाद कोइरालाको देहावसान भएको थियो । यस्तै अनेकन् भावनात्मक लगावका कारणले नोना कोइराला यसलाई आफ्नो निजी कोठा बनाउनुभएको थियो ।
किसुनजीको व्यक्तित्वको चर्चा गरिरहनु पर्दैन । सफा, स्निग्ध र प्रफुल्ल किसुनजी घुँडा माथिसम्मको धोती र कमिज लाएर त्यहीँ भूइँमा बस्नु भएको थियो । कोइराला बर्चस्वको पारिवारिक माहौलमा किसुनजीको बज्रासन बसाइँले उहाँलाई एउटै सतहमा बसेकाहरूमध्ये सबैभन्दा अग्लो बनाएको थियो ।
गिरिजाबाबू त्यहाँ हुनु हुन्थेन । बहुदलीय व्यवस्थाको पुनःस्थापनापछि देशको शक्तिशाली प्रधानमन्त्रीको रूपमा किसुनजी पहिलो पटक बिराटनगर कोइराला निवास पुग्नु भएको थियो । नोना कोइरालालाई उहाँले सधैं नोनाजी भनी सम्बोधन गर्नुहुन्थ्यो । उ बेलासम्म गिरिजाबाबू प्रधानमन्त्रीको दाबेदार हुने कुरै थिएन । अन्तरिम सरकार थियो । संविधान नै आएको थिएन । निर्वाचन नै भएको थिएन ।
यस बेला किसुनजी सबै कांग्रेसजनका आँखाका तारा र अपेक्षाका सबैभन्दा अग्ला व्यक्ति हुनुहुन्थ्यो । उहाँको स्वागतमा नोना कोइरालाको खुट्टा भूइँमा थिएन । दुश्मनलाई पनि घरमा माया गर्ने कोइरालाहरूका सामु त्यस बेला सबैभन्दा प्रिय पात्र जो थिए । फेरि किसुनजी नोनाको लागि नेता मात्र थिएन राम नगरकी छोरी नोनाका लागि किसुनजी पारिवारिक पुरोहितका बंशज थिए, जो प्रजातन्त्र स्थापनाको लडाइँमा कोइरालाहरूको ईगो सफल भएको प्रतिकको रूपमा त्यस दिन त्यहाँ हुनुहुन्थ्यो ।
हामी मस्का भन्छौ नि, मस्का लगाउने ! किसुनजी नोनालाई मस्का लगाउँदै हुनुहुन्थ्यो । हामीतिर हेर्दै भन्नु भो, बुझ्नु भो, म जेलमा हुँदा सधै नोनाजीको हातबाट बनेको खाना सम्झेर बस्थे । ०७ सालमा बिराटनगर मजदुर हडतालका दौरान राणाहरूले एउटै डोरीमा बाँधेर कोइराला परिवारका महिला समेत नौ जनालाई बिराटनगरबाट अड्डासार गरेर काठमाडौं पुर्याएको स्मरण गर्दै नोनालाई सोही परिवारका बीरांगना भन्दै हुनुहुन्थ्यो ।
नोनाले पस्कनुभएको रेड लेबल ह्वीस्कीका केही पेगपछि किसुनजी अचानक गंभीर हुनुभयो । विस्तारै उहाँका कुराहरू बढी दार्शनिक, आस्थामय र आध्यात्मिक हुँदै गयो । बद्री बस्नेत, अशोक कोइराला, हरि सापकोटा, रमेश घिमिरे, उमेश गिरी, बशन्त भट्टराई, नगेन्द्र ढुंगेल र हामीहरू थियौं । यिनै जमाततर्फ हेर्दै किसुनजीले सोध्नु भो, ल भन्नुस् म कुन शक्तिको प्रेरणाले १६ वर्षसम्म जेल बस्न सकेहुँला ? यो सबैका लागि समस्या खडा गर्ने जिझासा थियो । संसारिकतामा नफसेको, आध्यात्मका उपासक, चरित्रका हठी, स्वभावका रमाइलो र व्यवहारका कुशाग्र, यो र योभन्दा धेरै अन्तरनिहीत अदृश्य ज्ञानगुणका किसुनजी यत्रो वर्ष कुन प्रेरणाले जेल बस्नु भयो ? यो भन्ने सामर्थ्य त्यहाँ कसैमा थिएन ।
शक्तिमा मानिस देवत्व देख्छ । राजालाई त हामीले अवतार नै मान्यौं । राजा महेन्द्रले सत्ता हत्याएपछि भारतका तत्कालीन राजदूतले दूतावासको कार्यक्रममा राजाको आरती नै उतारे । हिन्दूहरूको सबैभन्दा लामो पुजाआजा त शक्ति पीठहरू मै हुन्छ । शक्तिका अगाडिसंगै जेलमा रहेका श्रीभद्र शर्मा, रूद्रप्रसाद गिरीहरू टिक्न सकेनन् । म स्वयं यही आस्थाको परिवेश र व्यवहारमा बाँचेको मानिस के अर्थमा अलग छु र ?
किसुनजीमा जीवनका तत्ववोधहरूले ठाँउ ओगट्दै गएको थियो । हामी सब मौन रहेर, किसुनजीका कुराहरू गमिरहेको देखाएर मौन दार्शनिक भै सकेका थियौं । अर्थशास्त्रीका वारेमा भन्छन् निसचार जना घाघरान अर्थशास्त्रीका बीच बसेका पाँचौ अज्ञानी त्यतिञ्जेल मात्र अर्थशास्त्री हुन्छ, जबसम्म त्यो अर्थशास्त्रका वारेमा बोल्दैनन् । किसुनजीका सामुन्ने हामी त्यस्तै भएका थियौं । म त निश्चय नै ।
तर, ससाना कुरामा रिसाउने, असन्तुष्ट भैरहने, हर बखत आफू मै पुरूषार्थ देख्ने हामी जस्ताका लागि भने यो गह्रुँगो सवाल थियो कि कुन प्रेरणाले किसुनजी यत्रो लामो समयसम्म अविचलित रूपमा, अडिग भै जेलमा बस्न सक्नु भयो !
उहाँ भन्दै हुनुहुन्थ्यो नोना जी, राममणि आचार्य दीक्षित जस्ता उ बेलाको प्रशासकहरू आउँथे, सादा कागज छोडेर जान्थे । किसुनजी मनमा जे आउँछ, चार लाईन लेखेर दिनोस् । जेलबाट रिहा हुनोस् र गर्नुस राजनीति भन्थे । धेरैले यसो गरेका पनि थिए । कतिपय पटक आफू गलेके र भोलि बिहानै छुट्ने बाटोमा बढने प्रबल ईच्छा बन्ने गरेको निश्चयी भएर राति सुत्ने गरेको सुनाउनु भयो । तर, बिहान विषम् अवस्थामा प्रतिदिन बिताउने गरेका साथी भाईहरूको प्रतिबद्धताबाट आफूले ती कुराहरूलाई बिर्सने गरेको सुनाउनु भयो ।
धेरैले प्रारब्धलाई मानिसको बाह्य देखिने उपलब्धि ठानेका हुन्छन् । होइन, प्रारब्ध भनेको आन्तरिक दृढता हो । अध्ययनको आर्जनबाट मानिसको मनमा प्रारब्धको निर्माण हुन्छ । यहि प्रारब्धले बाह्य परिणाम दिन्छ । प्रतिकूलतासंग लडने क्षमता दिन्छ । यही क्षमता मैले जेलमा आर्जन गरे र म यत्रो लामो समयसम्म टिक्न सके…! किसुनजी कमसे कम मलाई त यन्त्रवत् श्रोता बनाउनुभएको थियो त्यस दिनको राति । ह्वीस्की फिका भएको थियो । जीवनमा अमिट रंगहरू थपिएको थियो । मध्यरात्रिसम्म सम्झेर लेखेर ती कुराहरू लेखी बसें ।
उहाँले नोना आमातिर उन्मुख हुँदै भन्नु भयो नोनाजी यही त्यो कुरा हो जो तपाईको कूल पुरोहितलाई देशको प्रधानमन्त्री बनायो । मैले राम्ररी ठ्म्याएको थिए, नोना आमाको अनुहार किसुनजीको प्रारब्धमा त्यस दिन गौरवान्वित देखिएको थियो । म आज सम्झिन्छु, नेपालको राजनीतिमा थोरै समयभित्र सबकुछ कसरी फेरियो । राजनीतिको ध्येय पनि, औचित्य र परिभाषा पनि !
(लेखक जयप्रकाश प्रसाद गुप्ता नेपाली कांग्रेसका पूर्व नेता हुन्)