भरत साह
यसरी गर्न सकिन्छ ऐतिहासिक सिम्रौनगढको संरक्षण
ऐतिहासिक र पुरातात्विक महत्व बोकेको सिम्रौनगढकै नामले प्रदेश न २ अन्तरगत बारा जिल्लाको दक्षिणपूर्वी भागमा सिम्रौनगढ नगरपालिका बनाइएको छ । यसको जनसंख्या २४ हजार ६ सय १५ छ । सिम्रौनगढ, वीरगञ्जबाट २८ कि.मी. पूर्वमा र काठमाण्डौबाट दक्षिण ९० कि.मी.को सीधा दूरीमा अवस्थित छ ।
सिम्रौनगढ पुरातात्विक स्थल हो । यो स्थल सिमरा वनगढ, सिम्मनगाडा, पाटा, इत्यादिको नामले समेत परिचित छ । यहाँ ११ औं देखि १४ औं शताब्दीका ‘सिम्रौन राज्य’ अथवा ‘कर्नाटवंशी राज्य’ र १८०० वर्ष पुरानो गुप्ताकालका विभिन्न पुरातात्विक कलाकृतिहरू तथा पुरावशेषहरू भेटिएका छन् ।
‘सिम्रौन’ राज्यलाई ग्यासुद्दिन तुग्लकले सन् १३२४ तिर पराजित गरेपछि, त्यहाँका अन्तिम राजा हरिसिंहदेव पहाडतिर गएर काठमाडौं उपत्यकाको मल्ल राजवंशमा समाहित भएका थिए । यसको शासनका क्रममा उपत्यकाले कला, शिल्प, साहित्य र वास्तुको क्षेत्रमा उच्चतम् विकास हासिल गरेको इतिहासविदहरु बताउँछन् ।
किलाबन्दी रहेको सिम्रौनगढको परिधिलाई ‘बाही’ भनिने गरिन्छ । यसको आकार आयताकार रहेको र उत्तर–दक्षिणमा ६ किमी र पूर्व–पश्चिममा औसत ४.५ किमी रहेको छ । तिरहुतक्षेत्रभरी कर्णाटकालका मूर्ति, पोखरा, इनार, दुर्ग, भित्ता, खण्डहर तथा अन्य पुरातात्विक अवशेषहरू व्याप्त छन् । सिम्रौनगढ कर्नाटवंशको राजधानी रहेको हुनाले यहाँ यी वस्तुहरू धेरै बढ़ी र उच्चकोटिका भेटिने गरेका छन् ।
कर्णाटवंशी महाराजाहरूको उद्भव
नान्यदेवले कर्णाटवंशको स्थापना सन् १०९७ मा सिम्रौनगढमा गरे । उनी पश्चात् कम्तिमा ५ जना शासकहरू क्रमशः गंग देव, नरसिंह देव, रामसिंह देव, शक्तिसिंह देव र हरिसिंह देव कोशीदेखि गण्डकी र महाभारत शृंखला देखि गंगासम्म आधिपत्य कायम गरे ।
गोपालराज वंशावली अनुसार चारपटक यहाँका राजाहरूले उपत्यकामा समेत आक्रमण गरेका थिए । हिमालयी राज्यदेखि दक्षिण भारतको सांस्कृतिक सम्पर्क शंकराचार्यद्वारा विधिवत स्थापना भएपश्चात कर्णाटकीहरूले समेत यस परम्परालाई कला, साहित्यको आदान–प्रदानले निरंतरता दिए ।
तैपनि तीरभुक्तिका कर्णाटवंशी महाराजाहरूको उद्भव बारे विद्वानहरूमा एकमत छैन ।
कर्णाटवंशीहरूलाई चालुक्यहरूको उत्तरी भारतवर्षमा सोमेश्वर (प्रथम) र विक्रमादित्य (छैठौं) को पालामा एघारौं शाताब्दीको पश्चाद्र्धतिर गरिएको आक्रमणसंग जोडेर हेर्ने गरिन्छ । नान्यदेव बंगालका रामपाल, मदनपाल, विजयसेन, वल्लालसेनस कन्नौजका गोविन्दाचार्य गहड़वाल र कलिंगका राघवका समकालिन हुन् । उनले युद्ध तथा शान्ति विकास दुबैमा आफ्नो कौशल स्थापित गराएका थिए ।
तीरहुतिया कर्णाटहरू र बंगालका सेनहरू संघर्षरत थिए भन्ने कुरा देवपारा अभिलेखबाट प्रमाणित हुन्छ । नान्यदेवले आफ्नो शासनलाई स्थायित्व दिन सफल भएका थिए र उनले नेपालसम्म आफ्नो राज्य स्थापित गरेका थिए । नान्यदेवले यस क्षेत्रमा आधिपत्य कायम गर्न सम्भवतः चालुक्य राजा विक्रमादित्य (छैठौं) को सहयोग लिएका थिए । जसले सन् १०६८ को केही समय पश्चातनै नेपालमाथि आक्रमण गरेका थिए ।
फ्रान्सेली इतिहासकार सिल्वियन लेबीका अनुसार नान्यदेव पहिला पहिला चालुक्य राजाका सेनापतिका रूपमा कार्यरत थिएपछि चालुक्य राजाको शक्ति क्षीण हुंदै गएपछि आफ्नो क्षेत्रलाई सार्वभौम बनाए ।
तिब्बति भिक्षु धर्मस्वामीको सिम्रौनगढ भ्रमण
सिम्रौनगढ राज्य विध्वंश हुनुभन्दा अगाडिका विवरणहरूमध्ये तिब्बती भिक्षु धर्मस्वामीले आफ्नो जीवनीमा यस राज्यबारे निकै विस्तृतमा चित्रण गरेका छन् । धर्मस्वामीले सन् १२३६ मा तीरहूत यात्राको क्रममा सिम्रौनगढ भ्रमण गरेका थिए ।
तीरभुक्ति वा तीरहुतमाथि त्यति बेला रामसिंह देवको शासन थियो र वहाँले धर्मस्वामीलाई आफ्नो दरबारमा स्वागत गरेका थिए । धर्मस्वामी तीरहुतको यात्राको दौरान बिरामी परेका थिए । तसर्थ सिम्रौनगढ़मा उनको बसाई निकै लामो रह्यो । सञ्चो भइसकेपछि उनलाई महाराजा रामसिंहले आफ्नो राजपुरोहित बन्न आग्रह गरे । तर, धर्मस्वामीले शिष्टतापूर्वक अस्वीकार गर्दै आफू तिब्बत फर्किन चाहेको कुरा राखे । महाराजा रामसिंहले उनलाई सुन र यात्राका लागि आवश्यक अरू सामग्री दिएर बिदा गरे ।
धर्मस्वामीले आफ्नो जीवनीमा लेखेअनुसार त्यो बेला तीरहुतमा तुर्क आक्रमणकारीहरूको त्रास छाएको थियो । यस खतरालाई मध्यनजर गर्दै सिम्रौनगढको चक्रव्यूहाकार किल्लाबन्दीलाई महाराजाद्वारा अझ मजबूत गरिँदै थियो ।
सिम्रौनगढका विद्वानहरू
सिम्रौनगढ विदेह र तिरहूत क्षेत्रमा विद्वत कामको केन्द्र रहेको थियो । महाराजाहरूले विद्वानहरूको समूहलाई आफ्ना सल्लाहकारको रूपमा राख्दथे र प्रधानमंत्री समेत प्रसिद्ध विद्वानहरू मध्येलाई नै बनाइन्थ्यो । कर्नाटकालका केही महान विद्वानहरू यसप्रकार थिए– चण्डेश्वर ठाकुर, ज्योतिरिश्वर ठाकुर, वाचस्पति मिश्र, देवादित्य, कर्मादित्य, रामदत्त, इत्यादि ।
यहाँसम्म कि कवि कोकिल विद्यापतिसमेत सिम्रौनगढका प्रतिष्ठित विद्वानहरूकै परिवारका सदस्य थिये । कर्नाटकालका समयमा रचना गरिएका केहि महत्वपूर्ण कृतिहरू मध्ये चण्डेश्वर ठाकुरका विभिन्न अष्ट रत्नाकर पर्दछन् राजनीति रत्नाकर, कृत्य रत्नाकर, गृहस्थ रत्नाकर, शुद्धि रत्नाकर, दान रत्नाकर, पूजा रत्नाकर, व्यवहार रत्नाकर र विवाद रत्नाकर ।
यसबाहेक ज्योतिरिश्वर ठाकुरद्वारा मधेसको क्षेत्रीय भाषामा रचित प्रौढग्रन्थ वर्ण रत्नाकरसमेत सिम्रौनगढमै लेखिएको थियो । यी कृतिहरूले राजा–महाराजा तथा साधारण जनताका दैनिक काम कर्तव्यका विभिन्न आयामहरू बारे चर्चा गर्दछन् ।
उपत्यकाका मल्ल र भारतसँग कर्णाटवंशीको सम्बन्ध
नेवाः इतिहासकार शिवराज श्रेष्ठका अनुसार १७ औं शताब्दीका काठमाण्डौ उपत्यकाका मल्ल राजाहरू विशेष गरी प्रताप मल्ल र जगज्योति मल्लले आफ्ना लेखहरूमा नान्य देवलाई ‘प्रधान पूर्वपुरुष’ भनी उच्च सम्मानका साथ सम्बोधन गरेका छन् । उनका अनुसार कर्णाट राजाहरूले अत्यन्तै प्रबुद्ध र सार्वजनिक कल्याण अभिमुखित धर्म विकसित गरेका थिए । यसले सकारात्मक र गतिशील सामाजिक राजनीतिक संस्कृतिलाई संस्थागत बनायो । यस संस्कृतिलाई पछि नेवाः मल्ल राजाहरुले थप पोषित गरेका थिए, जुन मध्ययुगीन क्रुर राजनैतिक संस्कृतिको तुलनामा अधिक सहिष्णु, तर्कसंगत, उदारवादी, समान र सामाजिक न्यायमा आधारित थियो ।
नेपालका मल्लहरूले स्वयंलाई ‘रघुवंशी’ घोषित गरेका थिए । रघुवंशीहरूको कूलदेवी तुलजा (तलेजु) भवानीलाई आफ्नै ‘कूल देवी’ को रूपमा पूजा गरे र कर्णाट रघुवंशी नान्यदेवको ‘मान्डव गोत्र’ लाई अपनाएका थिए ।
अर्का इतिहासकार लिला भक्ति मुनस्कर्मीले स्पष्ट पारेका छन् कि नान्यदेव द्वारा पूजा गरिने गरियेकी ‘देवीमजु’ वस्तुतः तुलजा (तलेजु) नै थिइन् र उनी लिच्छवीहरूकी कुलदेवी ‘मानेश्वरी’ भन्दा पृथक थिइन् ।
‘तलेजु भवानी’ दक्षिण भारतीय राजवंशहरुकी कुल देवी हुन, विशेषतः कर्नाटक शासकहरूकी यस देवीलाई ‘तुलाजा भवानी’ समेत भनिन्छ र यसका विभिन्न अन्य नामहरु जस्तै ( तुलजा, तुरजा, त्वरिता र अम्बा पनि रहेका छन् ।
हरिसिंह देव पहाडतिर उक्लेपछि उनकी पत्नी देवल देवीले आफ्ना छोरा जगतसिंह देवलाई भक्तपुरका मल्ल राजा रुद्र मल्लकी विधवा छोरीसंग विवाह गरिदिइन् । जगतसिंह देवकी छोरीको विवाह तीरहुतका जयस्थिति मल्लसंग भयो, तत्पश्चात उनीहरू भक्तिपुरका शिर्षक बन्न पुगे ।
सिम्रौनगढको किल्लाबन्दी– एउटा भूलभुलैया
सिम्रौनगढमा एउटा भूलभुलैया वा चक्रव्यूह प्रकारको किल्लाबारे भक्तपुर दरबारमा रहेको एउटा ढुंगामा खोपिएको छ, र भक्तपुरका मल्ल राजाहरुले जारी गरेको सिक्कामा संरचनाको छाप लगाइन्थ्यो ।
इटालियन पादरी क्यासियानोले (सन् १७०८–१७९१) आफ्नो नेपाल र तिब्बत भ्रमणका बेला सिम्रौनगढ भ्रमण गरेका थिए । उनले सिम्रौनगढको भूलभुलैयाका र संरचनालाई उच्चकोटिको परिष्कÞृत संरचनाको रूपमा वर्णन गरेका छन् र त्यसको रेखाचित्र स्केच पनि लुसियानो पिटेकद्वारा उल्था गर्दा छापिएको हो ।
हा‘जसनले १८३५ तिर भ्रमण गर्दाखेरि पूर्वतिर सातवटा र पश्चिमतिर चारवटा पर्खाल रहेको समेत वर्णन गरेका हुन, सम्भवतः तिनै पर्खालहरूको प्रयोग चक्रव्यूहाकार संरचना बनाउन प्रयोग गरिएको थियो होला ।
सिम्रौनगढ विकास कसरी गर्ने ?
वि.सं.०४७ साल माघ र फागुन महिनातिर, र ०४८ सालमा पनि माघ र फागुनतिर इटालियन टीमद्वारा भएको उत्खननको रिपोर्टमा सिम्रौनगढमा चार वटा कालखण्डको मानव वस्तीको पुरावशेष भेटिएको थियो । उनीहरूको रिपोर्ट अनुसार यस क्षेत्रको इतिहास गुप्ताकालसम्म गएको, अर्थात आजभन्दा १८०० वर्ष अगाडिसम्म गएको भनिएको छ । यस हिसाबले यस्तो महत्वपूर्ण र प्राचीन शहर रहेको प्रष्ट प्रमाणयुक्त भएको सम्पदा क्षेत्रका गाँउले र राजनीतिकर्मीहरू वर्तमानको सय वर्ष मात्र पुरानो रानीवास ‘मन्दिर’ मा खुम्चिनु र त्यसलाई मात्र आफ्नो संस्कृतिक दर्पण बनाएर त्यस्को मुनि नहेरिकन मर्मत गर्न खोज्नु ठूलो दुर्भाग्य हो ।
पछिल्लो ४०/५० वर्षदेखि सरकारको प्राथमिकताको केन्द्र लुम्बिनी र त्यसका वरपरका बुद्धिष्ट साइटहरूको उत्खनन र विकास गर्नेतिर रह्यो। यसलाई अन्यथा मान्न मिल्दैन किनभने लुम्बिनी प्राथमिकतामा पर्नुपर्ने ठाउँमध्येकै एक हो । तर, अब लुम्बिनी र वरपरका बुद्धिष्ट साइटहरू एडभान्स चरणमा पुगिसकेका छन् । र, थप ठूला साइट अथवा त्यहाँबाट ठूलो पुरातात्विक खोज हुने सम्भावना कम हुँदै गएको छ । अब त्यसको प्रचार–प्रसार मात्रै गरे पनि पुग्छ । अब देशका प्रमुख पुरातत्वविदहरूलाई विभागले सिम्रौनगढ़तिर उत्खनन र खोज गर्न प्रोत्साहित गर्नुपर्छ ।
पछिल्लो रानीवास मर्मत घटनाबाट हामीले के सिकेका छौं कि लुम्बिनीमा बनाएजस्तो एउटा वृहत मास्टर प्लान सिम्रौनगढका लागि पनि बन्नुपर्छ । त्यसो नभएसम्म पुरातत्व विभाग, नगरपालिका, शहरी विकास मंत्रालय र अरु निकायहरूबीच समन्वय हुन सक्दैन ।
सबै निकायले छुट्टाछुट्टै मास्टर प्लान बनाएर हुँदैन । पुरातत्व विभागकै नेतृत्वमा सबै सरोकारवाला निकायहरूले सिम्रौनगढमा एक भएर काम गर्नुपर्ने छ । तर, अहिलेसम्म नत कुनै समन्वय भएको छ, न समन्वय गर्नका लागि संरचना बनेका छन् । पुरातत्व विभागले नै विस्तृत अध्ययन र सर्भे नै नगरी सिम्रौनगढमा संरचना निर्माणको लागि बजेट निकासा गर्नु अक्षम्य भूल हो ।
छिटोभन्दा छिटो विज्ञहरू झिकाएर सिम्रौनगढमा जिपिआर सर्भे गराएर पुरातात्विक दृष्टिकोणले अति संवेदनशील, संवेदनशील, र गैर पुरातात्विक क्षेत्रहरूको वर्गीकरण गर्नुपर्छ, र संवेदनशील क्षेत्रहरूलाई मन्त्रीस्तरीय निर्णय गराई संरक्षित क्षेत्र घोषणा गर्नुपर्छ ।
कृषि सुपरजोन अन्तर्गत ‘बाही’ अथवा किल्लाबन्दी क्षेत्रभित्र तुरुन्त पोखरी खन्ने कार्यमाथि रोक्का लगाउनुपर्छ । यस्ता मूलभूत निर्णय गरिसकेपछि सिम्रौनगढ क्षेत्रका जनतामा विस्तारै सम्पदा संरक्षणको संस्कार विकास गर्ने नीति अबलम्बन गनुपर्ने देखिन्छ ।
यदि कुनै बस्ती संवेदनशील ठाउँमै परेका छन् भने त्यसलाई अन्यत्र सार्ने योजना समेत वृहत गुरुयोजना अन्तर्गत राख्नुपर्दछ ।
वृहत गुरूयोजना बनाउने कार्य नगरपालिकाले गर्न चाहेको भएपनि उससंग पर्याप्त विज्ञ, साधन, र अनुभवको खाँचो देखिन्छ । पुरातत्वविद तारानन्द मिश्रले वृहत गुरू योजनाको लागि प्रारम्भिक अध्ययन गर्न आएकै शिलशिलामा रानीवास पुरातात्विक क्षेत्रमा डोजरले विध्वंश मच्चाएको पाउनु पहिलो गाँसमै ढुंगा परेको जस्तो भएको छ ।
तसर्थ पुरातत्व विभागलेनै यस्तो भीमकाय अध्ययनको थालनी गर्नुपर्दछ । विभागसंग लुम्बिनिमा केन्जो टांगेको टीमले गरेको अध्ययनको अनुभव समेत छ । यस्तो गरेमात्र सिम्रौनगढलाई विश्व सम्पदामा समावेश गराउन सकिन्छ र देशले अन्तराष्ट्रिय रूपमै सम्पदा संरक्षणको क्षेत्रमा एउटा अर्को फड्को पार गर्नेछ ।
(लेखक साह समाजशास्त्री हुन् । उनी पछिल्लो समय सिम्रौनगढबारे शोधकार्यमा लागेका छन्)