प्रेस विज्ञप्ति
१. विशेष जिल्ला अधिवेशन सम्पन्न
समाजवादी प्रेस संगठन नेपालको मिति २०८० माघ १२ गते पर्साको वीरगञ्जमा उक्त जिल्लाको विशेष अधिवेशन होटल वृन्दावनमा सम्पन्न भयो । संगठनका केन्द्रीय अध्यक्षसहितका पदाधिकारी, पार्टी जिल्ला कमिटीका अध्यक्ष एवं प्रचार विभाग प्रमुख क.बालगोपाल थापा, पार्टीका वीरगञ्ज महानगर कमिटीका अध्यक्ष क.मनोज चौधरीसहितको उपस्थितिमा सम्पन्न भएको उक्त अधिवेशनले शम्भु कुमार सुमनको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ । उक्त अधिवेशनमा संगठनको केन्द्रीय कार्यालयबाट स्वीकृत भएका सदस्यमध्ये दुई तिहाई र नयाँ सदस्यका रुपमा थप भएका १० जना पत्रकारको उपस्थिति थियो । नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यको शपथ ग्रहण संगठनका केन्द्रीय अध्यक्ष विश्वमणि सुवेदीबाट सम्पन्न भयो ।
२. अवैधानिक अधिवेशन
संगठनका नाममा गैरसांगठानिक गतिविधिमा संलग्न भएका केही व्यक्तिले विशेष जिल्ला अधिवेशन सम्पन्न भएलगत्तै अवैध तवरले अर्को जिल्ला सम्मेलनको आयोजना गरी त्यसका फोटो र ‘निर्वाचित’ भएको भनी कार्यसमितिको नामावली सार्वजनिक गर्ने काम भएको छ । अधिवेशनअघि संगठनका नाममा अवैध गतिविध गर्ने पक्षसँग स्थानीय पार्टी नेतृत्व, केन्द्रबाट तोकिएका संगठनका पदाधिकारीले बारम्बार संवादको माध्यमबाट समाधानको खोजी गर्ने प्रयत्न ग¥यो । तर, पार्टी र संगठनले बोलाएको समय र स्थानमा नआउने, काल्पनिक प्रकारका आरोप र समाधान सम्भव नहुने शर्तहरु अगाडि सार्ने काम हुँदै आयो । हाम्रो संगठनको अभ्यासअनुसार कुनै पनि भेला, अधिवेशन र कमिटी गठनका काम संगठनको प्रदेश, केन्द्रीय कमिटी र पार्टीको सम्बन्धित तहको प्रचार विभागसँगको समन्वयमा मात्रै हुने गर्दछ । अन्यथा त्यसविपरित भए, गरिएका कुनै पनि गतिविधि वैधानिक हुँदैनन् । होटल वृन्दावनमा सम्पन्न अधिवेशनबाहेक कुनै पनि नामका भेला, अधिवेशन र कमिटी यस संगठनलाई स्वीकार्य छैन ।
संगठनले विगतमा सदस्यता दिएको र पछि पत्रकारिता पेशामा संलग्न नभई अन्य पेशा र व्यवसाय गर्ने कारण सदस्यता खारेज गरिएका व्यक्तिहरुलाई विभिन्न पदमा निर्वाचित भएको भनी नाम सार्वजनिक गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल पत्रकारिता गर्ने पत्रकारहरुको मात्रै संगठन भएको हुँदा फरक पेशा र व्यवसायका व्यक्तिहरु यस संगठनको साधारण सदस्य पनि रहन योग्य हुँदैनन् । त्यसमध्ये नेपाल पत्रकार महासंघको सदस्य बन्ने योग्यता नपुगेका र पत्रकारिता पेशामा संलग्न नरहेका कारण संगठनको सदस्यता खारेजीमा परिसकेका गैरपत्रकारहरुलाई विभिन्न पद बाँडेर सार्वजनिक गरिएको कमिटी यस संगठनको नभएको पुनः स्पष्ट पारिन्छ । होटल वृन्दावनमा सम्पन्न अधिवेशनमा केन्द्रीय कार्यालयबाट स्वीकृत भएका सदस्यमध्ये दुई तिहाई सदस्यको उपस्थिति थियो । उक्त अधिवेशनमात्रै वैधानिक हो ।
यसरी समाजवादी प्रेस संगठन नेपालको आन्तरिक एकता, अनुशासनसहित संगठनका नीति र विधिका विरुद्ध पटक पटक प्रश्नयोग्य भूमिका खेल्दै आएका यस संगठनका केन्द्रीय सल्लाहकार राघव साह हुन् । उनलाई संगठनको केन्द्रीय नेतृत्व र पार्टीको जिल्ला नेतृत्वले माघ ११ र १२ गते पटक पटक सम्पर्कमा आउन र आफ्ना कुराहरु राख्न अनुरोध ग¥यो । तर, उनी पार्टी र संगठनले बोलाएको स्थान र समयमा नआउने, बाहिर बाहिरै रहेर अन्य साथीहरुका सन्दर्भमा काल्पनिक आरोप लगाउने र अनुचित शर्तहरु राख्ने काममा सक्रिय भए । यस संगठनको केन्द्रीय कार्यालयको तर्फबाट वरिष्ठ उपाध्यक्ष नवराज छत्कुलीले समाधानका विकल्प र शर्तहरु सहित उनीसँग छलफल गर्नुभयो । तर, कुनै पनि विकल्प र शर्तमा उनी सहमत भएनन् । उल्टै पार्टी र संगठनको नेतृत्वको जानकारी बिना नै केही फोटोहरु खिचेर अधिवेशन भएको भनी कमिटीको नामावली सार्वजनिक गर्ने काम भयो । यसपछि हाम्रो संगठनले पार्टीको जिल्ला नेतृत्वको अनुकूलतामा हुने अधिवेशनलाई संगठनले अनुमोदन गरेको छ ।
३. कारवाही
संगठनको केन्द्रीय कार्यालयको आज मिति २०८० माघ १३ गतेको निर्णय अनुसार पटक पटक संगठनको हित विपरित भूमिका खेल्दै आएका संगठनका केन्द्रीय सल्लाहकार राघव साहलाई आजैको मितिदेखि लागु हुने गरी यस संगठनको सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको छ । साथै, उनको यस संगठनको साधारण सदस्यतासमेत खारेज भएको जानकारी गराइन्छ ।
४. सचेत गराइएको
केन्द्रीय कार्यालयको निर्णयानुसार नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य तथा यस संगठनका साधारण सदस्य अजय चौरसियालाई संगठनको हित विपरित भइरहेका गतिविधिबाट अलग हुन र संगठनका वैधानिक गतिविधिमा मात्रै संलग्न हुन सचेत गराइएको छ । आफ्ना भूमिका र गतिविधिलाई नसच्याए अर्को कदम चालिने चेतावनी दिइन्छ ।
(विश्वमणि सुवेदी)
अध्यक्ष
मिति २०८०/१०/१३