चीनको रेल आवश्यक छैन : शशांक

चितवन — प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका महामन्त्री एव‌ं सांसद शशांक कोइरालाले चीनबाट रेल ल्याउन आवश्यक नभएको बताएका छन् । उनले चीनबाट रेल ल्याउनै परेपनि ऋणमा ल्याउन नहुने बताएका छन् । नेपाल प्रेस युनियन चितवन शाखाले शनिबार बिहान भरतपुरमा आयोजना गरेको तिहार शुभकामना कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले प्रश्न गर्दै भने,‘हाम्रो उत्पादन बढ्यो भने बल्ल रेलको खाँचो हुन्छ, उत्पादन हाम्रो खाई ?’
चीनबाट रेलमा पर्यटक ल्याउनु असम्भव कुरा भएको कोइरालाले बताए । उनले थपे ‘टुरिष्ट त जहाजबाट नै आउँछन् ।’ रेलको सम्भावना भएपनि त्यो अनुदानमा हुनुपर्ने सांसद कोइरालाको भनाइ थियो ।
रेल ल्याउँदा अनुदानमा आउने हो कि हैन, चलाउन सक्ने हो कि हैन, रेल ल्याएर ऋणमा डुब्ने हो कि जस्तो पक्षमा ख्याल गर्नु पर्ने उनले बताए । भारतसँग सरकारले अनुदानमा रेल ल्याउन थालेको समाचार पढेको उनले बताए ।
‘भारतसँग रेलको अग्रिमेन्ट हुँदै गरेको समाचार भर्खर पढेँ । उनीहरुले अनुदानमा रेल दिदैछन् । काठमाडौंदेखि तराईसम्म रेल मार्ग सुरु गर्दै रहेछन् । त्यो गर्नु पनि पर्छ । अनुदानमा आएको ठिकै हो । तर, ऋणमा डुबाएर रेल ल्याउनुको औचित्य छैन’ महामन्त्री कोइरालाको भनाइ थियो ।
सरकारले उचित सपना बोक्न छाडेर पानी जहाज चलाउने, रेल चलाउने जस्ता ऋणमुखी सपना बोकेको उनको आरोप थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here