जनतालाई राहत दिनुका साट्टा विलासी गाडी किन्न टेण्डर

सुजीतकुमार झा

जनकपुरधाम । विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरसको जोखिम न्यून गर्ने सरकारले लकडाउन लागू गरेका बेला स्थानीय तह जनतालाई राहत दिनुका साट्टा विलासी गाडी किन्न टेण्डर निकालेका छन् । धनुषाको हंसपुर नगरपालिकाले करिब १ करोड मूल्यको सवारी साधन किन्नका लागि बिहीबार टेन्डर आह्वान गरेको छ ।

जनकपुरधामबाट प्रकाशित हुने एक ब्रोडसिट पत्रिकामा टेन्डर छापिएपछि स्थानीय आश्चर्यमा परेका छन् । स्थानीय सरकारको विलासिता उदाङ्गो भएको स्थानीय एक बुद्धिजीविको प्रतिक्रिया रहेको छ । कोरोनाजस्तो विश्वव्यापी महामारीको बेला नगरभित्रका गरिब, दलित र अभाव भएका भोकले छटपटाइ रहेका बेला नगरपालिकाले गैरजिम्मेवार तरिकाले टेन्डर आह्वान गरेपछि विरोध भएको छ । सो नगरपालिकामा नगरपालिकाको तर्फबाट राहतको कुनै कार्यक्रम अहिलेसम्म बढाइएको छैन । नगरपालिकाले यसअघि पनि महँगो मूल्य पर्ने एउटा गाडी किनिसकेको छ ।

मेयर-उपमेयर बीचको विवादका कारण गत १ वर्षदेखि नगरपालिकाको विकास कार्य प्रभावित हुँदै आएको छ । मेयर र उपमेयर एउटै पार्टी राजपाबाट रहे पनि उनीहरूको विवादका कारण करिव १ वर्ष नै विना काम समय व्यतित भयो । नगरपालिकामा झडप, हवाई फायरसहित १ जनाको ज्यानसमेत गएपछि मेयर र उपमेयर फरार हुनुपर्नेसम्मको अवस्थाको सिर्जना उत्पन्न भयो ।

अहिले भने संकटाका बेला विलासी गाडी किन्ट टेन्डर आह्वान गरेर नगरपालिका विवादमा तानिएको छ । मेयर रामज्ञान मण्डलले विज्ञापनप्रति पहिले अनभिज्ञता प्रकट गरे । उनले यस्तो बेला आफूहरूले टेन्डर निकाल्ने कुनै निर्णय नगरेको बताए । यद्यपि कामकारबाहीका लागि सवारी साधन आवयश्क रहेकाले लेखाशाखाले निकालेको हुन सक्ने उनको भनाइ छ ।

यो समय गाडी किन्ने हो कि जनता र नगरवासीको दुःख र समस्या हेर्ने हो भन्ने प्रश्नमा मेयर मण्डलले अहिलेको अवस्थामा टेन्डर निकालेर केही भूल भएको स्वीकार गरेका छन् । सवारी साधन किन्न नै नमिल्ने समयमा टेन्डर आह्वान गरेपछि नगर कार्यपालिकाको चर्को विरोध भइरहेको छ । विपक्षी दलका नेताहरू मेयरसहित कार्यपालिकाले यस्तो वेला विलासिताका लागि सवारी साधनको टेन्डर निकालेर जनताको भावनासँग खेलबाड गरेको आरोप लगाएको छ ।

प्रमुख प्रशासकिय अधिकृत उमेशकुमार यादवलाई प्रश्न गर्दा उनले नगरसभाकै निर्णयअनुसार टेन्डर गरिएको बताउँदै समय उपयुक्त नभए पनि टेन्डरको समयावधी एक महिनाको हुने र लकडाउनको समय त्योभन्दा बढी लम्बिए पुनः टेन्डरको समय थप्ने बताए । अधिकृत यादवले टेन्डर समय सान्दिर्भिक नभएको बताउँदै अब टेन्डर खारेज गरे पुन: पत्रिकामा पैसा खर्च गरि विज्ञापन निकाल्नु पर्ने र त्यसले झनै अविश्वास बढने भन्दै लकडाउन रहुञ्जेलसम्म कुनै प्रक्रिया अगाडि नबढने बताए ।

मेयर मण्डलले लेखा परीक्षकको कार्यालयबाट एउटा परिपत्र आए पनि अहिलेको समयमा टेन्डर गर्न नमिल्ने किसिमको परिपत्र र निर्णय नभएकाले यस्तो गरिएको हुन सक्ने बताए । यद्यपि उनले पनि हतार भएको स्वीकार गरेका छन् ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here