प्रदेश २ मा धार्मिक, ऐतिहासिक महत्त्व बोकेका १० पर्यटकीय गन्तव्य

रोहित महतो
जनकपुरधाम ।
सरकारले काठमाडौंको दशरथ रङ्गशालामा आयोजित भव्य समारोहबीच नेपाल भ्रमण वर्ष २०२० को औपचारिक सुरूआत गरेको छ। यस वर्ष विभिन्न मुलुकबाट २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य छ। तर, प्रदेश २ सरकारले प्रदेश २ मा मात्र २० लाख बढी पर्यटक भित्र्याउन सकिने बताउँदै आएको छ।

बेवास्ताका कारण आझेलमा परेका पर्यटकीय गन्तव्यलाई प्रचारप्रसार तथा लगानी गरे समृद्धि तथा जीवनयापनसँग जोड्न सकिने भन्दै प्रदेश सरकारलेसमेत पर्यटन वर्षको तयारी थालेको छ। प्रदेश २ मा धार्मिक, ऐतिहासिक महत्त्व बोकेका दर्जनौं पर्यटकीय गन्तव्य रहेका छन्।

१) पर्सा राष्ट्रिय निकुञ्ज

प्रदेश २ को पर्सा, बारा र मकवानपुर जिल्लामा फैलिएको पर्सा राष्ट्रिय निकुञ्ज नेपालकै सबैभन्दा कान्छो निकुञ्ज हो। यहाँका रमणीय तालतलैया, जङ्गल र दुर्लभ जीवजन्तुको आकर्षणले निकुञ्ज पर्यटकीय गन्तव्यको रूपमा विकास हुँदै गएको छ।

आरक्ष क्षेत्र मात्र रहेको यसलाई राष्ट्रिय निकुञ्जमा परिणत गरिएपछि यहाँ स्वदेशी तथा विदेशी पर्यटकलाई अवलोकन र घुमफिरका लागि खुला गरिएको छ।

६ सय २७ वर्ग किलोमिटरमा फैलिएको यो निकुञ्जको पूर्वमा धार्मिक रतनपुरी जङ्गल, पश्चिम चितवन राष्ट्रिय निकुञ्जको सिकारीबास, उत्तरमा बफर जोन र दक्षिणमा पुरानो निर्मलबस्ती सुवर्णपुर पर्छ।

निकुञ्जभित्र रहेका ऐतिहासिक तथा प्राचीन माया मन्दिर, दुग्धेश्वर महादेव मन्दिरमा दर्शनार्थीको भीडभाड हुन्छ। निकुञ्जभित्र कामिनी दह, हलखोरिया दह र लौकी दह गरी तीन वटा प्राकृतिक मनोरम ताल रहेका छन्।

यसका साथै निकुञ्जभित्र दुर्लभ वन्यजन्तु र चराचुरूङ्गी अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन्। यहाँ दुर्लभ वन्यजन्तु पाटे बाघ, रैथाने हात्ती, एकसिङ्गे गैंडा, भालु, रतुवा मृग, चित्तल, जरायो, बँदेल, नील गाई, गौरीगाईलगायत जनावर छन्। यहाँ झण्डै तीन सय प्रजातिका चराचुरूङ्गी पाइन्छ।

पर्यटकहरूको अवलोकन र घुमफिरका लागि निकुन्जको जङ्गलभित्र पर्ने प्रतापपुर, पर्साको रातोटे र रामभौरी भाथा, बाराको हलखोरियामा गरी एक दर्जन भ्यु टावर बनाइएको छ। यसैगरी पर्यटकलाई जङ्गल सफारी गर्न निकुञ्जको हात्तीसारमा एक दर्जन हात्ती राखिएका छन्।

निकुञ्जभित्र फायरलाइन पनि भएकाले हात्तीको जङ्गल सफारी गर्न नचाहने पर्यटकले आफ्नो निजी सवारीमा जङ्गल सफारी गर्न सक्ने व्यवस्था मिलाइएको छ। राष्ट्रिय निकुञ्जभित्र निर्माण गरिएका रिसोर्टले पर्यटकलाई झनै आकर्षित गरेको छ। यसका वरिपरि करोडौं रूपैयाँ लगानीमा नयाँ रिसोर्ट तथा होटल निर्माण हुने क्रममा रहेका छन्।

२) गढीमाई मन्दिर

बारा जिल्लाको महागढीमाई नगरपालिका–१ बरियारपुरमा अवस्थित गढीमाई मन्दिर तराईकै प्रमुख शक्तिपीठ हो। प्रत्येक पाँच वर्षमा लाग्ने विश्वप्रपसिद्ध गढिमाई मेलामा लाखौं श्रद्धालु पुग्ने गरेका छन्।

मार्ग शुक्ल सप्तमीदेखि आरम्भ हुने एक महिने मेलामा नेपाल, भारत, भुटानलगायतका देशबाट यहाँ करिब ४० लाख भक्तजन तथा दर्शनार्थी पुग्ने गरेका छन्। मेलामा भाकल गर्नेको मनोकामना पूरा हुने विश्वासमा लाखौं पशुपक्षीको बलि दिइन्छ।

खुला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूलरूपी तीन ताप आध्यात्मिक, आदिर्देविक र आदिभौक्तिक नाश हुन्छन् भन्ने जनविश्वास छ। त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर पनि देख्न सकिन्छ। मन्दिरबाट पूर्व-दक्षिणतिर पीपलबोटसँगै ब्रम्हाको स्थान पनि हेर्नलायक छ।

पूर्वतिर रहेका ब्रम्हास्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्मको पूजा गरिसकेपछि अरूका लागि दर्शन खुला गरिन्छ। यहाँ गढीमाईको पूजाआजा गर्दा कङ्कालीमाई, जाखिनमाई, भक्तिमाई कटबासीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिकोसमेत पूजा गरिन्छ।

३) नूनथर

चुरे पहाडको दक्षिणमा हरियो वनजङ्गलबीच अवस्थित नूनथरको सुन्दर प्राकृतिक दृश्यले जोकोहीको मन लोभ्याउँछ। बागमती किनारमा अवस्थित याे ठाउँ स्वच्छ वातावरण र हावापानीका लागि प्रसिद्ध छ। राैतहट जिल्लामा पर्ने यस स्थान राैतहट, सर्लाही, सिन्धुली र मकवानपुरको सङ्गमस्थल पनि हाे। रमणीय दृश्य, धार्मिक विशेषता र डुङ्गाको सयरले बाग्मती नदीको किनारमा रहेको यो ठाउँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ।

किम्वदन्तीअनुसार यस क्षेत्रको पानी नुनिलो हुने र यसले चर्मरोग निको हुने जनविश्वास छ। नूनथरको पश्चिम उत्तरको कुनामा रहेको अग्लो रामचुवा डाँडाबाट सूर्योदय तथा साँझको सूर्यास्तको आकर्षक दृश्य अवलोकन गर्न सकिन्छ। रमणीय दृश्य अवलोकनकै लागि यहाँ दिनानुदिन पर्यटकको सङ्ख्या बढिरहेको छ।

त्यहीँनजिक जङ्गबहादुर राणाले स्थापना गरेका पौराइ ब्रह्मस्थान पनि छ।

४) जलेश्वरनाथ
महोत्तरीको जलेश्वर नगरपालिकास्थित जलेश्वरनाथ महादेव विश्वकै एकमात्र जलभित्र विराजमान शिव महालिङ्ग मानिन्छ।

हिन्दु धर्मालवम्बीहरूको आस्थाको केन्द्र रहेको यहाँ स्वयम् अनादी शक्ति स्वयम्भूका रूपमा रहेको पश्चिम भागमा अर्धचन्द्राकार चिन्हअङ्कित शिव लिङ्गमा सर्वसिद्धी प्रदान गर्ने शक्ति रहेको मान्यता छ। मन्दिरभित्रको जलगुफामा १२ देखि १५ फिट जलभित्र शिवलिङ्ग स्थापित छ।

मन्दिरबारे विशेष जानकारी राख्ने प्रबुद्ध वर्गले वर्षौं पहिले मोटर र विभिन्न उपकरण लगाई गुफाको जल निकाल्ने प्रयास गरे पनि ती प्रयास असफल भएपछि नेपाली सेनाको सहयोगमा बाल्टीले नै जल निकालेर शिवलिङ्गको दर्शन गर्न थालिएको छ।

प्रत्येक महिनाको पहिलो र तेस्रो सोमबार एक पटकलाई गुफाको जल निकालिँदै आइएको छ भने महाशिवरात्रीको दिन लाखौं दर्शनार्थीले शिवलिङ्ग दर्शन गर्ने गरी गुफाको जल निकालिने गरिएको छ।

केही शिवभक्तले गुफाभित्र प्रवेश गरी शिवलिङ्ग दर्शन गर्न जाँदा जलमा खुट्टा लाग्ने र त्यसले शिवको अपमान हुने भन्दै गुफाभित्रै प्रवेश गरेर दर्शन गर्ने गरेका छैनन्। जलेश्वरनाथ मन्दिरसँगै यहाँ धार्मिक महत्त्व बोकेको वरुण सर, पुरन्द सर, पूर्णि सर र महन्थ पोखरी रहेका छन्।

५) जानकी मन्दिर
प्राचीन सहर जनकपुरमा अवस्थित विश्वप्रसिद्ध जानकी मन्दिर नौलखा मन्दिरको नामलेसमेत चिनिन्छ। विश्वभरका हिन्दूको आस्थाको केन्द्र रहेको जानकी मन्दिरमा त्रेता युगमा भगवान राम र सीताको विवाह भएको मानिन्छ।

जनकपुरधामको मध्य भागमा मुगल शैलीमा निर्मित जानकी मन्दिर मानव सिर्जनाको उत्कृष्ट नमुना मानिन्छ। भारत मध्य प्रदेशस्थित टिकमगढकी राजकुमारी वृषभानु कुँवरीले ९ लाख चाँदीका असर्फी खर्चेर निर्माण गराएको भएकाले यसलाई नौलखा मन्दिर पनि भनिन्छ। मन्दिरको वार्षिक क्यालेन्डरअनुसार यहाँ जन्मदेखि मृत्युसम्म प्रायः सम्पूर्ण क्रियाकलाप मिथिला विधिअनुरूप हुने गरेको छ।

रामको जन्म दिनको अवसरमा हरेक चैतमा रामनवमी, वैशाखमा जानकी नवमी, मङ्सिरमा रामजानकी विवाह महोत्सव, असोज पूर्णिमामा कोजाग्रत, साउन-भदौमा झुला, फागुनमा परिक्रमा मनाइन्छ। विवाह महोत्सवमा मात्र बर्सेनि करिब १० लाख दर्शनार्थी आउने गरेका छन्।

मन्दिरको बुर्जा, गुम्बज, गर्भगृह, सुनौला गजुर, फराकिलो सफा परिसर र कलात्मक प्रवेशद्वार भएको जानकी मन्दिरलाई सरकारले विश्व सम्पदा सूचीमा सूचीकृत गराउन प्रयास गरिरहेको बताउँदै आएको छ। जानकी मन्दिर परिसरमै लक्ष्मण मन्दिर छ। यसका साथै यहाँ राम मन्दिर, राजदेवी मन्दिर, मणिमण्डप, जनक मन्दिर, गङ्गा सागर, धनुष सागर, अगर्ज सागर, मणि मण्डप, अग्निकुण्ड तथा शिव मन्दिर यहाँका महत्त्वपूर्ण धार्मिक पर्यटनस्थल हुन्।

६) धनुषाधाम

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामबाट १५ किलोमिटर दूरीमा रहेको धनुषाधाममा रहेको धनुष मन्दिर पर्यटकीय दृष्टिले महत्त्वपूर्ण स्थल हो। यही मन्दिरका कारण यस क्षेत्रको नाम धनुषाधाम र जिल्लाको नाम धनुषा राखिएको मान्यता छ।

त्रेतायुगको इतिहास बोकेको धनुष मन्दिर दर्शनका लागि नेपाल भारतका विभिन्न ठाउँबाट दर्शनार्थी पुग्ने गर्छन्। त्रेतायुगमा भगवान रामले सीता स्वयम्वरमा भगवान शिवको धनुष तोडेका थिए।

भगवान शिवको पिनाक धनुषमा भगवान रामले प्रत्यंचा चढाउन खोजेपछि तीन टुक्रा भएको मान्यता छ। त्यसमध्ये एक टुक्रा आकाशमा, एक टुक्रा पातलमा र एक टुक्रा पृथ्वीमा झरेको वाल्मिकी रामायणमा उल्लेख छ। पृथ्वीमा पिनाक धनुषको टुक्रा झरेको स्थल हो धनुषाधाम।

सुरुमा खुला आकाशमै रहेको धनुषको टुक्रा झरेको स्थलले एक दशकअघि मात्रै मन्दिरको स्वरूप प्राप्त गरेको मन्दिरका महन्थ भरत दासको भनाइ छ। धनुष झरेको स्थलमा कालो सिमेन्टझै ढुङ्गा झरेको देखिन्छ। धनुषको टुक्रा दिनानुदिन बढ्दै गएको छ। सुरुमा सानै आकार रहेको उक्त टुक्रा अहिले करिब सय मिटरसम्म फैलिसकेको छ।

टुक्रा किन फैलिरहेको छ भन्ने अहिले पनि रहस्यमय छ। कालो ढुङ्गाजस्तै देखिने त्यो टुक्रा के हो भन्ने पुष्टि अहिलेसम्म वैज्ञानिकले गर्न सकेका छैनन्। त्यो टुक्रा न ढुङ्गा, न काठ वा न कुनै धातु नै रहेको अनुसन्धानबाट खुलेको थियो।

७) बाबा ताल

पूर्व-पश्चिम राजमार्गस्थित सिराहाको बन्दिरपुरबाट दुई किलोमिटर उत्तरतर्फ कर्जन्हा नगरपालिका-२ मा अवस्थित छ बाबा ताल। हरियो जङ्गलको मनोरम दृष्य देखिने बाबा ताल किनारमै मोक्षश्वर महादेव मन्दिर छ।

सुन्दर र शान्त देखिने बाबा तालमा दिनभरी आन्तरिक तथा बाहिरी पर्यटकको ओइरो लागेको हुन्छ। पर्यटकहरू दिनभरी रमाउँदै तालमा डुङ्गा सयर गरिरहेका हुन्छन्। वनबाट आउने कुहु… कुहु… कोइलीको कोकिल आवाजले पर्यटक मोहित हुन्छन्। तालनजिकैको वनमा मिठो स्वरमा गुन्जिदै गरेका विभिन्न जातका रङ्गीचङ्गी चराचुरूङ्गीले पर्यटकको ध्यान तानेको हुन्छ। सामुदायिक वनको मुहारमा रहेको बाबा तालमा भ्यु टावर निर्माण कार्य अन्तिम चरणमा छ।

८) सल्हेस फूलबारी

सिरहाको लहान नगरपालिका–१२ स्थित लहान बजारदेखि चार किलोमिटर पश्चिम-दक्षिणमा ९ बिघा क्षेत्रफलमा फैलिएको छ- सलहेस फूलबारी। फूलबारीको मध्यभागमा रहेको दुइ वटा हारमको रूखमा वर्षको एकपटक वैशाख १ गते मात्र फूल फुल्ने र साँझ ओइलिएर जाने गर्छन्। यो अनौठो फुल्ने फूलबारीमा राजा सलहेश फूल टिप्न जान्थे भन्ने किम्वदन्ती रहेको छ। यहाँ पूजाअर्चना गरे मनोकांक्षा पूरा हुने विश्वास गरिन्छ।

सहलेशलाई उनकी प्रेमीका कुशमा मालिनीले हरेक दिन त्यहाँ फूलको माला अर्पण गर्थिन् भन्ने मान्यता छ। त्यही प्रेमको प्रतीकका रूपमा आज पनि त्यहाँ फूल फुलेको जनविश्वास छ।

बेलुकासम्म यो फूल आफैं ओइलाउँदै जान्छ। प्रतापी राजा सहलेशको सौर्य, पराक्रम, वीरता, साहस र प्रेमसँग गाँसिएका गाथाहरूको सम्झनास्वरूप प्रत्येक वैशाख १ गते यहाँ परम्परागत मेला लाग्ने गर्छ। मेला हेर्न लाखौँ दर्शनार्थीको भीड हुन्छ। फूल फुल्ने स्थान र राजा सलहेश तथा उनकी प्रेमीका मालिनीको मन्दिर र मूर्तिहरू विशेष रूपले सजाइएको छ।

९) कोशी टप्पु वन्यजन्तु आरक्ष

प्रदेश २ को पूर्वी जिल्ला सप्तरी, सुनसरी र उदयपुर जिल्लाको १ सय ७५ वर्ग किलोमिटरमा फैलिएको कोशी टप्पु वन्यजन्तु आरक्ष अर्नाका लागि विशेष मानिन्छ। कोशी टप्पु अर्नाबाहेक चराको लागि पनि चर्चित छ।

यहाँ ४ सय ९० प्रजातिका चरा पाइन्छन्। जलचरहरूमा घडियाल तथा मगरगोही, सोंस र विभिन्न किसिमका माछाहरू यस आरक्षका विशेषता हुन्।

६८ प्रतिशत घाँसेमैदान भएको यो क्षेत्रमा ५ सय १४ प्रजातिका वनस्पति, २ सय प्रजातिका माछा र ३१ प्रजातिका वन्यजन्तु पाइन्छ। कोशी नदीको बालुवाबाट बनेको टापु भएकाले ‘कोशी टप्पु’ नाम पाएको यो आरक्षको संस्थापना २०३२ सालमा भएको हो। जैविक विविधताको क्षेत्रमा ‘चराको स्वर्ग’ र ‘अर्नाको राजधानी’ उपमा पाएको यो आरक्ष स्थानीय संस्कृति, आतिथ्यताका लागि पनि चर्चित छ।

१०) कङ्कालिनी मन्दिर

कङ्कालिनी मन्दिर सप्तरी जिल्लाको राजविराजदेखि २३ किलोमिटर पूर्वी क्षेत्र हनुमाननगर कङ्कालिनी नगरपालिकामा अवस्थित छ। नेपाली प्यागोडा शैलीमा निर्माण गरिएको यो मन्दिर भव्य र सुन्दर देखिन्छ।

मन्दिरमा पाँच स्तरको छाना रहेको छ। भाकल पूरा हुने गरेको भन्दै मन्दिरमा दिनहुँ नेपाल तथा भारतका भक्तजनको घुँइचो लागेको हुन्छ। कङ्कालिनी मन्दिरमा दसैंमा ठूलो मेला लाग्ने गरेको छ।

ऐतिहासिक किम्वदन्तीअनुसार भारदहमा मानव बस्ती बसाल्ने क्रममा जग्गा खन्दा गर्दा दुर्गाको ढुङ्गे प्रतिमा फेला परेको थियो। त्यसै प्रतिमालाई मन्दिरमा स्थापना गरेर स्थानीयले पुजा सुरू गरेका थिए। त्यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरू बोका, भेँडा, परेवा, हाँस, माछा आदि बलि दिनका लागि दिनहुँ घुइँचो लाग्ने गरेका छन्। मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन्। बर्सेनि ३० हजारभन्दा बढी पशुको बलि हुने गरेको बताइन्छ।

नेपालन्युज

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here