पोखरा । पूर्वगृहमन्त्री एवं नेकपाका प्रभावशाली नेता जनार्दन शर्माले तीन तहका सरकार दलालको घेरामा रहेको बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकार दलालहरुको घेरामा परेको भन्दै घेरा तोड्ने बेला आएको बताए ।
‘स्थानीय, प्रदेश र केन्द्र सरकार दलालहरुको घेरामा छन्, दलालहरुको घेरा तोड्न सकिएन भने समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुन सक्छैन’, नेता शर्माले भने ‘तीन तहमा रहेका दलालहरुका घेरा तोड्ने बेला यही हो ।’
दलालहरुले तीन तहका सरकार घेरेर राखेका कारण कम्यूनिष्ट सरकारले भनेजस्तो काम गर्न नसकेको बताए । कम्यूनिष्ट पार्टीको ७० औं स्थापना दिवसका अवसरमा आयोजित वर्तमान आर्थिक, सामाजिक संरचना र समृद्धिको यात्रा बिषयक कार्यक्रममा नेता शर्माले दलालको घेरा बलियो भएपनि कम्यूनिष्ट सरकारका अगाडी कमजोर नै भएको बताए ।
तीन तहका सरकार सञ्चालकले समृद्धिको माइड सेट नगराएसम्म दलालको घेरा तोड्न नसकिने बताए । उनले चिसापानीदेखि मेलम्ची र तामाकोशीको उदाहरण पनि दिए ।
‘मेचलम्ची आउँछ भन्न लागेको दशकौ बित्यो, तरपनि आएको छैन, तामाकोशी आयोजनाको लागत दोब्वर भयो, तरपनि समयमा काम हुन सकेको छैन’, नेता शर्माले भने ‘त्यही काम निजी क्षेत्रले गर्दा हुँने तर सरकारले गर्दा किन नहुँने ? त्यसलाई कम्यूनिष्ट पार्टीको शक्तिशाली सरकारले चिर्नु आवश्यक छ ।’
नेता शर्माले वर्तमान कर्मचारीप्रति पनि असन्तुष्टी जनाए । काम चोर प्रवृतिका कारण समस्या पैदा भएको भन्दै नयाँ कर्मचारी भर्ना गर्न आवश्यक रहेको बताए । ‘म ठोकेर भन्छु वर्तमान ब्यूरोक्रयाटबाट अब चल्दैन, लोक सेवाबाट नयाँ कर्मचारी भर्ना गर्नु पर्दछ’, नेता शर्माले भने ।
युवा जनशक्तिलाई परिचालन नगरेसम्म देश समृद्धितिर नजाने नेता शर्माले ठोकुवा गरे । ‘मैले प्रधानमन्त्रीज्यूलाई भनेको छु, आम जनतालाई श्रममा जोडौ, लाखौ युवालाई परिचालन गरौ, काम गरेनन् भनेर ठेकेदारलाई लाली गरेर मात्र हुँदैन’, नेता शर्माले भने ‘लाखौ युवा परिचालन भए खाल्डा पनि परिन्छन्,सडक पनि बन्छन् । त्यसपछि ठेकेदारको के काम ?’