तपाई युवा उदाउँदो सूर्य हो : अध्यक्ष प्रचण्ड

चितवन, १० पौष । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवाहरु मुलुकको लागि उदाउँदो सूर्य जस्तै भएको र आफ्नो समकक्षीहरु अस्ताउँदो सूर्य जस्तै भएको उल्लेख गर्नुभएको छ ।

चितवनको रत्ननगरमा बुधबारदेखि शुरु भएको नेपाल जेसिजको ४६औँ महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले मुलुकलाई समृद्धिमा अघि बढाउँदै समाजको यात्रालाई सार्थकता तुल्याउने महत्वपूर्ण भूमिका युवाहरुको काँधमा रहेको बताउनुभयो ।

नेपालमा नै युवाहरुलाई योग्यता, क्षमता अनुसारको रोजगारीको वातावरण सिजर्ना गरी युवाहरु विदेश पलायन हुने अवस्थाको अन्त्य गर्न सरकार लागि रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले युवाहरुको क्रियाशिलता, लगनशिलता, क्षमता विकास लगायतका कार्यहरु अहिलेको अपरिहार्यता रहेको औंल्याउनुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न देशका युवा वर्ग क्रियाशील हुनुपर्ने बताउँदै उहाँले पर्यटन वर्षको पूर्वसन्ध्यामा पर्यटकीय नगरी सौराहाको प्रवेशद्वारमा महाधिवेशन गर्नु आफैँमा महत्वपूर्ण भएको उल्लेख गुर्नभयो । उहाँले नेपाल भ्रमण वर्ष सफल बनाउन सातवटै प्रदेशबाट एकसाथ शुभारम्भ गर्ने कार्यक्रम रहेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले देशमा ठूलो त्याग र तपस्यापछि नयाँ राजनीतिक व्यवस्था आएकाले यसलाई संस्थागत गर्न युवालाई एक भएर अघि बढ्न आग्रह गर्नुभयो । समृद्ध नेपाल निर्माण गर्ने जिम्मा युवालाई भएकाले देशको आर्थिक विकासमा युवाको भूमिका अतुलनीय रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘हामी अस्ताउँदा सूर्य हौँ, तपाई युवा उदाउँदो सूर्य हो । देशको अगामी नेतृत्व गर्ने जिम्मा तपाईहरुकै काँधमा छ । जेसिजले त्यस किसिमको युवा नेतृत्वको विकास गरिरहेको छ ।”

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here