चिनी मिल मालिकलाई तत्काल पक्राउ गरेर कारबाही गर्न निर्देशन

काठमाडौ-   संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित संरक्षण समितिले २०७२ सालदेखि किसानलाई भुक्तानी नदिने चिनी मिल मालिकलाई  तत्काल पक्राउ गरेर कारबाही गर्न निर्देशन  दिएको छ। 

सिंहदरबारमा सोमबार बसेको समितिको बैठकले यस्तो निर्देशन दिएको हो। कृषिमन्त्री घनश्याम भुसाल र श्रममन्त्री रामेश्वर राय यादवसँग छलफल गर्दै संसदीय समितिले यस्तो निर्देशन दिएको हो । 

‘साथीहरु सडक पेटीमा छन् भुक्तानी नलिई जाँदैनौं’

संसदीय समितिमा उखु किसानहरु पनि उपस्थित थिए। समितिमा बोल्दै सर्लाहीका किसान राजेश यादवले भुक्तानी नपाएसम्म आफूहरु नफर्कने बताए। ‘हामी भुक्तानी लिन धेरै ठाउँ धाइसकेका छौ, अब यहाँवाट पैसा नपाएसम्म जाँदैनौं,’ उनले भने, ‘हाम्रा कति साथीहरु सडकको पेटीमा सुतेका छन्, बस्ने ठाउँ छैन तर पनि पैसा नपाएसम्म हामी जाँदैनौ।’  २०७२ सालदेखि बिक्री गरेको उखुको मुल्य नपाउँदा आफूहरुले आत्महत्यामात्र गर्न बाँकी रहेको उनले बताए। एउटै चिनी मिलको ५० करोड भुक्तानी बाँकी रहेको भन्दै उनले यस्ता व्यापारीलाई किन कारबाही हुँदैन भनी प्रश्न उठाए। 
अपूर्ण चिनी मिलले ५० करोड रुपैयाँ किसानलाई नदिएको उनले संसदीय समितिमा सुनाए। 

‘हामीहरु भुक्तानीका लागि  स्थानीय निकाय र जिल्ला विकास समिति सबैमा पुगिसक्यौं,’ उनले भने, ‘किसानको पैसा भुक्तानी दिनु भनेर निर्देशन हुन्छ, मालिक दिँदैनन्।’ 

सरकारको अनुदान अर्कैको हातमा 

उखु किसानलाई राहत दिन भन्दै सरकारले दिएको कृषि अनुदान पनि अर्कै व्यक्तिको हातमा जाने गरेको पीडा पनि उखु किसानले संसदीय समितिमा सुनाए। ६५ रुपैयाँ अनुदान सरकारले उखुमा दिँदै आएकोमा किसानले एक रुपैयाँ पनि नपाएको उनीहरुले बताए। 
बैठकमा श्रममन्त्री यादवलाई देखाँउदै उखु किसानहरूले आफूहरुले नभई जग्गाको पुर्जा मालिकले नै अनुदान खाएको आरोप लगाए। ‘यहाँ श्रममन्त्री हुनुहुन्छ वहाँको जग्गामा पनि हामीजस्तै किसानले उखु लगाएका छन्, वहाँको नाममा अनुदान आउँछ,’ उनीहरुले संसदीय समितिमा भने, ‘वहाँले उक्त अनुदान लिन हामीलाई लालपुर्जा दिनुहुन्न। आफैं गएर लिनुहुन्छm अनि कसरी हामीले पाउँछौ ।’ 

भुक्तानी दिलाउने मन्त्रीको प्रतिबद्धता

किसानहरुले आफ्नो पीडा राखेपछि बोल्दै कृषिमन्त्री घनश्याम भुसालले भुक्तानी दिलाउने कुरामा आफू लागिरहेको बताए। उद्योग मन्त्रीसँगको समन्वयमा उनीहरुको भुक्तानी गराउने कार्यमा पहल भइरहेको मन्त्री भुसालले बताए। 

किसानहरुलाई भुक्तानी दिने कुरामा आफू् पनि चिन्तित रहेको भन्दै उनले पक्राउ गर्न यसअघि नै गृह मन्त्रालयमा पत्र पठाएको र फेरि पनि प्रक्रिया अघि बढ्ने बताए। उद्योगमन्त्री लेखराज भट्टसँग कुराकानीका आधारमा तुरुन्त भुक्तानी गराउने प्रयास सरकारले गर्ने मन्त्री भुसालले बताए । 

यसअघि मातृका यादव उद्योगमन्त्री हुँदा भुक्तानी नदिएको आरोपमा चिनी व्यापारीलाई पक्राउ गर्न गृहमन्त्रालयमा पत्र पठाएका थिए। गृहले पक्राउ गर्न थालेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नै पहल गरेर भुक्तानी दिने सहमति चिनी व्यापारीसँग गरेका थिए। प्रधानमन्त्रीसँग सहमती गरेका व्यापारीहरु भने त्यसपछि गायब भएका थिए। किसानले भुक्तानी नपाएपछि प्रधानमन्त्री स्वयंले आफूलाई चिनी व्यापारीले ढाँटेको प्रतिक्रिया दिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here