मोहना अन्सारी : सदस्य, राष्ट्रिय मानवअधिकार आयोग
दिल्लीको निजामुद्दिन तब्लिगी जमातको विषयले भारतमा लामो समयदेखि हंगामा छ, त्यहाँ कोरोनाको कम र तब्लिगी जमातको विषयमा बढी बहस भएको छ । त्यो बहस नेपाल पनि आइपुगेको छ र त्यसको केन्द्रमा तपाईं हुनुहुन्छ, तपाईंको प्रतिक्रिया के छ ?
मंगलबार १२ बजेतिर ट्विटरमा ममाथि लगाइएको आरोपका बारेमा जानकारी पाएँ । म दिल्लीस्थित तब्लिगी जमातको कार्यक्रममा सहभागी भएको भन्दै कोरोना परीक्षण गर्नुपर्ने कुरा उठाइएको रहेछ । यो कुरा सुनेर एकछिन त दिमाग नै खालीजस्तो भयो । यो सबैभन्दा आपत्तिजनक विषय हो ।
गएको भए पनि एउटा कुरा हुन्थ्यो, तर दुःखको कुरा के भने झुटो हल्ला मात्रै फिँजाइयो । धार्मिक आस्था सबैको हुन्छ । र, कसैको धार्मिक आस्थामा टेकेर झुटो प्रसारित गर्दै चरित्र हत्या गर्न पाइँदैन । खासमा कुनै पनि धर्मलाई लिएर मेरो पक्षपाती सोच छैन । मेरा लागि सबै धर्म बराबरी हुन् । धार्मिक ज्ञानको कुरा गर्ने हो भने इस्लामिक ज्ञानभन्दा बरु मलाई अरू नै धर्मको बढी ज्ञान छ ।
म यो पदमा बसुन्जेल र पदबाट बाहिरिए पनि मलाई खुला रूपमा प्रश्न गर्न पाइन्छ, तर मेरो व्यक्तिगत र पारिवारिक विषयलाई सार्वजनिक बनाइनु हुँदैन । मेरो पेसासँग मेरो बच्चाको के दोष ? श्रीमान्को के दोष ? मेरो बुबा–आमाको के दोष ?
ट्विटरमा लकडाउनको समयमा ट्राभल गरेको विषय उठाइएको छ । तर, लकडाउनभन्दा अघि नै म भारत भ्रमणबाट नेपाल आइसकेकी थिएँ । अहिले जस्तो वातावरण बनाउन खोजिँदै छ, त्यसले शासक र शासित मानसिकता झल्काउँछ । मेरो कुरा के हो भने एउटा व्यक्ति जहाँ भए पनि जवाफदेही हुनैपर्छ । साधारण नागरिकदेखि शासकसम्म जवाफदेही हुनैपर्छ, तर यहाँ त कस्तो भयो भने शासितले परीक्षा दिएकोदिएै गर्नुपर्ने र शासकले कहिल्यै परीक्षा दिनैनपर्ने । त्यसमा त झन् हामी चौथो–पाँचौँ दर्जाको शासित न प-यौँ । चौथो–पाँचौँ दर्जाको नागरिक ।
अहिले नितान्त व्यक्तिगत र पारिवारिक विषयलाई सार्वजनिक बनाउन खोजिएको छ । हो, म सार्वजनिक पदमा भएको व्यक्ति हुँ, तर मेरो पारिवारिक विषय सार्वजनिक मुद्दा कसरी भयो ? म बिदामा थिएँ । के मैले बिदा लिन नपाउने ? आयोगको रेकर्ड हेर्ने हो भने म निकै कम समय बिदामा बस्ने गरेको देखिन्छ ।
महिला आयोगमा पनि म हत्तपत्त बिदामा बसिनँ । तर, अहिले जसरी कुरा उठाइएको छ, यी सबै देख्दा, सुन्दा मलाई अनौठो लागेको छ । अर्काे कुरा, मेरो भारत भ्रमणलाई तब्लिगी जमातसँग जोड्नुको कारण के हो ? मुस्लिम भएको नाताले जोडिएको हो ? बितेका ४२–४३ दिनदेखि मैले नियमित यस्ता आरोपको सामना गर्नुपरेको छ ।
तपाईं त राष्ट्रिय मानवअधिकार आयोगजस्तो संवैधानिक आयोगको सदस्य हो । कुनै दल, पक्ष, समुदायको प्रतिनिधि त होइन । तपाईंलाई नै लक्षित गरेर सञ्जालमा आक्रमण हुनुपर्ने कारण के छ ?
यो आरोप मंगलबार ट्विटरमा देखियो, तर मैले पहिलादेखि नै खेप्दै आएकी हुँ । मानवअधिकारको ठूला–ठूला कुरा गर्ने मोहना अन्सारी तब्लिगीका बारेमा चाहिँ किन बोल्नुहुन्न भनेर निरन्तर प्रश्न आइरहेको थियो । ठूलो रूपमा देखिएको मंगलबार मात्रै हो । तर, मैले तत्कालै प्रतिक्रिया जनाइनँ । हरेक दिन ४–५ वटा ट्विट त्यस्ता आउँथे । केही चाहिँ साह्रै नमज्जा लाग्ने ट्विट पनि आउँथे, जुन स्कृनसट गरेर राखेकी छु । तर, के अनौठो लागेको छ भने मलाई नै निशाना किन बनाइँदै छ ? मानवअधिकार आयोगमा भएकै नाताले ममाथि प्रश्न गर्ने, सोध्ने भने गरिँदैन । प्रायः प्रायोजित कुरा नै ल्याएर सोधिन्छ, जुन मेरो सरोकारको विषय नै हुँदैन ।
अहिले सामाजिक सञ्जालमा ममाथि जे–जस्तो आरोप लगाइएको छ, त्यसको आशय गलत सूचनामा आधारित छ । मेरो आस्था, मेरो भ्रमणका बारेमा जसरी कुरा उठाइएको छ, त्यो नितान्त गलत सोचबाट प्रेरित छ । म यो पदमा बसुन्जेल र पदबाट बाहिरिए पनि मलाई खुला रूपमा प्रश्न गर्न पाइन्छ, तर मेरो व्यक्तिगत र पारिवारिक विषयलाई सार्वजनिक बनाइनुहुँदैन । मेरो पेसासँग मेरो बच्चाको के दोष ? श्रीमान्को के दोष ? मेरो बुबा–आमाको के दोष ? मेरो भाइ, जो पाँच वर्षअघि भूकम्पमा परेर ज्यान गुमायो, उसको के दोष ?
कोरोना भाइरसको संक्रमण तपाईंमा पनि हुन सक्छ, त्यसैले तपाईंले स्वास्थ्य परीक्षण गराए ‘सबै ढुक्क हुने थियौँ’ भन्नुलाई नकारात्मक रूपमा कसरी लिन मिल्छ ? किनभने परीक्षण नगराई कसमा यो भाइरस छ र कसमा यो भाइरस छैन भन्ने कसरी भन्न सकिएला । परीक्षण गर्नेबारे केही सोच्नुभयो ?
मलाई आरोप लागिसकेपछि मैले ५–६ जना डाक्टरसँग छलफल गरेँ । उहाँहरूका अनुसार कोरोना भाइरस परीक्षणको एउटा निश्चित समयसीमा हुन्छ । उहाँहरूका अनुसार मैले छैटौँ हप्ता पनि पार गरिसकेकी हुनाले जाँच गर्नुपर्दैन ।
म आफ्नो टेस्ट एकपटक होइन, कैयौँपटक गराउन तयार छु, त्यसमा म हच्केकी वा डराएकी छैन । तर, मेरो आपत्ति कहाँ हो भने मलाई जमाती भनेर टेस्ट गर्न भनिँदै छ । अब मलाई डर केमा लागेको छ भने म अहिले नियमित काममा फर्किसकेकी छु, यसबीच मैले कैयौँ व्यक्तिसँग भेट गरेकी छु, त्यसमध्येको कसैबाट मलाई सर्ला कि ?
भारतमा कोरोना भाइरसविरुद्धको लडाईलाई साम्प्रदायिक रंग दिइएको र त्यसमा राज्यकै तहबाट मलजल गरिएको देखिन्छ, सिमापारीको साम्प्रदायिक सोचले सिमावारी हाम्रो देशमा पनि जरा गाड्दै गएको हो कि ?तपाईंमाथि लागेको आरोपको स्वरूप बढ्दै जाने हो भने यहाँ हामीले कत्तिको घातक परिणाम भोग्नु पर्ने होला ?
अहिले दक्षिण एसियामा धार्मिकतालाई लिएर खास समुदायमाथि आक्रमणको लहर चलिरहेको छ । यो निकै घातक छ, विशेषगरी नेपालका लागि । सामाजिक सञ्जालमा केहीलाई छोड्ने हो भने नेपाल भावनामै धर्मनिरपेक्ष छ । यहाँ एक–अर्काप्रतिको सम्मान, आदरभाव, प्रेम र सद्भाव निकै खदिँलो गरी भरिएको छ, जुन दक्षिण एसियाका अन्य मुलुकमा पाइँदैन । पहिले श्रीलंकामा निकै राम्रो अवस्था थियो, तर अहिले त्यस्तो छैन ।
मानवअधिकार आयोगले सरकारलाई गर्नुपर्ने सिफारिस पनि अहिले नै हो, न कि भोलि । तर, यी विषयमा प्रश्न उठाउँदा भित्र–बाहिर कसैलाई पनि चित्त बुझिरहेको छैन । सबैको चित्त बुझाउने कि आफ्नो दायित्व पूरा गर्ने ?
धार्मिक अन्धताले हामीलाई पनि छुन थालेको छ र त्यसबारेमा वेलैमा सोच्नुपर्नेछ । यसबारे हामीले आजै सोचेनौँ, आजै सचेत भएनौँ भने यसले हाम्रो आउने पुस्तालाई गाह्रो पार्नेछ । अहिले विश्वभर जसरी धार्मिक राजनीतिको लहर चलेको छ, यसले हाम्रो पुस्तालाई मात्रै होइन, हाम्रो लोकतान्त्रिक संस्थाहरूलाई पनि प्रभावित तुल्याउनेछ । यसले विभिन्न धार्मिक चाडपर्वमा पनि असर गर्नेछ । यो साँच्चै घातक हुनेछ ।
राष्ट्रिय मानवअधिकार आयोग त जो दमनमा परेको छ, त्यसको आवाजलाई संरक्षण गर्ने संवैधानिक निकाय हो, त्यसको सदस्य नै यो मनस्थितिबाट गुज्रनुपर्ने अवस्था आएको छ भने आयोगले अरूको अधिकारको संरक्षण कसरी गर्छ ?
स्वाभाविक हो, आयोगमा मलाई नरुचाउने पनि छन् । कागजी रूपमा दलित, धार्मिक अल्पसंखक, महिला, गरिबको पक्षमा बोल्ने हुनुहुन्छ, तर भित्रैदेखि उहाँहरूले यस कुरालाई स्वीकार गर्नुहुन्न । त्यसैको बाछिटा ममाथि वेलावेला आइरहेको हुन्छ ।
छाउपडीका बारेमा निरन्तर बोलेको भनेर भित्रका असन्तुष्ट साथीहरूले म अछाम गएको विषयलाई लिएर त्यहाँ भ्रष्टाचार भन्दै समाचार लेखाए । के म छाउपडीबाट मृत्यु भएको कुरालाई ठीक भनौँ ? आयोगमा केही संस्थागत, संरचनागत सुधार हुन्छ कि भन्ने मेरो आशा थियो । महिला आयोगमा छँदा मैले टड्कारो रूपमा उठाएको विषय आयोगहरूमा हुने नियुक्ति प्रक्रियालाई जनताबाट छान्ने बनाउनुपर्छ भन्ने थियो । यहाँ पनि मेरो त्यही भनाइ हो ।
यी सबै घटनाक्रमका विषयमा आयोगमा केही कुरा उठाउनु भएको छ वा छैन ?
मैले अध्यक्षलाई दिनका लागि एउटा निवेदन तयार पारेकी छु ।
भारतमा एउटा बलियो मत के छ भने कोरोनाले पारेको प्रभावबाट सबैको ध्यान अन्यत्र मोड्न जानाजान तब्लिगी जमातबाट संक्रमण फैलिएको ‘मिस इन्फरमेसन’ फैलाइयो । कतै यहाँ पनि सरकारका कमजोरीबाट ध्यान विषयान्तर गरिएको त होइन ? यसबारे केही सोच्नु भएको छ कि छैन ?
हो, डाइभर्ट गरिएकै छ । दूरदराजमा स्वास्थ्यकर्मीका लागि पिपिई छैन । टेस्ट गर्ने मेसिन सम्बन्धित क्षेत्रमा पु-याउन सकिएको छैन । स्वास्थ्यका बारेमा जनतालाई पर्याप्त जानकारी छैन । हामी अझै कति दिनसम्म लकडाउनमा बस्नुपर्ने हो, थाहा छैन ।
गरिब सयौँ किलोमिटर हिँडेरै घर जान बाध्य छन् । यी सबै विषयमा म बोल्न पाउने कि नपाउने ? विदेशमा रहेका नेपालीको मानवअधिकारका बारेमा बोल्न पाउने कि नपाउने ? वास्तवमा यस्ता प्रश्न सरकारको विरोध गर्नका लागि नभई सरकारलाई सुझाब दिनका लागि हो । यही हाम्रो दायित्व हो । मानवअधिकार आयोगले सरकारलाई गर्नुपर्ने सिफारिस पनि अहिले नै हो, न कि भोलि । तर, यी विषयमा प्रश्न उठाउँदा भित्र–बाहिर कसैलाई पनि चित्त बुझिरहेको छैन । सबैको चित्त बुझाउने कि आफ्नो दायित्व पूरा गर्ने ?
अप्ठ्यारो समयमा जहिले पनि सिमान्तकृत समुदाय नै बढी प्रभावित हुने गर्छन्, तपाईं महिला त्यसमा पनि मुस्लिम महिला भएकाले पो तपाईंमाथि टिप्पणी गर्न मानिसलाई ‘सहज’ भएको हो कि ?
हो, जहिल्यै पनि कमजोर मानिस नै मारमा पर्ने रहेछ । कोरोनाले पनि विपन्न मानिसलाई नै सबैभन्दा धेरै प्रभाव पारेको छ । कमजोर मान्छेलाई निशाना साँध्दा उसको पक्षमा बोलिदिने कोही नहुने रहेछन् । जब कमजोरका पक्षमा बोलिदिने आवाज निम्छरो हुँदै जान्छन्, सीमान्तकृत समुदायलाई बढी आक्रान्त बनाइन्छ । भारतमै पनि पछिल्लो समय कमजोर समुदायमाथि जसरी आक्रमण भइरहेका छन्, त्यसको प्रभाव हाम्रो मुलुकमा पर्न थालेको छ ।
यतिबेला सामाजिक सञ्जालले खेल्नुपर्ने भूमिका कस्तो हुनुपथ्र्याे भन्ने लाग्छ ?
सामाजिक सञ्जाल एउटा ‘सफ्ट पावर’ हो । यसले गर्न सक्ने काम धेरै हुन्छ । अहिले लकडाउनको समयमा मानिस सामाजिक सञ्जालमा निकै सक्रिय छन् । यस्तो वेलामा हामीले सामाजिक सञ्जालमा के पोस्ट गर्छौं, त्यसले एकैपटक धेरैलाई प्रभावित पारिरहेको हुन्छ । त्यसैले हामीले के पोस्ट गर्न लागेका छौँ भनेर एकपटक सोच्नैपर्नेछ । महामारीको वेलामा हामी सबै धर्म, जाति, लिंग, समुदायका मानिस एक हुनुपर्नेछ । यतिवेला कोरोना भाइरसलाई कुनै व्यक्ति वा समुदायसँग नजोडौँ ।