तराई–मधेसको ‘लाइफलाइन’ हुलाकी सडक निर्माण सुस्त

सडकको निर्माणमा त्रुटि देखिएका छन् । खोलाको बहाव एकातिर छ भने पुलको पिलर अर्कैतिर निर्माण गरिएको छ ।
–मधेसको ‘लाइफलाइन’ भनिएको हुलाकी राजमार्गको निर्माण अझै सुस्त छ । निर्माणाधीन राजमार्ग सरकारी प्राथमिकतामा नपर्दा बन्ने र भत्कने क्रमले स्थानीय हैरान छन् ।

सुस्त गतिमा भइरहेको हुलाकी सडकको निर्माणमा त्रुटि नै त्रुटि देखिएका छन् । खोलामा निर्माणाधिन पुलमा बढी खेलाँची भएको छ । खोलाको बहाव एकातिर छ भने पुलको पिलर अर्कैतिर निर्माण गरिएको छ । धेरैजसो पुलको पिलरको स्थान फेर्नुपर्ने स्थितिमा छ ।

हुलाकी राजमार्गअन्तर्गत वाग्मती खोलामा पिलर निर्माण गरिए पनि काम लामो समयदेखि रोकिएको छ । खोलाको बहाव परिवर्तन भएर हाल पिलर निर्माण भएको स्थानमा पुल निर्माण गरिए उपयोगविहीन हुने भएकाले पुलको डिजाइनमै परिवर्तन गर्न लागिएको छ । अरुवा र भकुवा खोलामा पुल निर्माणको डिजाइन नै गलत भएपछि त्यसलाई परिवर्तन गरी पुलको ठेक्का प्रक्रियामा छ । झाँझ खोलाको पुलको ठेक्का नै लागेको छैन । लालबकैया खोलाको पुलको सर्वेको काम भएर निर्माणको कागजी प्रक्रिया अघि बढेको छ ।

हुलाकी राजमार्गअन्तर्गत मध्यतराईको चितवनदेखि रौतहटसम्म सडकको निर्माण ४५ प्रतिशत मात्र सकिएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जले पनि सडक निर्माणमा प्रगति हुन नसकेको जनाएको छ । राजमार्गअन्तर्गत बारा र रौतहटमा बढी काम भएको छ ।

पर्सामा थोरै भए पनि चितवनमा निर्माण नै थालिएको छैन । रौतहटमा कुल १९.११ किमि सडक कालोपत्रे गर्नुपर्नेमा वाग्मती नदीदेखि बाराको सीमा अरुवा खोलासम्म सब–बेस बनाउने काम भइरहेको छ । २०७४ पुस १३ भएको सम्झौताअनुसार ज्वाइन्ट भेन्चरका ठेकेदार श्रेष्ठ/ढुकुचु/मृत संजीवनीले आउँदो २०७७ असार १२ मा सडक कालोपत्रे गरी हस्तान्तरण गरिसक्नुपर्छ । यी कम्पनीले ७७ करोड ३९ लाख रुपैयाँमा सडक कालोपत्रे गर्दै छन् । सडक खण्डमा पर्ने २८ स्ल्याब र ३० पाइप कल्भर्टमध्ये एक दर्जन स्ल्याब र १९ पाइप–कल्भर्ट निर्माण सकिएको छ ।

बारामा ३ प्याकेज बनाएर हुलाकी राजमार्ग निर्माण हुँदै छ । रौतहटको सीमा अरुवा खोलादेखि बरियापुर चोकसम्म १५.९८ किमि लामो बरियारपुर–पटेर्वा–अरुवा सडक खण्डमा हर्नेया चोकमा विवादका कारण करिब ३ सय मिटरबाहेक बाँकी सडक निर्माण सकिएको छ । रमन/लोकवीर ज्वाइन्ट भेन्चरको ठेकेदार रहेको यो प्याकेजको सडक कालोपत्रेको सम्झौता २०७२ माघ १७ मा भएको थियो । जसअनुसार, सडक कालोपत्रे गर्ने काम २०७५ चैत २७ मा सम्पन्न हुनुपर्ने थियो । ठेक्का समयमा पूरा हुन नसकेपछि म्याद थप गरेर २०७६ भदौ २५ सम्मको म्याद ठेकेदार कम्पनीले पाएको हो । यो सडक खण्डमा १९ स्ल्याब र २७ पाइप कल्भर्ट पनि निर्माण भइसकेका छन् । जमुनी, थलही र तियर खोलामा समेत पुल निर्माण पूरा भएको छ ।

बाराकै गढीमाई–बरियारपुर–कवही सडक खण्डमा नाला र कल्भर्टको काम सकेर सबबेसको काम जारी छ । १०.६ किमि लामो सडक खण्डमा आधा दर्जन स्ल्याब कल्भर्ट र २० पाइप कल्भर्ट बनेका छन् । शर्मा/सिद्धबाबा ज्वाइन्ट भेन्चरको ठेकेदार रहेको यो सडक खण्डको सम्झौता २०७५ जेठ १४ मा भएको थियो । ४८ करोड ४५ लाख रुपैयाँको ठेक्का सम्पन्न हुने मिति २०७७ जेठ १३ हो ।

बाराकै १९.९६ किमि लामो बरियारपुर–कलैया–बारा बोर्डर सडकमा कलैया र बघवनमा बाहेक एक तह कालोपत्रे भइसकेको छ । स्वच्छन्द/पप्पु/हिम सगरमाथा ज्वाइन्ट भेन्चरको ठेकेदार रहेको यो सडक निर्माणको सम्झौता २०७४ पुस १२ मा भएको थियो । ८५ करोड ५० लाख रुपैयाँमा २०७७ असार ११ सम्ममा सडक कालोपत्रे गरी सक्ने सम्झौता ठेकेदारले गरेका छन् । यो खण्डमा १५ स्ल्याब र १६ पाइप कल्भर्ट निर्माण भइसकेका छन् । अर्को तहको ५ सेमिको कालोपत्रे गर्न बाँकी छ । रोड मार्किङ, साइन बोर्ड राख्ने काम मात्र बाँकी छ ।

बारामै भारतीय अनुदानमा सञ्चालित १५ किमि लामो कलैया–पिलुवा र ११.६६ किमि लामो कलैया–मटिअर्वा सडक खण्डको भने तुलनात्मक रूपमा बढी भएको छ । यी खण्डको ९८.३ प्रतिशत काम सम्पन्न भइसकेको छ । आशिष र डीएस कम्पनीले ज्वाइन्ट भेन्चरमा २३ करोड १९ लाख रुपैयाँमा सडकको ठेक्का पाएका हुन् । २०७२ पुस २६ को सम्झौताअनुसार २०७६ पुस २६ सम्म सडकको काम सम्पन्न भएको छ ।

भारतीय अनुदानकै तामागढी–सिम्रौनगढ सडक खण्ड निर्माणको काम पनि तुलनात्मक रूपमा अगाडि बढेको छ । शून्यदेखि २० किमिको पहिलो प्याकेजको ठेक्का शर्मा/पप्पु/रोशन कम्पनीले ज्वाइन्ट भेन्चरमा पाएका हुन् । २० देखि ४० किमि दोस्रो प्याकेजको ठेक्का पप्पु र महावीरले ज्वाइन्ट भेन्चरमा पाएका हुन् । पहिलो प्याकेज ४१ करोड र दोस्रो प्याकेज ४४ करोड रुपैयाँको हो । पहिलो प्याकेजको सम्झौता २०७४ भदौ ३० र दोस्रो प्याकेजको सम्झौता २०७४ जेठ २३ मा भएको हो । दुवैको ठेक्का सकिने म्याद २०७६ मंसिर १६ हो । हालसम्म पहिलो प्याकेजमा ७० प्रतिशत र दोस्रो प्याकेजमा ४० प्रतिशत काम भएको छ ।

पर्सामा हुलाकी सडक खण्डमा कम काम भएको छ । भारतीय अनुदानमा वीरगन्जदेखि ठोरीसम्म ६० किमि हुलाकी सडक निर्माण भइरहेको छ । वीरगन्जदेखि चमरी टोलसम्म ३० किमि लामो सडक कालोपत्रे गर्ने पहिलो प्याकेज पप्पु/अमर/कन्टेक कम्पनीले ज्वाइन्ट भेन्चरमा पाएका हुन् । यो प्याकेजमा हालसम्म ३० प्रतिशत मात्र प्रगति भएको छ । २०७४ मंसिर १ को सम्झौताअनुसार २०७७ जेठ २० मा काम सक्नुपर्छ । करिब १२ किमि सडकमा बेस/सबबेस निर्माणको काम भएको छ । १ अर्ब १७ करोड रुपैयाँको यो ठेक्का प्याकेजमा प्रतिमा चोकदेखि तिलाबे खोलासम्म ३.८ किमि सडक कालोपत्रे भएको छ । यसअघि ९ पुल तयार भइसकेका छन् ।

निर्माण ढिला हुँदै

तिलाबे खोलाको १ सय मिटर लामो पुलको काम सुस्त गतिमा चलेको छ । पप्पु/लुृम्बिनी ज्वाइन्ट भेन्चर ठेकेदार रहेको यो पुल निर्माणको सम्झौता २०७२ जेठ २५ मा भएको थियो । काम सम्पन्न गर्नुपर्ने अन्तिम म्याद २०७५ जेठ २४ रहेको थियो । हालसम्म जगको फाउन्डेसन निर्माण मात्र भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here