बिमलेश कुमार झा
१२ जेठ,रौतहट। बौधिमाई नगरपालिका वडा नं ४ का नवनिर्वाचित वडा अध्यक्ष तुरन्त नारायण यादवले वडा भित्र कृषि क्षेत्रमा लागने बिजुली महसुल वडा कार्यालयले तिर्ने निर्णय गरेका छन् ।
यादव अनुसार नेपाल कृषि प्रधान देश हो। ९०% मानिस कृषिमा आधारित छ । सबैभन्दा बढी दु:ख किसानले नै भोग्दै आएको छ। सो कुरालाई मध्य नजर गर्दै हाम्रो वडाका किसानहरुले कृषि क्षेत्रमा तिर्दै आएको चर्को शुल्क अब वडा कार्यालयले तिर्ने निर्णय गरेको बताएका छन्। बौधिमाई नगरपालिका वडा नं ४ का वडा अध्यक्ष यादवले वडाले कृषि मिटर तथा कृषि क्षेत्रमा लागने बिजुली महसुल वडा कार्यालयले तिर्ने निर्णयमा हस्ताक्षर गरेका छन् ।
पदभार ग्रहण गर्दै वडा अध्यक्ष यादवले कृषि क्षेत्रमा क्रान्ति ल्याउन किसानलाई सिचाइमा सहजीकरणका लागि सो निर्णय प्रमाणित गरेका छन् ।
रौतहटको बौधिमाई नगरपालिकाको बंकुल स्थित सीता पार्टी पैलेसमा आयोजित कार्यक्रममा नगर प्रमुख बाट पद तथा गोपनियताको सपथ ग्रहण गरि वडा अध्यक्ष यादवले पद भार सम्हाल्दै सो निर्णय गरेका हुन्।
यसै बिच वडा नं ५ का वडा अध्यक्ष लक्षमी नरायण यादवले पनि पद भार सम्हालेका हुन्। उनले पदभार सम्हाल्दै शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिने निर्णय गरेका हुन्। शिक्षक अभावमा चलिरहेको स्थानीय विद्यालयलाई दक्ष शिक्षक न्युक्त गरि शिक्षा क्षेत्रलाई विकसित बनाउने उनले पहिलो निर्णय गरे।
नगर उपप्रमुख, वडा अध्यक्ष,वडा सदस्य लगायतका नवनिर्वाचित जनप्रतिनिधिलाई नगर प्रमुख प्रदिप यावले पद तथा गोपनियताको सपथ ग्रहण गरेका थिए।