मुख्यमन्त्री लालबाबु राउतले राजीनामा नदिए अविश्वासको प्रस्तावबाट हटाउने विपक्षी दलका नेता सत्यनारायण मण्डलले दिए चेतावनी

काठमाडौं– नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं प्रदेश नं २ मा विपक्षी दलका नेता सत्यनारायण मण्डलले मुख्यमन्त्री लालबाबु राउतले नैतिकताका आधारमा राजीनामा नदिए अविश्वासको प्रस्तावबाट हटाउने चेतावनी दिएका छन् ।

संघीय सरकारबाट संघीय समाजवादी पार्टीको बहिर्गमनलगत्तै यसको असर प्रदेश २ को सरकारमा पर्ने मण्डलले बताएका छन् । ‘संघीय सरकारबाट संघीय समाजवादी पार्टीले राजीनामा दिइसकेपछि प्रदेश नं २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले नैतिकताका आधारमा राजीनामा दिनुपर्दछ,’  मंगलबार साँझ विशेष अन्तर्वार्ता दिंदै मण्डलले भने ‘फागनु ३ गतेसम्म नैतिकताका आधारमा मुख्यमन्त्रीको राजीनामा आएन भने अविश्वासको प्रस्ताव राखेर हटाउँछौं ।’

संविधानको धारा १८८ (४) अनुसार प्रदेश सरकार गठन भएको दुईवर्ष नपुगेसम्म मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्न पाइँदैन । आगामी फागुन ३ गते प्रदेश २ को सरकार गठन भएको दुई वर्ष पुग्दैछ । प्रदेश नं. २ मा ३२ सिट सहित नेकपा ठूलो दल हो । तर अहिले राजपा र फोरम मिलेर सरकार बनाएका छन् । सरकारलाई नेकपाले पनि समर्थन गरेको छ तर सरकारमा सहभागी छैन ।

नेकपाका स्थायी समिति सदस्य र प्रदेश नं २ का इञ्चार्ज समेत रहेका मण्डलले प्रदेश नं २ मा अब नेकपा र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार गठन हुने संकेत गरेका छन् । यस विषयमा राजपासँग कुनै छलफल नभए पनि केन्द्रमा निर्माण हुँदै गरेको राजनीतिक समीकरणले त्यस्तै संकेत गरेको मण्डलले बताए । केही दिन अघि नेकपा र राजपाबीच राष्ट्रिय सभा र अन्य राजनीतिक विषयमा आवश्यकता अनुसार साझेदारी गर्ने सहमति भएको छ । ‘राजपासँग सभामुख भएकोले अब नेकपाले मुख्यमन्त्री पाउँछ’ नेकपा संसदीय दलका नेता मण्डलले भने ‘दलको नेताको हैसियतले म वेटिङ मुख्यमन्त्री हुँ ।’

मण्डलले मंगलबार बिहान प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका छन् । नेकपाको स्थायीको कमिटी बैठक आइतबार सकिएपछि केही राजनीतिक भेटघाट सकेर मण्डल बुधबार जनकपुर जाने कार्यक्रम छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here