सुरेश यादव______________
हामीले स्पष्टरुपमा केन्द्रीय समितिमा को को हुनसक्ने भनेर मापदण्ड बनाएरै दिएका थियौँ । यहाँ ६३ जनालाई पदाधिकारी राखिएको छ । हामीले ५१ देखि ६३ जनासम्म मात्र रहने कार्यकारिणी समिति बनाउन र त्यसको एक तिहाई १७ वा २१ जना पदाधिकारी राख्ने सुझाव दिएका थियौँ । तर उहाँले ६३ जना पदाधिकारी बनाउनुभयो । दुनियाँमा कतै नभएको जस्तो ६३ जना पदाधिकारी राखियो । एकजना पत्रकारले मलाई भन्दै हुनुहुन्थ्यो तपाईंको पार्टीको नाम गिनिज बुकमा आउने भयो भनेर । मैले सोधेँ किन ? उहाँले भन्नुभयो, ‘१६ जना महासचिव भएको पार्टी दुनियाँमा कुन हो ? ६३ जना पदाधिकारी दुनियाँकै ठूलो पार्टीमा पनि छैन ।’ म भन्छु हो, यो जगहसाई भयो । मैले यो कुरा ठिक भएन भनेर बैठकमा कुरा उठाएँ ।
जनता समाजवादी पार्टी (जसपा) बाट अलगिएर लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) निर्माण भएको करिब साढे दुई वर्षपछि केन्द्रीय कार्यसमिति बन्यो तर त्यो पनि विवादित । अहिले पार्टीका उच्च पदस्थ पदाधिकारीले पनि प्राप्त गरेको पदप्रति सन्तुष्ट नरहेको एकथरि समस्या छ भने ३ सय ११ सदस्यीय कार्यसमितिमा पनि अटाउन नसक्नेहरुको आक्रोस अर्को समस्या बन्दैैछ । यतिमात्र नभएर गजेन्द्रनारायण सिंह जसले जीवनभर मात्र मधेशवादको कुरा गरे ती राजनीतिक मार्ग पनि यतिबेला मधेशवादप्रति दिग्भ्रमित त भइरहेको छैन भन्ने आशंका उब्जिएको छ । यही सेरोफेरोमा सोमबार लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोले सुरेश यादवसँग कुराकानी गरेका छन् ।
लोसपा निर्माण भएदेखि सुतेर बस्यो, ब्युझेँपछि धमालै मच्चायो त ?
तपाईंले जम्बो पदाधिकारी र अस्वाभाविक ठूलो कार्यसमितिको कुरा गर्नुभयो जस्तो लाग्यो मलाई । हो, सही भन्नुभयो । पार्टी दर्ता भएपछि काम गर्न अग्रसर हुनुपर्ने बेलामा सुतेरै बितायो । अहिले जे भयो, त्यो राम्रो नभएकै हो । जहाँसम्म धमाल मच्चाउने कुरा गर्नुभयो, त्यो नेतृत्वको कमजोरी हो । यसलाई सच्याएर अघि बढ्नुको विकल्प छैन ।
त्यसो भए लोसपामा अझै एउटा पार्टीको रुप धारण गर्न नसकेकै हो त ?
लोसपा अहिलेसम्म पार्टीको रुप धारण गर्न सकेकै छैन वास्तवमा । यो निर्माण प्रक्रियामै छ जसरी नेपाल देश अहिले पनि निर्माण प्रक्रियामै छ । यो देशको पनि निर्माण प्रक्रिया पूरा हुनसकेको छैन, सबै नेपालीको देश बन्नसकेको छैन, त्यस्तै लोसपा पनि पार्टी बन्न सकेको छैन ।
करिब साढे दुई वर्षपछि त लोसपाका केन्द्रीय समिति नै बनाउन लागियो । मानिसलाई लाग्छ नि साढे दुई वर्षसम्म पार्टीको केन्द्रीय कमिटी पनि बनाउन नसक्नु कस्तो पार्टी होला ? केन्द्रीय समिति भनेको पार्टीको इञ्जिन हो । इञ्जिन बलियो भयो भने गाडी दुरुस्त भएर हिँड्न सक्छ । त्यो नै भएन भने गाडी कसरी चल्छ ? हो नि !
यो पार्टीमा त्यतिधेरै भिड छ र यति ठूलो कार्यसमिति बनाउनु पर्ने ?
होइन । तपाईंले भनेको भिड मैले संगठनको अवस्थालाई बुझेँ । यहाँ त संगठन बनाउनै सकिएन नि । साढे दुई वर्षसम्म त केन्द्रीय कमिटी पनि बनाउन नसकेर त्यसै समय खेर फालियो । तर, ढिलै भए पनि बनाइएको कार्यसमिति छरितो र दुरुस्त हुनुपर्ने थियो जुन हुन सकेन । लोसपा अध्यक्ष महन्थ ठाकुरजीले यस्तो गर्नुभएको हो । जसमा हाम्रो कुनै सुझाव सम्बोधन हुनसकेको छैन ।
तपाईंको भूमिका के रह्यो त यसमा ?
हिजो राजपा हुँदा अध्यक्ष मण्डल थियो । १८ महिनासम्म आदरणीय नेता महन्थजी अध्यक्ष रहनुभयो । म चार महिना रहेँ । अरु पनि साथीहरु अध्यक्ष भएर काम गरे । जसले जुन अवधिसम्म नेतृत्व सम्हाले त्यो समयको जिम्मेवारी र जवाफदेहीता सम्बन्धित व्यक्तिमा थियो । उहाँहरुले गरेको राम्रो कामको जस र नराम्रो कामको अपजस उहाँहरुले नै लिने व्यवस्था थियो । जसपामा पनि दुई जना अध्यक्ष हुनुहुन्थ्यो उपेन्द्रजी र महन्थजी ।
लोसपा नबन्दै यस्तो किचलो किन भयो त ?
हामीले अध्यक्षजीलाई सुझावसहित केन्द्रीय कार्यसमिति निर्माण गर्ने अधिकार दिएका थियौँ । उहाँले हाम्रो सुझावलाई नसमेटेर एकलौटी गर्दा बाहिर राम्रो सन्देश जान नसक्नेगरी पदाधिकारी चयन हुनपुग्यो । जसपाको केन्द्रीय कमिटीबाट जो जो लोसपामा आए तिनीहरु स्वतः केन्द्रीय कमिटीमा सोही पदमा कायम रहनुपर्ने भनेर हामी (आदरणीय अध्यक्ष महन्थजी, म, शरदसिंह भण्डारी र अनिल झा) बीच सहमति भएको थियो । र, जसपालगायत अन्य विभिन्न पार्टीबाट आएका व्यक्तित्वहरु तथा विगतमा यसै पार्टीमा छुटेकाहरुको पनि नाम नै उल्लेख गरेर हामीले दिएका थियौँ । ३३ प्रतिशत महिला केन्द्रीय कमिटीमा राख्नैपर्ने शर्त र सुझावसहित हामीले अधिकार दिएका थियौँ । जब केन्द्रीय कमिटी घोषणा भयो अनि महन्थ ठाकुरजी नेपाली कांग्रेसमा रहँदाको बखत मधेशवादका लागि सडक संघर्ष गर्नेहरु पनि छुटे । जो पहिले कमिटीमा रहेकाहरु पनि हटाइए जसले म पनि दुःखी छु । यसले मधेशवादमाथि प्रहार भएको देखियो । तीनदशक अघिदेखि मधेशवादका लागि संघर्ष गर्दै आएकाहरु पनि किन हटाइए भनेर मैले केन्द्रीय कमिटीमा पनि सोधेको छु । जतिबेला देशमा म भनेर उच्चारण गर्न पनि सहज थिएन त्यतिबेला मधेशवादको नारा घन्काउनेहरुलाई पाखा लगाइयो । जुन महन्थ ठाकुरजीले गलत गर्नुभएको हो । मेरो पनि चित्त दुःखेको छ ।
तपाईंको विचारमा के हुनुपथ्र्यो त ?
हामीले स्पष्टरुपमा केन्द्रीय समितिमा को को हुनसक्ने भनेर मापदण्ड बनाएरै दिएका थियौँ । यहाँ ६३ जनालाई पदाधिकारी राखिएको छ । हामीले ५१ देखि ६३ जनासम्म मात्र रहने कार्यकारिणी समिति बनाउन र त्यसको एक तिहाई १७ वा २१ जना पदाधिकारी राख्ने सुझाव दिएका थियौँ । तर उहाँले ६३ जना पदाधिकारी बनाउनुभयो । दुनियाँमा कतै नभएको जस्तो ६३ जना पदाधिकारी राखियो । एकजना पत्रकारले मलाई भन्दै हुनुहुन्थ्यो तपाईंको पार्टीको नाम गिनिज बुकमा आउने भयो भनेर । मैले सोधेँ किन ? उहाँले भन्नुभयो, ‘१६ जना महासचिव भएको पार्टी दुनियाँमा कुन हो ? ६३ जना पदाधिकारी दुनियाँकै ठूलो पार्टीमा पनि छैन ।’ म भन्छु हो, यो जगहसाई भयो । मैले यो कुरा ठिक भएन भनेर बैठकमा कुरा उठाएँ ।
तपाईंले बैठकमा प्रश्न गरेपछि के प्रतिक्रिया आयो ?
अध्यक्षजीले यो गलत भयो भनेर स्वीकार्नुभयो र यसलाई सुधार गर्नुपर्छ भन्नु भएको छ ।
तपाईंको चित्त बुझ्यो ?
कुनै गल्ती भएको छ भने त्यसलाई स्वीकार गर्नु ठिकै हो । यसको अर्को उपाय पनि त छैन नि ।
संख्या घट्छ त अब ?
होइन । यो त हुँदै भएन नि । यो कार्यसमितिलाई परिमार्जन नै गर्नुपर्छ । यो त भएन नि । जो पदमा गएका छन्, पदाधिकारी भएका छन्, उनीहरुलाई आफ्नो पदको परिचय दिन लाज लागिरहेको छ । म फलानो पदमा छु भन्दा अपमान भइरहेको छ । पद पाएपछि त स्वाभिमान बढ्नुपर्ने हो सम्मान पाउनुपर्ने हो । तर, उल्टो भइरहेको छ । यो कुन सिद्धान्ततः यस्तो हुनगयो ? यसले पार्टी कार्यकर्ता र जनता अनि समाजमा पनि गलत सन्देश गएको छ ।
अब पार्टी कसरी बढ्छ त ?
यो हिसाबले त पार्टी अघि बढ्न सक्दैन । मानिसले त भनिरहेका छन्, लोसपा सकिइसक्यो । म अहिले एक हप्तादेखि जनताको बीचमा घुमिरहेको छु । सबै जिल्लामा पुग्छु म । मलाई पार्टीका नेता, कार्यकर्ता, समाजका अगुवा र पद पाएकाहरुले पनि असन्तुष्टी जनाइरहेका छन् । सबैले यो गलत भयो भन्दैछन् । यसरी त लोसपा कसरी चल्छ ? लोसपा सकिन्छ कि भनेर व्यापक आशंका उठिरहेको छ । त्यसैले यसरी नै हुँदैन । हामी धेरै परिवर्तन र सुधार गरेर मात्र अघि बढ्नुपर्छ ।
लोसपाको मिसन के त अब ?
लोसपा जुन मिसनको लागि बनेको हो त्यो मिसन कतै छुटिरहेको छ कि र बाटो बिरायो कि वा यो पार्टीले मिशन नै छोड्यो कि भनेर जनतामा आशंका बढेको छ । मधेशवादको लागि काम गर्ने पार्टी र नेतृत्वहरुले यसप्रति जुन संवेदनशीलता देखाउनुपर्ने जस्तो देखाउन सकेन । अबको मिशन भनेको त्यो अनुभूति जनतामा देखाउने गरी काम गर्नुछ । संविधान निर्माण भइरहँदा ६ महिने नाकाबन्दीको बेला जनताले पेट बाँधेर आन्दोलनलाई समर्थन गरेका थिए । राज्यले एकतर्फीरुपमा बन्दुकको बलमा संविधान जारी गर्दै दीपावली मनायो । यसले मधेशको जनता पराजित मनस्थितिमा पुगेका छन् । अब मधेशी जनताको स्वाभिमान र मनोबल उठाउन जरुरी छ । यो नै हाम्रो मिसन हो ।
कहिले गर्ने त यी कामहरु ?
संविधान जारी भयो । त्यसपछिको आठ वर्ष त कुनै कामै हुन सकेन । हुन त केही आन्दोलनकारीमाथिको मुद्दा फिर्ता गरायौँ, संविधान संशोधनका लागि कार्यदल बनायौँ । तर, जनताले अपेक्षा गरेअनुसार हामीले काम गर्न नसकेकै हो ।
यो आठ वर्ष त तपाईंहरु कालो दिवस र सेतो दिवसमै अल्झिनुभयो । कालो दिवस किन भनेर जनतालार्ई बुझाउन पनि सक्नुभएन । होइन र ?
हो तपाईंले ठीक भन्नुभयो । अब कालो दिवस भनेपछि बाँकी रहेको काम त गर्नुपर्यो हामीले । राज्यपक्षले दमन गरेर एकलौटी रुपमा संविधान जारी गरेपछि पूर्ण संविधानका लागि हामीले काम गर्नुपथ्र्यो । तर, त्यस्तो हुन सकेन । संविधान बन्यो र तुरुन्तै उपेन्द्रजी केपी ओलीको पार्टीमा लाग्नुभयो । फेरि हामी पनि केपी ओलीकै सरकारमा सहभागी भइदियौँ । त्यो जनताको भावना विपरीत काम भएको हो । हामीले नागरिकताको लागि अध्यादेश ल्यायौँ । संविधान संशोधनलगायत बाँकी काम पूरा गर्न भनेर सरकारमा गएको हामीले भन्यौँ तर जनताको भावना विपरीत सरकारमा गएको हामीले स्वीकार्नैपर्छ । हामी पनि सरकारमा गएर गल्ती गर्यौं त्यो भनेको जनभावना विपरीत काम हो ।
तपाईंले भनिरहनुभएको कुरा महन्थजी, शरदजी, अनिलजीहरुसँग हुँदैन ?
हुन्छ नि । जे छ त्यो त स्वीकार्नुपर्छ ।
२०७९ को चुनावमा तपाईंहरु फरक धारमा विभाजित भएर गठबन्धनमा समाहित हुनुभयो । त्यो ठीक थियो ?
देश नै गठबन्धनमा गइसकेपछि एउटा गठबन्धनमा गइयो र गठबन्धनमा गइसकेपछि पार्टी गुमाइयो । सायद हामी गठबन्धनमा नगएको भए हाम्रो पार्टी पनि राष्ट्रिय पार्टी बनाउन सक्थ्यौँ । हाम्रो राष्ट्रिय पार्टी बन्न नसक्दा जनतामा पनि लोसपाप्रति नकारात्मक सन्देश गयो ।
तपाईंहरु अहिले पनि सत्ता गठबन्धनमा हुनुहुन्छ नि त ?
पहिलो कुरा त पछिल्लो आठ वर्षमा हाम्रो जे क्रियाकलाप रहयो त्यसमा निर्मम समीक्षा आवश्यक छ । आत्मालोचनाको आवश्यकता छ । हामीले कहाँ कहाँ त्रुटि र भूल गर्यौँ ? योे मधेशवाद, अधिकार र संविधानको सवालका लागि यो लोकतन्त्र आएदेखि हामीले तीन वटा ठूलो आन्दोलन गर्यौं । दर्जनौँ बलिदानी दिएर पनि हाम्रो सपना अधू्रै छ । यो सपना पूरा गर्न समीक्षा र आत्मालोचना गर्दै भविष्यको रोडम्याप बनाउनुपर्छ । र, मधेशी जनताको अधूरा सपना पूरा गर्न फेरि विश्वास जित्नुपर्छ । यो बाहेक अर्को कुनै विकल्प न हामीसँग न जनतासँग छ । विगतमा गल्ती भएकै हो । त्यसलाई सच्याउँदै अघि बढ्नुपर्छ र यो दायित्व हाम्रै हो ।
मधेशवादी भनेको लोसपा मात्रै त होइन । अरु पनि छन् नि ?
उपेन्द्रजी त समाजवादी बनाएर माओवादी नै भइसके । उपेन्द्रजी जुन सिँढी चढेर माथि पुग्नुभयो त्यो सिँढी नै तल झार्दिनुभयो । उहाँसँग के आशा गर्ने ? सिके राउत मधेशी अनुहार भए पनि उनी नेतृत्वको पार्टीमा पनि मधेशवादको कुनै आदर्श र सिद्धान्त छैन । रेशम चौधरीको पार्टीले अधिकारको कुरा गर्छ । रेशमजीको रिहाइ त भयो तर गलत बाटोबाट भयो । उहाँलाई माओवादीलाई जस्तो आन्दोलनकारीको रुपमा रिहाइ गर्नुपर्नेमा अपराधीको बिल्ला लगाएर रिहाइ गरियो । हामीले यसरी त केपी ओलीकै बेलामा बाहिर निकाल्न सक्थ्यौँ । त्यतिबेला हामी र रेशमले पनि स्वीकारेन त्यो बाटो । थरुहट आन्दोलनका लागि रेशमजी लड्नुहुन्छ भन्ने विश्वास छ ।
त्यसो भए लोसपाको विकल्प छैन मधेशवादको लागि ?
मधेशवादको बिउ त लोसपामै छ । जे जति आत्मालोचना र सुधार गर्नुपर्छ गर्ने हो र जनताको अधूरो सपना पूरा गर्ने दायित्व लोसपाकै छ चाहे यसको जे जति रचना, संरचना, रंगरुप र अनुहार परिवर्तन गर्नुपरोस् । तर, गर्ने भनेको लोसपाकै हो । भोलि संयुक्त रुपमा जाँदा नाम परिमार्जन होला तर लोसपामा रहेको बिउलाई नै फुल्ने, फल्ने वातावरण बनाउन सक्नुपर्छ ।
अनुहार परिवर्तनको कुरा गर्नुभो । बाहिर पनि राजेन्द्र महतोले सद्भावना नै ब्युँताउने चर्चा छ । लोसपा फुट्छ ?
फुट्दैन । बाहिरको हल्ला गलत हो । त्यो जरुरी नै छैन । यो लोसपाले नै गर्छ, चाहे संगठन र नेतृत्व अनि नीति तथा कार्यक्रममा जे जति परिवर्तन गर्न परे गरिन्छ । अर्को पार्टी निर्माण वा विभाजन हुँदैन । जहाँ जहाँ सुधार गर्नुपर्छ त्यो सबै गर्ने हो । तर, अधूरा सपना र अधूरा क्रान्ति पूरा गर्ने काम हामी गर्छौँ ।
अधूरा सपना कसरी पूरा गर्नुहुन्छ ?
यतिको बलिदानी दिएर पनि मधेशी जनताले देखेको सपना पूरा नभएको सन्दर्भमा एउटा नीति, कार्यक्रम र योजना बनाउन जरुरी छ । हामीले चाहेको शासन र संविधान प्राप्तका लागि शक्ति चाहिन्छ । शक्तिबिना केही गर्न सकिदैन । त्यसैले यसका लागि शक्तिआर्जन आवश्यक छ । शक्ति आर्जन संघर्षबाट मात्र सम्भव छ । संघर्षबाहेक अर्को कुनै विकल्प छैन अधू्रो सपना पूरा गर्न । यसका लागि मेरो विचारमा विगतको अनुभवबाट पाठ सिक्दै यो राज्यको फुट डाल र शासन गर भन्ने नीतिलाई बुझेर जो जो वर्ग र समुदाय यो देशमा उत्पीडनमा परेका छन् । सबै गोलबन्द भएर अघि बढ्ने हो । हिजो टाउको मेरो फुट्यो विराटनगर नाकामा तर नाकाबन्दी भारतले गरेको भन्यो । हाम्रो आन्दोलनलाई सखाप पारिदियो । त्यसैले आन्दोलनलाई बलियो बनाउन सबै मिल्नुपर्छ । मधेशी, थारु, मुस्लिम, दलित, आदिवासी जनजाति र सुशासन तथा संस्कृति रक्षाका लागि अग्रसर समुदायसँग मिलेर अब राष्ट्रिय मुक्तिको आन्दोलन आवश्यक छ । अब संयुक्त आन्दोलन गर्ने हो देशभर । अर्को विकल्प छैन ।
उपेन्द्रजी त समाजवादी बनाएर माओवादी नै भइसके । उपेन्द्रजी जुन सिँढी चढेर माथि पुग्नुभयो त्यो सिँढी नै तल झार्दिनुभयो । उहाँसँग के आशा गर्ने ? सिके राउत मधेशी अनुहार भए पनि उनी नेतृत्वको पार्टीमा पनि मधेशवादको कुनै आदर्श र सिद्धान्त छैन । रेशम चौधरीको पार्टीले अधिकारको कुरा गर्छ । रेशमजीको रिहाइ त भयो तर गलत बाटोबाट भयो । उहाँलाई माओवादीलाई जस्तो आन्दोलनकारीको रुपमा रिहाइ गर्नुपर्नेमा अपराधीको बिल्ला लगाएर रिहाइ गरियो । हामीले यसरी त केपी ओलीकै बेलामा बाहिर निकाल्न सक्थ्यौँ । त्यतिबेला हामी र रेशमले पनि स्वीकारेन त्यो बाटो । थरुहट आन्दोलनका लागि रेशमजी लड्नुहुन्छ भन्ने विश्वास छ । सभार:- मधेशदृष्टि ।