मुख्यमन्त्रीको अभिव्यक्त विवादास्पद- महासचिव झा

जनकपुरधाम ।मुख्यमन्त्री लालबाबु राउतले छिमेकसँगको सम्बन्धबारे दिएको अभिव्यक्तिप्रति राष्ट्रिय जनता पार्टी नेपालका महासचिव राजिव झाले आक्रोश व्यक्त गरेका छन् ।मुख्यमन्त्री राउतले एक कार्यक्रममा खुल्ला सीमाका कारण सुरक्षा चुनौती रहेको अभिव्यक्ति दिएका कारण विज्ञप्ति जारी गरी महासचिव झाले मुख्यमन्त्री राउतलाई खुल्ला सीमाका कारण सुरक्षा चुनौती नबढेको प्रष्ट्याएका छन् ।प्रदेश २ स्तरीय सुरक्षा गोष्ठीलाई शनिबार सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ का सबै जिल्ला भारतसँग जोडिएर रहेको र सिमाक्षेत्र खुल्ला हुँदा शान्ति सुरक्षा कायम गर्न चुनौती रहेको धारणा राखेका थिए ।
नेपाल भारत खुला सिमा संवाद समुहका संयोजक समेत रहेका महासचिव झाले भने, ‘यस किसिमको विवादित बयान मुख्यमन्त्री जस्तो व्यक्तिका लागि सुहाउँदो होइन ।’ ‘खुला सीमाको कारण सुरक्षा चुनौती छ भन्नु तपाईंको अकर्मण्यता हो । के यो प्रदेशको प्रहरी तपाईंको नियन्त्रणमा छ ? सेना, कर्मचारी तपाईको नियन्त्रणमा छ ? प्रमुख जिल्ला अधिकारी या स्थानीय निकाय तपाईको नियन्त्रणमा छ ? उनले प्रश्न गरेका छन ।उनले मुख्यमन्त्री राउतलाई भनेका छन् , ‘तपाई साइकल बाँटनुस र प्रदेशको बजेट चलाउनुस जानकी मन्दिर जस्तो ठाउँमा गुणस्तरहिन मार्बल लगाउन दिनुस ।’ खुला सीमाको कारण सुरक्षा चुनौती नरहेको बताउँदै महासचिव झाले प्रहरी प्रशासनलाई अझै चुस्तदुरुस्त हुनुपर्ने, सीमामा सशस्त्र प्रहरी,जनपथ प्रहरी, अनुसन्धान प्रहरी लगायतको सुरक्षा निकायलाई अतिरिक्त ड्युटी गर्नुपर्ने सुझाव दिएका छन् । उनले अगाडी भने, ‘प्रहरीले चाहे भने कुनै मन्दिर मस्जिदको अगाडिबाट एक थान चप्पल समेत चोरी हुन सक्दैन ।
खुला सिमाको कारण सुरक्षा चुनौती हुन्छ भने पाकिस्तान र भारतको सिमा खुला छैन तैपनी काश्मिरमा सुरक्षा चुनौती रहेको बताउँदै उनले उदाहरण दिँदै भने,‘पाकिस्तान र बंगलादेशको सीमा खुला छैन तैपनि सुरक्षा चुनौती छ । अमेरिका जस्तो सम्पन्न देशको वल्डट्रेड सेन्टरमा आक्रमण हुन्छ । पाकिस्तान, अफगानिस्तान, इराक लगायत विश्वको अनेकौं देशमा दिनहुुँ आतंकबादी हमला हुन्छ । त्यो खुला सिमाको कारणले भएको होइन।’
उनले ‘मधेसमा बसोबास गर्ने अधिकाँशको कुनै न कुनै नातेदार भारतमा रहेको बताउँदै आफ्नो सुरक्षाको साथै भारतमा बस्ने हाम्रो मामा, फुफा, भिनाजु, दिदी, बहिनी लगायतको पनि सुरक्षा हामिले चाहिरहेको उनले जिकिर गरे ।नेपाल र भारतको नागरिक बीच सदियौं देखिको वैवाहिक सम्बन्ध, सांस्कृतिक सम्बन्ध, धार्मिक सम्बन्ध, राजनैतिक सम्बन्ध, रामजानकीको सम्बन्ध, काशी विश्वासनाथ र बाबा पशुपतिनाथको सम्बन्ध हिन्दु धर्मावलम्बीहरुको बाबाधामसँगको सम्बन्ध सबै खुला सीमाको कारण सम्भब भएको उनले स्पष्ट पारे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here