बाराको कलैयामा २५ करोड रुपैयाँको लगानीमा तीनतारे होटल

कलैया । बाराको कलैयामा २५ करोड रुपैयाँको लगानीमा तीनतारे स्तरको ‘बरेवा दरबार होटल एन्ड बेङ्कट’ निर्माण भएको छ । कलैया उपमहानगरपालिका–५ मा रहेको ऐतिहासिक बरेवा दरबार परिसरमा होटल निर्माण गरिएको हो । 

होटल सञ्चालनमा आएपछि बाराको सदरमुकाम कलैयामा स्तरीय होटलको आवश्यकता पूर्ति हुने अपेक्षा सञ्चालकको छ । बारा ऐतिहासिक र पर्यटकीय महत्वको स्थान भए पनि कलैया क्षेत्रमा स्तरीय होटलको अभाव देखेर होटलमा लगानी गरेको सञ्चालक किरणविक्रम शाहले बताए । 

बरेवा दरवार १७६ वर्षअघि रामराजा मोहन विक्रम शाहले निर्माण गरेका थिए । अहिले उनका नाति किरणविक्रमले दरबारले ओगटेकोमध्ये साढे १३ कठ्ठामा होटल निर्माण गरेका छन् । नेपाली सेनाको प्रमुख सेनानी पदबाट सेवा निवृत्त शाह बारामा होटल व्यवसायमा सम्भाव्यता देखेर लगानी गरेको बताउँछन् ।

होटलसँगै रहेको दरबारको पुरानो संरचना पनि जीर्णोद्धार गरिएको छ । दरबारका ऐतिहासिक पक्षका बारेमा रुचि राख्ने पर्यटकका लागि यो थप आकर्षण हुन सक्ने शाहले बताए । स्वीट, डिलक्स र स्ट्यान्डर्ड गरी २४ ओटा कोठा, ४ ओटा हल, स्विमिङ पुललगायको सुविधा उपलब्ध हुने होटलको यही मंसिर १० गते उद्घाटनको तयारी गरिएको शाह जानकारी दिए । 

बाराको गढिमाईमा प्रत्येक ५ वर्षमा लाग्ने मेला यस वर्ष शुरू भइसकेकाले त्यसबाट होटलले लाभ लिन सक्ने अपेक्षा सञ्चालकको छ । ‘मेलामा आउने भक्तजनलाई लक्षित गरी राजधानी काठमाडौं र भारतका विभिन्न टुर एन्ड ट्राभल एजेन्सीसँगको सहकार्यमा पर्यटकीय प्याकेज बनाएका छौं,’ सञ्चालक शाहले भने, ‘गढिमाई र पर्सा राष्ट्रिय निकुञ्जको अवलोकनलाई समेटेर प्याकेज बनाइएको छ ।’

भारतको बिहारका पर्यटक र वैवाहिक कार्यक्रमले पनि होटलको व्यवसाय बढाउने सञ्चालकको विश्वास छ । राष्ट्रिय र अन्तरराष्ट्रिय गैरसरकारी संघ÷संस्थाका कार्यक्रम सञ्चालनका लागि पनि होटल उपयोगी हुने दाबी व्यवस्थापनको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here