लोकप्रिय कार्यगर्ने प्रतिबद्धताका साथ रौतहटका तीन पालिका प्रमुख/उपप्रमुखले गरे पदभार ग्रहण

बिमलेश कुमार झा
१६ जेठ २०७९,रौतहट ।रौतहटका तीन पालिका प्रमुख तथा उप-प्रमुखले लोकप्रिय कार्यगर्ने प्रतिबद्धताका साथ आज सोमबार पदभार ग्रहण गरेका हुन्।
रौतहटका फतुवा विजयपुर, गरुडा र बौधिमाई नगरपालिकाका प्रमुखहरुले नवनिर्वाचित प्रतिनिधिलाई पद तथा गोपणियताको सपथ खुवाउदै आज पदभार ग्रहण गरेका हुन्।
नेपाली काङ्ग्रेसबाट निर्वाचित रौतहटको फतुवा विजयपुर नगरपालिकाका प्रमुख गोपाल यादवले दोस्रो कार्यकालका लागि कार्यभार सम्हाल्दै महत्त्वपूर्ण तीन वटा कार्यगर्ने निर्णय गरेका हुन्।

मेयर यादवले पदभार ग्रहण गरेको पहिलो दिन नै नगरपालिकाको भवन तथा पन्ध्र शैया अस्पताल निर्माणका लागि जग्गा खरिद र गुणस्तरीय शिक्षाको विकासका लागि आवश्यकता अनुसारको नगर शिक्षकको बहाली गर्ने निर्णय गरेका हुन्। उहाँसँगै निर्वाचित नगर उपप्रमुख अमवेया खातुनले पनि आफ्नो कार्यभार सम्हालेकी छन्।

यसैबीच गरुडा नगरपालिकाको नगरप्रमुखमा नवनिर्वाचित कन्थमनी जैसवालले पनि पदभार ग्रहण गरेका हुन्।
जैसवालले पहिलो कार्यकालका लागि पदभार ग्रहण गर्दै दलित तथा गरिब जनताको लागि आवास निर्माण गर्ने पहिलो निर्णय गरेका हुन् । मौलिक हकका रुपमा रहेको आवासको हकलाई जैसवालले पहिलो प्राथमिकता दिएको बताएका हुन्। नेकपा एमालेबाट निर्वाचित मेयर जैसवालले आफ्नो कार्यभार सम्हाल्दै ब्यापारी केन्द्रको रुपमा रहेका गरुडा नपालाई शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी, सडक पूर्वाधार लगायतका क्षेत्रमा दीर्घकालीन विकास गर्ने प्रतिबद्धता गरे ।
गरडा नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित पुनम चौधरीले पनि आफ्नो कार्यभार सम्हालेकी छन्।

उपप्रमुख चौधरीले आफ्नो कार्यभार सम्हालेका पहिलो दिन नै एक महत्त्वपूर्ण कार्य गर्ने निर्णय गरेकी छन्।
उपप्रमुख चौधरीले नेपाल सरकारद्वारा लागू गरिएको विद्यार्थीलाई खुवाउने दिवा खाजा विगत ५ वर्ष देखि बन्द रहेको कार्यलाई एक सप्ताह भित्र सञ्चालन गर्ने निर्णय गरेकी छिन्।
उपप्रमुख पुनम चौधरी जनकपुर टुडे राष्ट्रिय दैनिक पत्रिकाका पत्रकार स्व.मनोज चौधरीको श्रीमती हुन्।
स्व.चौधरीले समाजमा पुर्याएको योगदानलाई कदर गर्दै गरुडाका सम्पूर्ण जनतमले नेपाली काङ्ग्रेसबाट अत्यधिक मतले उपप्रमुखमा उहाँलाई विजयी बनाएका छन्।

यसैबीच रौतहटको बौधिमाई नगरपालिकाको नगर प्रमुखले पनि पदभार ग्रहण गरेका हुन्।
नेकपा एकीकृत समाजवादीबाट बौधिमाई नगरपालिकाको मेयरमा निर्वाचित प्रदिप यादवले आज सोमबार देखि आफ्नो कार्यभार सम्हालेका हुन्।
निवर्तमान मेयरले भाडाको भवनमा दैनिकी सेवा दिदै आएको थियो तर नवनिर्वाचित मेयर यादवले तत्कालीन भन्सारको भवनमा आफ्नो पदभार ग्रहण गरेका हुन्।
अलपत्रमा रहेको सरकारी भवनलाई नवनिर्वाचित मेयर यादवले प्रयोगमा ल्याएका हुन्। मेयर यादव अनुसार सरकारी भवन हुदाहुदै पनि भाडाको घरमा बसि वार्षिक रुपमा लाखौं भाडा किन तिर्ने? बरु भाडाको रकमलाई सदुपयोग गरि जनताको विकासमा लगानी गर्नु राम्रो हो।
मेयर यादवले पहिलो कार्यकालको लागि आफ्नो पदभार सम्हाल्दै एक महत्त्वपूर्ण कार्य गर्ने निर्णय गरेका हुन्।
मेयर यादवले पदभार ग्रहण गर्दै बौधिमाई नपा वडा नम्बर ८ मा पर्ने गुजरामाई मैदानमा रंगशाला बनाउने पहिलो निर्णय गरेका हुन्।
जनताको मतलाई कदर गर्दै यादवले बौधिमाईका समग्र विकासका लागि कडाभन्दा कडा चुनौतीलाई सामना गर्ने तयार रहेको बताएका छन्। पदभार ग्रहणसँगै नगर प्रमुख यादवले नगरको विकास र समृद्धिका लागि आफू निरन्तर प्रतिबद्ध रहने बताउँदै दिन र रात एक गरी काम गर्ने प्रतिबद्धता जनाएका छन्।

उहाँसँगै निर्वाचित उपप्रमुख प्रमिदा देवि जैसवालले पनि पदभार ग्रहण गरेकी छन्। यसै साथ रौतहट जिल्लामा रहेका १८ वटै स्थानीय तहको नगर प्रमुख/उप-प्रमुख, वडा अध्यक्ष लगायतका जनप्रतिनिधिहरुको पद तथा गोपनियताको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here