सकल बुद्धिजीबीहरुले चिन्तन गर्नुपर्ने कुरा

— उपेन्द्र झा
एउटा संघर्षको जन्मदिन, अन्तरविरोधका प्रखर स्वरूप, राजनीतिक चेतना, परिस्थितिको अनुकूलता तथा अन्यायमा परेको संगठनको सक्रियता आवश्यक हुन्छ । यो तत्वहरूको सक्रियताले संघर्ष परिवर्तनको दिशामा अग्रसर हुन्छ । नेपाली राजनीति पनि संघर्षको प्राकृतिक स्वरूपबाट गुजिदै आएको छ ।
राजनीतिक संघर्ष जनआकाँक्षा अनुरूप हक, अधिकारको सुरक्षणका लागि सरकार विरूद्ध केन्द्रित भएको हुन्छ । एकतन्त्रीय निरंकूश राणा शासनका विरूद्धको संघर्ष, राजतन्त्र तथा पंचायती व्यवस्था विरूद्धको संघर्ष, नवोदित प्रजातान्त्रिक सरकार विरूद्धको ठूलो जनसंघर्ष र मधेश विद्रोह नेपाली राजनीतिका उल्लेखनीय संघर्ष हुन् । यस आन्दोलनमा सयौंले शहादत दिए भने हजारौं घाइते तथा अपाङ्ग भएका छन् ।
परिवर्तनका लागि राजनीतिक आन्दोलन गरियो । परिणाम पनि विद्यमान छ । तर यो परिणाम जनअपेक्षित हो वा वर्गीय राज्यसत्ताका हितका लागि, समीक्षा हुन जरूरी छ । संघीय लोकतान्त्रिक गणतन्त्रभित्र खसवर्गीय शासकहरूले कसरी आफ्नो निर्विकल्प स्वार्थ स्थापित गरेका छन्, जनताको जानकारीमा आउन सकेको छैन । जुन प्रणाली आए पनि खसवर्गीय हालीमुहाली कायम रहनु राजनीतिमा कहिल्यै समाधान हुन नसक्ने समस्या हो । यो समस्याले जहिले पनि संघर्षलाई आमूल परिवर्तनको दिशामा अग्रसर गर्छ ।
२०४६ सालपछिको प्रजातान्त्रिक प्रणाली पनि सत्तामा हावी खसवर्गीय शासकहरूको सामन्ती चरित्रको पृष्ठपोषक बनेपछि राजनीतिक अराजकताको जन्म दिएको थियो, जसको प्रतिफल राजतन्त्रको सक्रियता बढ्यो, माओवादी द्वन्द्व जन्म्यो । मधेश आन्दोलनको सूत्रपात भयो । आफ्नो अस्तित्वलाई सत्तामा कायम राख्न शासकहरूले अनेक तिकडमी षड्यन्त्रद्वारा आन्दोलनलाई आफ्नो उद्देश्य विपरीत अन्यत्र मोड्न जहिले पनि सक्रिय देखाएका छन् । आन्दोलनका परिणाम आफ्नो हितमा पार्न शासकवर्ग सधैं सफल रहेका छन् । रणकौशलमा निपूण शासकहरूको पारस्परिक वैचारिक मतभेद बाह्य हस्तक्षेपमा गौण भई एकाढिक्का भएको संविधानसभामा देखिएका मजबूत उदाहरण हुँदैछ ।
मधेशले परिवर्तनकारी आन्दोलनहरूमा सक्रिय सहभागिता मात्र देखाएन, सयौंको संख्यामा शहादत दिएपनि आफ्नो मूलभूत समस्या सम्बोधन नहुँदाको अवस्थामा “मधेश विद्रोह” भएको हो । मधेश विद्रोहबाट शासकहरू भयभीत भए । अढाई सय वर्षमा नेपाली जनतासँग मधेशीलाई भावनात्मक सम्बन्धद्वारा एकाकार हुन नदिई खसवर्गीय शासकहरूले भेदभावको जुन औपनिवेशिक पिंजडामा कैद गरी राखे, मधेश विद्रोह पश्चात् भेदभावका लक्ष्मण रेखा प्रष्ट रूपमा आएपछि पहाडी शासकहरू मतभिन्नता त्यागेर सबै एक भए । यही उसको सफलताका सोपान हो ।
मधेशी जनअधिकार फोरमको नेतृत्वमा उठेको मधेश आन्दोलनताका सयौं सशस्त्र आन्दोलनकारी पार्टीहरू जन्मे । व्यक्तिगत स्वार्थमा आधारित ती पार्टीहरू केही मधेशका पार्टीहरूमा समाहित भए भने केही सम्झौता प्रक्रियाद्वारा शान्तिपूर्ण राजनीतिमा आए । मधेशलाई स्वतन्त्र राष्ट्रको रूपमा स्थापना गराउने उद्देश्य बोकेका सशस्त्र समूहका जयकृष्ण गोइत र ज्वाला सिंह मूलधारको राजनीतिभन्दा बाहिर छन् । २०६८ सालतिर पृथकतावादी आन्दोलनलाई शान्तिपूर्ण ढंगले चलाउन सकिन्छ कि भनेर नेपाली राजनीतिमा डा.सीके राउतको अवतरण भयो । महात्मा गाँधीको अहिंसात्मक आन्दोलनबाट प्रेरणा लिएर, रंगभेद विरूद्ध नेल्सन मण्डेलाका विचारलाई आत्मसात गरि शान्तिपूर्ण पृथकतावादी आन्दोलन चलाउने सीके राउतको सभामा जम्मा हुने लाखौंको संख्याले उसको महत्वाकाँक्षालाई विस्तारै बढाउँदै लग्यो ।
पृथक हुनका लागि नभई समान अधिकारका लागि उठेको मधेश आन्दोलनबाट त राज्यको चित्त दुःखेको थियो । शान्तिपूर्ण ढंगले मधेशलाई अलग पार्ने विचार शासकहरूका लागि कसरी सह्य हुन सक्थ्यो । सीके राउतलाई समात्ने, यातना दिने, छोड्ने यो क्रम शुरू भयो । धेरै कार्यकर्ता पनि पक्राउ परि मुद्दा खेपे । सभामा उल्लेख्य रूपमा आउने मधेशीहरू सीके राउत समातिदा रिहाईका लागि आन्दोलन गर्न नसक्ने देखेर सीके राउतका विचार विस्तारै गतिहीन बन्दै गयो । मधेशीले जगाई दिएको उच्च महत्वाकाँक्षाबाट प्रेरित सीके राउत मधेशका अन्य नाम चलेका नेताभन्दा धेरै माथिको हौसियतमा आफूलाई उभ्याउँदा कुनै अनौठो कुरा होइन । तर जुन अनुपातमा लोकप्रियताको ग्राफ बढेको थियो, समातिने र यातना सह्ने अवस्थामा ७ वर्ष बितिसक्दा पनि मधेश सीके राउतको रिहाईका लागि सडक आन्दोलन नगरि दिएकाले सोही अनुपातमा सिके राउतको मनोबल खस्कदै गयो । जसको लागि सीके राउतले संघर्ष थाले, उसलाई नै चासो नभएपछि उसमा वितृष्णा आउनु स्वाभाविकै थियो । त्यसकारण पृथकतावादी आन्दोलनलाई त्यागेर यथास्थितिवादी विचारका साथ मूलधारको राजनीतिमा आए ।
हालै सिके राउतको “रंगभेद विरूद्धको एकता सभा” टुँडिखेलमा सम्पन्न भएको छ । ०३३ सालमा वी.पी. कोईराला पनि राजनीतिमा दिग्भ्रमित भई राजासँग “मेलमिलाप” को कार्यक्रम ल्याएका थिए । सोही सम्झनालाई सीके राउतले ताजा बनाएका हुन् । मधेशमा लाखौं मानिसको भेला गराउन सक्ने सीके राउत हालैको चुनावमा आफ्नो हैसियत केही नरहेको देख्दा दुःख लाग्नु स्वाभाविक हो ।
स्वर्ण पदक धारक सिके राउत वैज्ञानिक रूपमा आफ्नो योग्यताको समुचित प्रयोग गरि देशलाई नयाँ आविष्कार दिन सक्ने क्षमता राख्दछ । राजनीतिक घरातलमा यस विद्वताको कुनै अर्थ छैन । भर्खरै नेपालका प्रखर राजनेता केपी शर्मा ओलीसँग मितेरी गाँसेर मूलधारको राजनीतिमा आएका सीके राउत राजनीतिभन्दा विज्ञान क्षेत्रमा राष्ट्रलाई बढी योगदान दिन सक्ने व्यक्तित्व भएकोले सोही क्षेत्रमा स्थापित हुन युक्तिसंगत हुनेछ ।
रंगभेद हटाउन प्रहसन सभाले होइन, भीषण संघर्षद्वारा हटाउन सकिन्छ । चर्को अन्तरविरोधलाई मेलमिलाप को माध्यमबाट हटाउने प्रयास घोर अवसरवादी चरित्र हो, यसले मधेशलाई ७ साल होइन, पचासौं वर्ष गुमराह बनाएर राख्न सक्दछ । आफ्नो स्वार्थलाई जनताको माग बनाउने छदम्वेशी राजनीतिलाई जनताले यो बितेकै १६ वर्षमा राम्ररी बुझिसकेका छन् ।
आफ्नो सुरक्षाका लागि सन्यासीको रूप धारण गर्ने अपराधीहरू जस्तै मधेशमा अधिकारवादी आन्दोलनको नाउँमा “ईजी मनी” कमाउने गुलाम ठेकेदारहरूको संस्था दिनानुदिन बढ्दै गएको छ । प्रदेश नं. २ बाहेकको मधेशमा पहिचान विस्तारै हराउँदै गएको छ भने प्रदेश नं. २ मा रहेको मधेश सरकार चरम आर्थिक अनियमिताका शिकार भई जनअपेक्षा पूरा गर्न सक्षम देखिई रहेको छैन । यसरी समग्र मधेश पहिचान, समान अधिकार आधिकार लागि उकुस मुकुसको अवस्थामा पीडा भोगीरहेका छन् । समग्र मधेशको विश्रृंखलित अवस्थाप्रति गुलामी भूमिकामा रहेको समाजवादी पार्टी तथा राजपा कसैको चासो नरहेकोले मधेश दयनीय अवस्थामा छ ।
वर्तमान सरकारले मधेशलाई कसरी तहसनहस पारेको, मधेशलाई अधिकार सम्पन्न बनाउने जनादेश पाएका राजनीतिक पार्टीहरू कसरी दलाल र गुलाम बने, यस्तै अवस्थामा समग्र मधेशको अस्तित्व कायम रहन सक्ला ? आदि विषय अहिले समीक्षाका लागि महत्वपूर्ण छ । मधेशका सकल बुद्धिजीवीहरूले चिन्तन गर्ने यो विषय निर्णय खोजी रहेको छ । घोर अवसरवादको दलदलबाट मधेशको अधिकारवादी आन्दोलनलाई बाहिर ल्याएर समग्र मधेशको पहिचान, समान अधिकार कायम गराउन अग्रसर हुन वुद्धिजीवीहरूको दायित्व हो । सही मार्गलाई चिनौं, चिन्हाऔं र अग्रसर होऔं । (मधेश दर्पण फिचर सेवा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here