सैनामैना नगरपालिकाको पर्यटनका गन्तब्यहरु

“नेपाल भ्रमण बर्ष,२०२०मा सैनामैना नगरपालिकाको पर्यटनका गन्तब्यहरु”

टेेकराज पन्थी ।

नेपाल सरकारले २०७४ साल श्रावण २९ गते नेपाल भ्रमण बर्ष २०२० मनाउने घोषणा गरेको थियो । साथै आ.व.०७५÷०७६ को निति तथा कार्यक्रममा बीस लाख पर्यटक भित्राउने लक्ष्य राखेको थियो । विश्वमा पर्यटन विकास दर ६ प्रतिशत रहेको छ भने नेपालमा २० प्रतिशत भन्दा बढी नै छ । नेपालमा पर्यटन विकास दर बढ्नुमा प्राकृतिक नदीनाला, हिमाल,पहाडका अलवा सांस्कृतिक धरोहर र सम्पदा नेपालका लागि प्लस बिन्दू हो । पर्यटक भित्राएर मात्र हुदैन बसाई लम्बाएर आम्दानी बृद्धि गर्नु पनि हो । पर्यटन भनेको पर्वतारोहण मात्र हो भन्ने सोच्नु हुदैन ।
सैनामैना नगरपालिका लुम्बिनी अञ्चलको रुपन्देही जिल्लाको १६ वटा स्थानीय तहमध्ये एउटा तह हो । सैनामैनाको नामबाट चिन्नुपर्दा झाँसीको रानी लक्ष्मी वाई (मनुवाई) अंग्रेजहरुको दमन सहन नसकी झाँसी किल्ला छोडेर आत्म सुरक्षार्थ मुख्य सेनानायक (तात्याटोपे) को सुरक्षा दलवल (सेनामेना) सहित आएर यसै सैनामैनामा शरण लिएर बसेको हुदा यसको नाम सैनामैना भएको किम्वदन्ती छ । त्यस्तै प्राचिन शाक्यहरुको कपिलवस्तु राज्यको भौगोलिक क्षेत्रभित्र पर्ने विभिन्न उत्पादनशील गाउहरु मध्ये सामगाम नामलाई नै कालान्तरमा सैनामैना भएको भनिएको तथ्य पुरातत्वविद्हरुको रहेको छ ।
विश्वमान चित्रमा २७ डिग्री ३८ मिनट ३९ सेकेण्ड अक्षांश देखि ८३ डिग्री २३ मिनट ३६ सेकेण्ड पूर्वि देशान्तरमा अवस्थित पूर्वमा बुटवल उपमहानगरपालिका, पश्चिममा वाणगंगा नगरपालिका, उत्तरमा शितगंगा नगरपालिका र दक्षिणमा शुद्धोधन, कञ्चन, गैडहवा गाउपालिका सिमानामा फैलिएको करिव १६२.१८ वर्ग कि.मि. क्षेत्रफल रहेको छ । समुन्द्र सतह देखि करिव ३८१ फिट देखि ३१५० फिट सम्म अवस्थित यस नगरपालिकाको जनसंख्या २०६८ सालको जनगणना अनुसार ५५८२२ रहेकोमा बसाई सराई र जनसंख्या बृद्धिका कारण हाल करिव ७५००० पुगेको अनुमान छ । पूर्व पश्चिम लोकमार्ग करिव १९ कि मि रहेको छ भने नगरपालिकाका सवै वडामा मोटरबाटो पुगेको छ ।

सालझण्डी ढोरपाटन सडक, सैनामैना चक्रपथ, राष्ट्र्यि स्तरको मापदण्डमा निर्माणाधीन क्रिकेट खेल मैदान, बहुउद्धेश्य निर्माणाधीन रंगशाला, नमूनावस्ती, निर्माणाधिन आकर्षक हाटबजार, कम्तिमा २० फिट देखि ५० फिटसम्म चौडाई भएका सडक सन्जाल,सैनामैना थारु होमस्टेको उद्घाटन गर्ने तयारी, स्वास्थ्य र शिक्षा क्षेत्रमा अग्रणी भूमिकामा थुप्रै विकासका पूर्वाधारहरुको निर्माणका क्रममा रहेका छन् ।
ऐतिहासिक, कलाकृति र संस्कृतिले सम्पन्न महत्वपूर्ण पुरातात्विक सैनामैना क्षेत्र, किम्मदन्ती अनुसार स्वयं उत्पत्ति भएको शिव ज्योतिर्लिङ्ग पर्रोहा परमेश्वर बोलबमधाम, जंगलको काखमा रहेको मलमला मन्दिर र मल्मल चौराबाबा, महेराबाबा देवी, बोलबम पर्यटकीय पार्क, रानीकुवा, जर्लैया सिमसार क्षेत्र आदि धार्मिक पर्यटकीय रुपमा उत्कृष्ट गन्तब्य रहेका छन् ।
सैनामैना देखि करिव १६ कि.मि. नजिक विश्व सम्पदा सूचिमा रहेको प्रसिद्ध पवित्रस्थल गौतम बुद्धको जन्मस्थान लुम्बिनी, सिमाना नजिक रहेका पाल्पाका रैनादेवी, अर्घाखाचीको पाणिनी तपोभूमि, बुटवल क्षेत्रमा पर्ने नुवाकोट, सिद्धबाबा धार्मिक एवं पर्यटकीय क्षेत्र, सैनामैना लामीरह बहुउद्धेश्य बाँध लगायतका पर्यटकीय गन्तब्यस्थल रहेका छन ।
ग्लोबल होटल एण्ड लज र पार्टीप्यालेस, त्रिमूर्ति होटल एण्ड लज, बावरी, फेमीली, ड्र्मिल्याण्ड,लगायतका दुई दर्जन सुविधा सम्पन्न होटल सैनामैनामा रहेको र तीव्र रुपमा अन्य होटलहरुले पनि आफ्नो गुणस्तर बृद्धि गर्दै लैजाने क्रममा रहेका छन् । उद्योगी ब्यापारीहरुको समन्वय गर्न युवा सहित संलग्न रहेका सैनामैना ब्यापार संघ र सैनामैना उद्योग वाणिज्य संघ संस्थागत रुपमा सकृय रहेका छन् ।
यिनै संस्थाको सकृयता र नगरपालिकाको समेत सहयोगमा यहि २०७६ साल पौष २४ देखि माघ ६ सम्म चौथो राष्ट्र्यि सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव,२०७६ गर्ने तयारीमा रहेकोले भ्रमणबर्ष,२०२० लाई टेवापुग्ने गरी सैनामैना बहुउद्धेश्य रंगशालामा तीव्ररुपमा कार्य भै रहेको छ । घरेलु, कृषि र स्थानीय उत्पादनको पहिचान मार्फत पर्यटकलाई आकर्षण गर्ने लक्ष्य रहेको छ ।
विद्यालयहरुमा अध्यापन गराई रहेका शिक्षकहरुलाई नगरपालिकाबाट सुचना प्रविधि क्ष्ऋत् तालिम दिई सकेकोले अध्यापनलाई प्रविधियुक्त बनाउने र विद्यार्थी अनुपातमा शिक्षकको ब्यवस्थापन भएकोले सामुदायिक र संस्थागत विद्यालयहरुको गुणस्तर बढाउन थुप्रै कार्यक्रम गर्दै आएकोले यस क्षेत्रमा शैक्षिक पर्यटनका लागि गन्तब्य क्षेत्र उल्लेखनीय रुपमा लिन सकिन्छ ।


नगरलाई सुव्यवस्थित र सुशासन मैत्री बनाउन नगरप्रमुखको नेतृत्वमा बैठक, छलफल, सार्वजनिक सुनुवाई, भटेघाट, अनुगमन आदि मार्फत कर्मचारीहरु समेत प्रतिवद्ध रहेका छन् । अनुगमनलाई प्रभावकारी गराउन संचारकर्मी सहित नगरप्रमुखको नेतृत्वमा कार्पालय प्रमुख र जनप्रतिनिघिको एक्यवद्ध भएर लागेको अवस्था छ । सबै नगरवासी, राजनीतिक दल, समाजसेवी, उद्योगी, व्यापारी, संचारकर्मी बुद्धिजीवी सबैले नगरलाई नमूना नगर बनाउन एकजुट भएको अवस्था छ । जसले गर्दा सुखी सैनामैनावासी समृद्ध सैनामैना नगर हुने अपेक्षा गरिएको छ ।
यसरी नेपालका ७५३ स्थानीय तहमध्ये यस नगरपालिकामा विभिन्न नगरपालिका वा गाँउपालिकाबाट सुशासनमैत्री नगरपालिकाको भ्रमण गर्ने गन्तव्य सैनामैना नगरपालिकालाई बनाउने जसले गर्दा यहाँको सुशासनमैत्री कार्यलाई अनुभव आदानप्रदानको गन्तव्य क्षेत्र हुन सक्छ ।
यहाँ रहेका सैनामैना, मलमला, रेडियो टाइम्स, किस रेडियो, साझापत्र अन्लाईन लगाएतका स्थानीय संचार माध्यमबाट सैनामैना नगरपालिका भित्रका धार्मिक, साँस्कृतिक, पर्यटकीय लगायत गतिविधिहरुलाई प्रभावकारी प्रसारण गरेको अवस्था छ । यसै गरी कान्तिपुर, नागरिक दैनिक, अन्नपूर्ण, राजधानी दैनिक, नया पत्रिका, मेचीकाली, लुम्बिनी दैनिक, बुटवल टुडे, दैनिक पत्र, जनसंघर्ष, हाईवे लगायतका विभिन्न रेडियो र अनलाईन समाचार तथा पत्रिका गरी थुप्रै स्थानीय, प्रदेश, क्षेत्रीय र केन्द्रिय संचार माध्यमहरुबाट समेत सैनामैनाका गतिविधिहरुलाई विभिन्न भूमिकाबाट प्रशारण गरी पहिचान दिने कार्य भएकोछ । जसले गर्दा सूचना र सञ्चारमैत्री क्षेत्रका रुपमा प्रमुख गन्तव्य हुन सक्छ ।
भ्रमण वर्ष २०२० लाई प्रभावकारी बनाउन संस्थागत रुपमा नगरपालिकामा प्रेस संयोजक तोकी सबै संचार माध्यम सँग समन्वय गरी प्रचारप्रसार र यहाँका ऐतिहासिक, धार्मिक पर्यटकीय गन्तब्यको जानकारी गराउने कार्य भइ रहेकोछ । जसले गर्दा प्रसारण गतिविधि, संयोजन र समन्वयको तरिकालाई विभिन्न क्षेत्रबाट यस क्षेत्रको अवलोकन भ्रमण गर्ने प्रमुख गन्तव्य हुन सक्छ । शिक्षा पर्यटनको सम्भावना लाई जोड्न सकिन्छ ।

स्वास्थ्य क्षेत्रमा प्रभावकारी सेवा पुर्याउन नगरपालिकामा केन्द्र तोकि औषधि अभाव हुन नदिन र स्वास्थ्य सेवा प्रवाहका लागि सबै वडा कार्यालयमा जनशक्ति सहितको सेवा प्रदान गर्ने कार्यक्रम भएकोले स्वास्थ्य तर्फको गतिविधि अध्ययन अवलोकन गर्ने एउटा गन्तव्य हुन सक्ने अनुमान गरिएकोछ ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण बर्ष,२०२० ( visit Nepal 2020) लाई भव्यरुपमा सफल बनाउन सैनामैना नगरपालिकाले पनि विभिन्न कार्यक्रममा सहकार्य गर्दै आएकोछ । सैनामैनाको परिचयबाटै यहाँ भगवान बुद्धको जन्मथलो लुम्बिनीको नजिक रहेको, विभिन्न मठः मन्दिर आदि धार्मिक अनुष्ठानहरु सम्पन्न भइसकेका हुदाँ धार्मिक पर्यटनका लागि महत्वपूर्ण छ ।
यस्तै यस क्षेत्रमा थारु, मगर, बाहुन, क्षेत्री, नेवार आदि जातिको बसोबास रहेको छ । विभिन्न जातजातिका भिन्न भिन्न कला, लोकसंस्कृति, परम्परा, संस्कार, व्यवहार रहेको पाईन्छ । यिनै विभिन्न जातजातिका आ–आफ्ना मौलिक संस्कार र संस्कृति रहेको हुदाँ साँस्कृतिक पर्यटनको मुख्य गन्तव्य क्षेत्रको रुपमा लिन सकिन्छ ।
लुम्बिनी सामुदायिक वन लगाएत यस नगरपालिका क्षेत्रमा करिब १७ वटा वन उपभोक्ता समितिहरुबाट वनको संरक्षण गरी साल्झण्डी, पर्रोहा वन क्षेत्र आदि रमणीय स्थानमा प्रकृति तथा पहाडी पर्यटनको प्रवल सम्भावना रहेकोले प्राकृतिक पर्यटनको लागि महत्वपूर्ण गन्तव्य हुन सक्छ ।
त्यस्तै फेदीबाट मलमल बाबा धाम, पहाडतिर उक्लने, मौरीपालन, मौरी काड्ने, व्यालुन उडाउने, घोडा चढेर माथि तिर पहाड चढ्ने आदि व्यवसाय सञ्चालनमा सम्भावना रहेको यस सैनामैनामा साहसिक पर्यटनको मुख्य गन्तव्य हुने सम्भावना छ ।
सैनामैनामा विभिन्न व्यापार व्यवसाय गर्न, अर्गानिक खाद्यान्न प्राप्त हुने, अर्गानिक र आधुनिक तरकारी उत्पादन, अर्गानिक खसीबोका र कुखुरा पाइने, खेतीयोग्य जमिन पनि प्रसस्त रहेको, उन्नत भैसी पालन, अर्गानिक र आधुनिक बाख्रा पालन समेत रहेकोले व्यापार पर्यटनको प्रबल गन्तब्य हुन सक्छ ।
यस सैनामैना नगरपालिका अन्तर्गत विभिन्न गाउँमा विभिन्न जात जातिहरुको बसोबास भएको २०७१ सालमा सुरुवात भएको नगरपालिका २०७३ साल बैशाखमा साल्झण्डी गा.वि.स. समेत समावेश गरी नगरपालिकाको वृहत्त रुप प्राप्त भएकोले अधिकांश भाग ग्रामिण क्षेत्र नै रहेको छ । प्राकृतिक उत्पादन, विभिन्न जातजातिको रहनसहन र खानपिन, बोलीव्यवहार, बसाई र गाउले बस्ती आदिको अवलोकन गर्न ग्रामिण पर्यटनको मुख्य गन्तव्य हुन सक्ने सम्भावना बोकेको छ ।
क्रिकेट रंगशाला निर्माणको अन्तिम चरणमा रहेको, भलिबल, फुटवल खेलको लागि बहुउद्धेश्य रगंशालाको पनि निर्माणको अन्तिम चरणमा रहेको, खेल र खेलाडीहरु उत्साहजनक रुपमा खेलका क्रियाकलापहरु भै रहेका एवं संभावित खेलमैदान पनि भएकोले खेल पर्यटनको गन्तव्यलाई प्रचुर सम्भावनाको रुपमा लिन सकिन्छ ।
प्राकृतिक चिकित्सालयको सुरुवात, सर्पदंश केन्द्रको सञ्चालन, बर्थिङ्ग सेन्टर तथा ल्याव ल्किनिक, सबै स्वास्थ्य संस्थाबाट स्वास्थ्य सेवा प्रदान, लोकमार्गको क्षेत्र पनि करिव १९ कि.मि. रहेकोले स्वास्थ्य पर्यटनको सम्भावना पनि उत्तिकै रहेको छ ।
सैनामैना पहाड र तराईको अनुपन संगम स्थल, सहर, गाँउको सम्मिश्रण, तलतिर समथर भू–भाग र माथि तिर हलुका पहाड, जंगल क्षेत्र, चुरेक्षेत्र रहेकोले घोडाचढी, पहाडी यात्रा, साइकल यात्रा, भरिया आदिको रसस्वादन गर्न पहाडी पर्यटनको उल्लेखनीय गन्तव्य क्षेत्रको सम्भावना रहेको छ ।
प्रसस्त खेतीयोग्य जमिन रहेको, उन्नतजातका खेती कार्य भैरहेको र त्यसको साथसाथै अर्गानिक खेती गर्ने कृषक पनि रहेका, दुग्ध उत्पादन र संकलन केन्द्र रहेका, केरा खेती, मौरीपालन, माछापालन, कुखुरा पालन, बाख्रापालन, भैसीपालन र गाईपालनः लसुन, च्याऊ, प्याज, खेती गरेको यस क्षेत्रमा विभिन्न क्षेत्रबाट अवलोकनका लागि कृषि पर्यटनको महत्वपूर्ण गन्तव्य हुन सक्ने सम्भावना छ ।
नेपाल सरकारबाट पर्यटन प्रवद्र्धन र विकासका लागि पहिचान गरिएका नेपालभरका गन्तव्यहरुमध्ये नयाँ तथा विकास गरिनुपर्ने गन्तव्यमा सैनामैना पर्यटकीय क्षेत्र परेको छ । पर्यटन क्षेत्रको विविधिकरण र विस्तार गरी रोजगारी श्रृजना गर्ने, जनताको जिवनस्तरमा सुधार ल्याउने, होटल, मोटल, रेष्टुराँ, खाजाघरको व्यवस्थित विकास गरी आर्थिक सामाजिक रुपान्तरण गर्न सकिन्छ ।
यसरी सैनामैना नगरपालिका क्षेत्रमा धार्मिक पर्यटन, ग्रामिण पर्यटन, साँस्कृतिक पर्यटन, प्राकृतिक पर्यटन, ऐतिहासिक तथा पुरातात्विक पर्यटन, व्यापार पर्यटन, कृषि पर्यटन, शैक्षिक पर्यटन, खेल पर्यटन, साहसिक पर्यटन लगायतका विभिन्न क्षेत्रका पर्यटनको प्रचूर सम्भावना रहेकोले प्रचारप्रसारलाई प्रभावकारी गराई प्रसस्त मात्रामा पर्यटकहरुलाई आर्कषण गर्ने उद्धेश्य रहेको छ । नेपाल सरकारले लिएको भ्रमण वर्ष,२०२०( visit Nepal 2020) लाई पूर्ण सफल बनाउने अभियानमा यहाँका नगरप्रमुख लगायत सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारीहरु, विभिन्न राजनैतिक दलहरु, उद्योगी व्यापारी, नागरिक समाज, विभिन्न जातजाति धर्म सँस्कृतिका व्यक्तिहरु, समाजसेवी, शिक्षक, विद्यार्थी, संचारकर्मीहरु सबै एक ढिक्काको रुपमा अग्रसर रहेका छन् । अन्य पक्षका सुधार र सुझावका लागि सबैको रचनात्मक सहयोगको अपेक्षाकृत नै छौ ।
अन्त्यमा visit Nepal 2020 लाई भव्य रुपमा सफल बनाउन पर्यटनका लागि यस रुपन्देही जिल्लाको सैनामैना नगरपालिकाबाट आफ्ना गतिविधि सञ्चालन गर्दै आएकोछ । सुरक्षित पर्यटनका लागि यस नगरपालिकामा प्रसस्त सम्भावना रहेकोले सैनामैना नगरपालिकाको भ्रमणका लागि स्वदेशी तथा विदेशी पाहुनाहरुलाई हार्दिक आमन्त्रण गर्दछौ ।
(लेखक ः सैनामैना नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत एवं नेपाल सरकारका उपसचिव हुुुन । )

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here