नेपाल खेलकुद महासंघ पत्रकार सम्मेलन

प्रेस विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु,
नेपाल खेलकुद महासंघको यस पत्रकार सम्मेलनमा तपाईंहरुलाई हार्दिक स्वागत गर्दछु ।
नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक माघ ४ र ५ गते पार्टी केन्द्रीय कार्यालय, च्यासलमा महासंघका अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा सम्पन्न भयो । नेकपा (एमाले)का अध्यक्ष कमरेड केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा नेकपा एमालेका महासचिव कमरेड शंकर पोखरेलको विशेष आतिथ्यता रहेको थियो । त्यस्तै, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका प्रमुख कमरेड भानुभक्त ढकाल, नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा नेपाल खेलकुद महासंघका इन्चार्ज कमरेड कर्णबहादुर थापा अतिथिका रुपमा दुई दिन चलेको बैठकमा सहभागी भइ निर्देशनात्मक प्रशिक्षण दिनुभएको थियो ।
पूर्ण कमिटी बैठकले नेपाल खेलकुद महासंघको संगठनात्मक सुदृढिकरण तथा शुद्धिकरण गर्ने, महासंघको सदस्यता नवीकरण, वितरण र अभिलेखीकरण गर्ने कार्यलाई प्राथमिकता दिने सर्वसम्मत निर्णय गरेको छ । पार्टीले यो वर्षलाई संगठन सुदृढिकरण र शुद्धिकरण वर्षका रुपमा अगाडि बढाउने गरेको निर्णयअनुसार महासंघले यो निर्णय गरेको हो । साथै, बैठकले सर्वसम्मत रुपमा निम्न निर्णयहरु गरेको जानकारी गराउन चाहन्छुः
– पार्टी, नेता तथा नेतृत्वमाथि भइरहेको आक्रमण, फैलाइएको भ्रम, लादिएको प्रायोजित झुटा आरोप र पार्टी तथा नेतानेतृत्वविरुद्ध सामाजिक सन्जालको दुरुपयोगलाई रोक्न, चिर्न, खण्डन गर्न तथा सामाजिक सन्जालमासमेत यसको प्रतिरोध गर्न विशेष कमिटी गठन गरिएको छ । ७७ वटै जिल्लाका प्रतिनिधि रहनेगरि ५ हजार १ सदस्यीय यो कमिटीको संयोजक स्थायी कमिटी सदस्य रिनन पोखरेललाई तोकिएको छ । यो कमिटीले विशेष अभियानका रुपमा तत्कालै काम सुरु गर्नेछ । यो अब नेकपा एमालेको ‘प्रतिरोधी दस्ता’ हुनेछ । यसको नाम नेकोस डिजिआइ हुनेछ ।

-मिसन २०८४ लाई सफल बनाउन नेपाल खेलकुद महासंघले आफू मातहतका सबै कमिटी तथा सदस्य कमरेडहरुलाई यसमा सक्रिय सहभागिता जनाउन निर्देशन दिएको छ । यसका लागि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै रोल मोडल मानेर अगाडि बढ्ने र सोहीअनुसार गतिविधि गर्नाले मिसन २०८४ सफल हुने निष्कर्ष महासंघले निकालेको छ । पार्टीका नेताहरुलाई नै रोल मोडल नबनाउँदा मिसन २०८४ सफल हुनेमा आशंका गर्नु पर्ने निष्कर्षसहित बैठकले सम्पूर्ण नेतृत्व पंक्तिलाई यसमा होमिन अनुरोध गरेको छ ।

– नेपालका गाउँगाउँसम्म खेलकुदलाई व्यापक विस्तार गर्दै एक कमिटी, एक खेल गतिविधि गर्ने निर्णय गरेको छ । यसअनुसार अब नेपाल खेलकुद महासंघका केन्द्रीय, प्रदेश, जिल्ला, पालिका तथा वडा कमिटीले तत्तत् स्थानमा विद्यालयदेखि विश्वविद्यालयसम्म, क्लबदेखि कम्युनिटीसम्म स्वस्थ समाज निर्माणका लागि वार्षिक क्यालेन्डर नै निर्माण गरेर खेल गतिविधि सन्चालन गर्नेछन् ।

– नेपाल खेलकुद महासंघले खेल क्षेत्रमा देखिएका विकृति, विसंगती, अनियमितता तथा भ्रष्टाचारका विरुद्धमा विशेष कार्यदल निर्माण गरेर सत्यतथ्य बुझेर आवश्यक निकायमा उजुरीसमेत दिने निर्णय गरेको छ । यसका लागि नेपाल खेलकुद महासंघका सचिव विष्णु पुनको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ र यो कार्यदलले काम सुरु गरिसकेको छ ।

– चीनमा भएको १९ औं एशियन गेम्सको खर्च सार्वजनिक गर्न, कर्मचारीसम्बन्धी संगठन संरचना तथा व्यवस्थापनका लागि यथाशीघ्र पहल गर्न, दर्ता भएका राष्ट्रिय खेल संघहरुलाई उपलब्ध गराइने अनुदानको आधार स्पष्ट पार्न र पक्षपाती नगर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गर्ने निर्णय पनि बैठकले गरेको छ । राखेप कर्मचारी सेवासर्तसम्बन्धी नियमावली बन्नमा भएको ढिलासुस्तीप्रति जवाफदेही हुनु पर्ने माग पनि नेपाल खेलकुद महासंघले राखेको छ । त्यस्तै, करारका कर्मचारीलाई रितपूर्वक स्थायी बनाउन नेपाल खेलकुद महासंघले यसअघिजस्तै जोडदार माग गर्दछ ।

– १९ औं एशियन गेम्समा सहभागी भएका अफिसियल, व्यवस्थापक तथा प्रतिनिधि पठाउने क्रममा अख्तियारको चरम दुरुपयोग भएको निष्कर्षसहित विधागत खेलाडीभन्दा बाह्य व्यक्तिहरु पठाइएको विषयमा नेपाल खेलकुद महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । यस कदमविरुद्ध महासंघले सत्यतथ्य पत्ता लगाउन विष्णु पुन नेतृत्वको कार्यदललाई अधिकार प्रत्यायोजन गरेको छ ।

– नेपाल खेलकुद महासंघ गण्डकी प्रदेशको आयोजनामा पोखरामा २०८० साल चैत ३ गतेदेखि ११ गतेसम्म ‘नेकोस सूर्यतारा खेलकुद महोत्सव’ आयोजना गर्ने निर्णय केन्द्रीय कमिटीले अनुमोदन गर्दै उपत्यका विशेषसहित आठै प्रदेशको यसमा सहभागिता जनाउन केन्द्रीय कमिटी बैठकले निर्देशनसमेत दिएको छ ।

पत्रकार मित्रहरु, छोटो समयको जानकारीमा उपस्थित भइदिनु भएकोमा यहाँहरु सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाल खेलकुद महासंघप्रति तपाईंहरुले देखाउनु भएको यो स्नेहका लागि आभार व्यक्त गर्दछु ।

पर्शुराम बस्नेत,
अध्यक्ष
नेपाल खेलकुद महासंघ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here