उपप्रधान तथा परराष्ट्रमन्त्री बन्ने अफर सिके राउतलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनमत पार्टीलाई सरकारमा समेट्ने तयारी गरेका छन् । प्रधानमन्त्री प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो पटक जनमतका अध्यक्ष डा. सिके राउतलाई नै सरकारमा सहभागी हुन् आग्रह गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले अध्यक्ष राउतलाई उपप्रधान तथा परराष्ट्रमन्त्रीको अफर गरेका छन् । एमाले अध्यक्ष ओली पनि उनलाई उपप्रधान तथा परराष्ट्र दिन तयार छन् । यो भन्दा अगाडी जनमत दुई पटक सरकारमा सहभागी भएको थियो । जनमतबाट पार्टीका पार्टीका उपाध्यक्ष अब्दुल खान खानेपानीमन्त्री र अनितादेवी साह संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका थिए ।
तर यो पटक भने आफूलाई नै मन्त्री बन्न अफर गरेको उनले बताएका छन् । रास्वपाले आयोजना गरेको चियापान कार्यक्रममा संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष राउतले प्रधानमन्त्रीले मन्त्री बन्न आग्रह गरेको बताए ।
उनले बजेट पारित भएपछि सल्लाह गर्ने जवाफ दिएको बताए । तर उनले आफू भने मन्त्री बन्नुभन्दा पनि पार्टी संगठन बनाउनमा केन्द्रित हुने बताए ।
जनमतले मधेश सरकारको मुख्यमन्त्री पाएपछि केन्द्र सरकारमा पनि सहभागी हुने तयारीमा छ । तर राउत भने बजेट पासपछि र मधेशमा विश्वासको मत पाएपछि मात्र सरकारमा जाने मनसाय गरेका छन् ।
अध्यक्ष ओली आफ्नो पार्टीबाट कुनै मन्त्री फिर्ता बोलाउन तयार छैनन् । रास्वपा र एकीकृत समाजवादी पनि कुनै मन्त्रालय छाड्न तयार नभएपछि प्रधानमन्त्री प्रचण्ड आफ्नै पार्टीका अर्थमन्त्री वर्षमान पुनबाहेक अन्य मन्त्रीलाई फिर्ता बोलाउने मोडमा छन् ।

-युवराज झा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here