जनकपुर उपमहानगरले भूमिगत पत्र पत्रिकालाई पनि गरे भुक्तानी


अजय अनुरागी
जनकपुरधाम
जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा सुचना तथा बिज्ञापन प्रकाशनमा नै ४० लाख ६० हजार ३ सय ७५ रुपैयाँ खर्च गरेको छ । चालु आर्थिक बर्षको साउन देखि असार १७ गते सम्म उपमहानगरले उक्त रकम खर्चेको हो ।
सबै भन्दा बढी रकम बिज्ञापन वापत जनकपुरका एक दैनिक पत्रिका जनकपुर टुडेलाई भुक्तानी दिएको छ । बिभिन्न पटक गरेर कुल १३ लाख ९४ हजार २९ रुपैयाँ टुडेलाई भुक्तानी दिइएको हो । २०७५ साल भदौ २८ गते ७९ हजार १ सय रुपैयाँ, अशोज १२ गते १ लाख ३५ हजार ६ सय रुपैयाँ, फागुन १७ गते २ लाख ५० हजार ८ सय ६० रुपैयाँ, फागुन १९ गते १२ हजार रुपैयाँ भुक्तानी गरिएको छ । त्यसै गरी २०७६ साल जेठ १ गते ४ लाख ५० हजार ८ सय ७० रुपैयाँ, असार ८ गते ४ लाख ५८ हजार ५ सय ९९ रुपैयाँ जनकपुर टुडेलाई भुक्तानी गरिएको छ ।
त्यसै गरी अर्को दैनि पत्रिका डेली एक्सप्रेसलाई २ लाख ६९ हजार ६ सय ३५ रुपैयाँ भुक्तानी गरिएको छ । २०७५ सालको भदौ २८ गते ३३ हजार ९ सय रुपैयाँ, अशोज १० गते ६ हजार रुपैयाँ, अशोज २९ गते १२ हजार रुपैयाँ, पुष २० गते १० हजार रुपैयाँ, फागुन १२ गते १२ हजार रुपैयाँ भुक्तानी गरिएको छ । त्यसै गरी २०७६ सालको चैत्र ९ गते १ लाख २३ हजार ७ सय ३५ रुपैयाँ र असार ८ गते ७२ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
दैनिक जनकपुर भन्ने पत्रिकालाई कुल १ लाख ३६ हजार ७ सय रुपैयाँ भुक्तानी गरिएको छ । पटक पटक गरेर सिमांचल दैनिक पत्रिकालाई ९२ हजार रुपैयाँ,रेजा टुडे दैनिक पत्रिकालाई २ लाख ४६ हजार ३ सय ६० रुपैयाँ उपमहानगरले भुक्तानी गरेको छ । तहलका नेपाल दैनिकलाई ३३ हजार ९ सय रुपैयाँ, जलेश्वर टुडे दैनिक पत्रिकालाई ६३ हजार रुपैयाँ,तराई टाइम्स दैनिक पत्रिकालाई २३ हजार ५ सय रुपैयाँ, जागरण दैनिकलाई ४० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
नया प्रकाशन प्रालिलाई ३ लाख ८१ हजार ३ सय ७५ रुपैयाँ, श्रीजना इन्टरनेश्नल मिडिया प्रालिलाई २ लाख २६ हजार रुपैयाँ, फुलमुन मिडिया प्रालिलाई १ लाख १० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
भूमिगत पत्र पत्रिकालाई पनि भुक्तानी
जनकपुरको बजारमा प्रकाशित भएर बाहिर नाउने भूमिगत पत्रिकालाई पनि उपमहानगरले भुक्तानी गरेको छ । भूमिगत पत्रिका सन्ध्याकालीन दैनिकलाई १ लाख ८५ हजार रुपैयाँ, चन्द्रकान्ता साप्ताहिकलाई ३७ हजार रुपैयाँ,खोजबिन साप्ताहिकलाई १७ हजार रुपैयाँ, नव बिचार साप्ताहिकलाई २० हजार रुपैयाँ भुक्तानी गरिएको छ । त्यसै गरी भूमिगत पत्रिका लोकमत साप्ताहिकलाई ३० हजार रुपैयाँ भुक्तानी गरिएको छ । यी पत्रिकाहरु प्रकाशित हुने गरे पनि बजारमा भने देखिंदैनन्, तर पनि त्यस्ता पत्रिकाहरुलाई उपमहानगरले भुक्तानी गरेका छन् ।
बिभिन्न एफएमलाई पनि भुक्तानी
रेडियो जनकपुरलाई २० हजार रुपैयाँ,रेडियो मधेशलाई ३५ हजार रुपैयाँ, जनकनन्दिनी एफएमलाई ३० हजार २ सय रुपैयाँ, जानकी एफएमलाई १४ हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
काठमाडौंका सञ्चार माध्यमलाई पनि भुक्तानी
जनकपुर उपमहानगरले काठमाडौंको पनि बिभिन्न सञ्चार माध्यमलाई बिज्ञापन तथा सुचना वापत रकम भुक्तानी गरेका छन् । नेपाल पर्यटन पोष्ट साप्ताहिकलाई ७ हजार रुपैयाँ,तरुण साप्ताहिक काठमाडौंलाई १५ हजार रुपैयाँ घटना र बिचार साप्ताहिकलाई १० हजार रुपैयाँ,क्रान्तिकारी आवाव मासिकलाई १० हजार रुपैयाँ,युवा डट कम काठमाडौंलाई १० हजार रुपैयाँ भुक्तानी गरिएको छ । त्यसै गरी ग्राण्ड मिडिया हाउस प्रालिलाई ६३ हजार ९ सय ६३ रुपैयाँ, जनता प्रशारण तथा प्रकाशनलाई ५० हजार रुपैयाँ भुक्तानी गरिएको छ ।
निकटकालाई खुशी राख्न बिज्ञापन
विकासको काम भन्दा पनि उपमहानगरका प्रमुख लाल किशोर साहले आफु निकटका मिडिया तथा पत्रकारहरु संग रहेको सम्बन्धका आधारमा बिज्ञापन दिने गरिएको आरोप लाग्ने गरेको छ । मेयर साहले आफु निकटका माइसहरु संग राम्रो सम्बन्ध बनाउन र आफु बिरुद्धको समाचार प्रकाशन नहोस भन्ने मानसिकताले केही मात्र नियमित दैनिकलाई बिज्ञापन दिने गरिएको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल कुमार मिश्र आरोप लगाउँछन् ।
बजारमा प्रकाशित नै नभएर आउने भूमिगत पत्र पत्रिकालाई समेत बिज्ञापन वा सार्बजनिक हितको सुचना प्रकाशित गर्न लगाउनुले पनि उक्त कुराको पुष्टी हुन्छ भन्दै अध्यक्ष मिश्रले भने,‘आफु निकटका प्रभावमा रहेका दैनिक पत्रिकालाई मात्र बिज्ञापन दिने गरिएको छ ।’ जनकपुरमा थुप्रै दैनिक पत्रिका नियमित रुपमा प्रकाशित हुन्छन तर ठुलो रकमको बिज्ञापन भने आफु निकटको सिमित पत्रिकालाई मात्र दिने गरिएको छ ।’
एता जनकपुर उपमहानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत बिरेन्द्र यादवले कुन कुन पत्र पत्रिकालाई कस्तो बिज्ञापन दिईयो वा भुक्तानी गरियो भन्ने बारे थाहा नभएको बताए । ‘बिभिन्न किसिमका टेन्डरहरु प्रकाशन गर्नु पर्ने हुन्छ, एउतै टेन्डरलाई ३ पटक सम्म प्रकाशित गर्नु पर्ने हुनाले बिज्ञापन वापतको रकम बढी खर्च भएको हुन सक्छ,’ बरिष्ठ इन्जियर समेत रहेका यादवले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here