२७ बैशाख, काठमाडौँ । नेपालमा रहेका सबै चिनियाँ नागरिकले नेपालको कानून र नियमको कडाइकासाथ पालना गर्नुपर्ने काठमाडौँस्थित चिनियाँ दूताबासले जनाएको छ । सिंहदरबारको निषेधित क्षेत्रमा प्रदर्शन तथा प्रहरीसँगको झडपका क्रममा शुक्रबार अपरान्ह् पक्राउ परेका चिनियाँ नागरिकका सम्बन्धमा पत्रकारको प्रश्नको जवाफ दिदैँ दूताबासका प्रवक्ताले उत्पन्न समस्या समाधान गर्न नेपाल प्रहरी र चिनियाँ दूताबासबीच राम्रोसँग परामर्श र सहकार्य भएको बताएका हुन् ।
नेपालमा रहेका चिनियाँ नागरिकले नेपालको कानून र नियमको अधिनमा रही ब्यवहारिक र उचित माग राख्न सक्ने उल्लेख गर्दै यहाँको कानून र नियम अनिवार्यरुपमा पालना गर्न चिनियाँ पक्षले उनीहरुका नागरिकलाई आग्रह गर्दै आइरहेको दैनिकीलाई प्राप्त प्रवक्ताको प्रश्नोत्तर नोटमा उल्लेख छ ।
कोभिड १९को महामारीको सन्दर्भमा नेपाल सरकारले लागूगरेको लकडाउनको मापदण्ड पालना गरि सहयोग गर्न, अनावश्यकरुमा बाहिर नजान र रद्ध भएको उडान खुलिन्जेलसम्म धैर्यताका साथ पर्खन उसका नागरिकलाई पटक पटक अनुरोध गरिसकेको पनि दूताबासले स्पष्ट पारेको छ । नेपाल सरकारका विभिन्न निकायसँगको सहकार्यमा चीनले ३ सय ४० नागरिकको विशेष विमानबाट उद्धार गरिसकेको तर सिमित उडानका कारण अझ धेरै चिनियाँहरु नेपालमा अड्किएको उल्लेख गरिएको छ ।
चिनियाँलाई घर फिर्ता गर्ने क्रममा सहयोग गर्ने परराष्ट्र मन्त्रालय, नागरिक उड्ययन प्राधिकरण, पर्यटन विभाग, अध्यागमन विभाग, भन्सार, नेपाल प्रहरीलगायत सबैलाई चिनियाँ दूताबासले आभार ब्यक्त गरेको छ । नेपालले मे महिनाको ३१ तारिकसम्म नियमित अन्तर्राष्ट्रिय उडान बन्द गर्ने घोषणा गरेसँगै चिनियाँ नागरिकहरुले घर फर्किन विभिन्न च्यानलमार्फत अपिल गरिरहेका छन् । महामारीको कठिन घडीमा नेपाल र चीनले एक अर्कालाई बुझी लकडाउनबाट सिर्जित समस्याका संयुक्तरुपमा समाधान गर्नुपर्ने कुरामा दूताबासले जोड दिएको छ ।