पप्पुले काम गरेन, बिल पेस गरे

रौतहट । गौर नगरपालिका–४ स्थित टिकुलिया घाटमा निर्माणाधीन पुलको काम पटकपटक रोकिँदा स्थानीय बासिन्दा समस्यामा परेका छन् । गत वर्ष भदौ ९ गते यही अधुरो पुलको पिलरमा ठोक्किएर डुंगा दुर्घटना हुँदा पाँच जनाले ज्यान गुमाएका थिए । गत वैशाख र जेठमा कछुवा गतिमा काम गरेर फेरि अलपत्र बनाइएको सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका इन्जिनियर मदनमोहन सिंहले बताए । ‘कामै नगरेको अवस्थामा भुक्तानीका लागि कम्पनीले बिल पेस गरेको छ,’ उनले भने ।तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाबाट २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २ सय २५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइ भएको पक्की पुल बनाउन बोलपत्र आह्वान भएको थियो । लागत इस्टिमेटभन्दा २८ प्रतिशत कम १४ करोड ९३ लाखमा टेन्डर सकारेर तीन वर्षभित्र निर्माण सक्ने गरी पप्पु कन्स्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले ०७१ असार २९ मा सम्झौता गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले ०७१ कात्तिक २९ गते पुलको शिलान्यास गरेका थिए । निर्माणको काम चाँडै सक्न सडक कार्यालय र स्थानीयले दबाब दिइरहे पनि ठेकेदार कम्पनीले बेवास्ता गरिरहेको हो । सडक कार्यालयका अनुसार पछिल्लो दुई महिनामा पुलको बिम हाल्ने काम मात्र गरिएको छ । समयमा पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, वैरिया, अकोलवा, रामपुरलगायत गाउँका बासिन्दा सदरमुकाम गौर आउन जोखिमपूर्ण डुंगा यात्रा गर्न बाध्य छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here